शरणार्थी प्रकरणको थुनछेक बहस सुरू, खाणको पक्षमा बहस गर्न वकिलहरूको लर्को (भिडिओ)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तमध्येका एक पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको पक्षमा बहस गर्न वकिलहरूको लाइन लागेको छ । उनको पक्षमा बहस गर्न पूर्वमहान्याधिवक्ता, बारका वर्तमानदेखि पूर्वअध्यक्षहरूले नाम टिपाइसकेका छन् । झण्डै २० जना वकिल इच्छुक देखिएको स्रोतले बतायो ।
शुक्रबार बयान सकिएपछि काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरू थुनछेक बहसमा खाणको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्न नाम टिपाएका हुन् ।
नाम धेरैको टिपाइएपनि अहिलेसम्म खाणको तर्फबाट वकालतनामा जितेन्द्रबहादुर पाण्डे, टोपबहादुर रायमाझीको तर्फबाट अधिवक्ता धर्मराज जोशीको परेको बताइएको छ । आज बहस नगर्ने भएपछि सबैको वकालतनामा नटिपाइएको अदालत स्रोतको भनाइ छ ।
सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् । आज पहिलो दिन अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्नेछन् । सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ ।
हिरासतमा रहेका १८ अभियुक्तमा पूर्वउप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण, हज समितिका अध्यक्ष शमशेर मियाँ, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन् ।
यस प्रकरणमा मुछिएका हाइप्रोफाइल व्यक्तिको पक्षमा नाम चलेका कानून व्यवसायीहरूले बहसका लागि तँछाडमछाड गरेका हुन् । यसअघि बयान लिइएको प्रेमप्रसाद न्यौपानेकै इजलासमा थुनछेक बहस सुरू भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।