एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक – Nepal Press

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

धनगढी । धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ ।

असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् ।

शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् । उनले नै पहिलो पटक फेन्सिङ सिकाएका खेलाडीहरूले पहिलो सहभागीतामा सुदूरपश्चिमलाई दुई कांस्य पदक समेत जिताएका थिए ।

आनन्दले पनि ९ औं राष्ट्रिय खेलकुदमा कराँते तर्फ ५० किलो तौल समूहमा स्वर्ण जितेका थिए । सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन । उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कांस्य पदक जितेका थिए । कामीले भारतमा भएको ईण्डो नेपाल च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए ।

जियारतले उमेर समूहमा नेपाली पुरुष टिममा सहभागिता जनाउँदै २० बर्ष मुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य हुन् । उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पुराउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत बर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए । उनले एफसी यु २० छनोटमा नेपाली टिमको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनीषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । मनिषाले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन ।

उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् । कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन् । यस्तै मेयर कप र नेपाली महिला क्रिकेट टिमबाट सहभागिता जनाउँदै खेल खेलेकी थिइन् ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । प्रायोजक प्रर्वद्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर