न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ ।
बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे ।
उनले सरकारी वकिललाई सोधे, ‘नक्कली शरणार्थी भनेर अमेरिका जान खोज्नु चाहिँ कानून विपरीत हो कि होइन ? आफूहरू पीडित भएको भनेर जाहेरी दिनेहरूलाई किन प्रतिवादी बनाइएन ?’
सरकारी वकिलले दायर गरेको मुद्दामा नक्कली शरणार्थीका नाममा अमेरिका पठाउन खोज्ने गिरोहका सदस्य र उनीहरूलाई सघाउने राजनीतिक प्रशासनिक व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।
नक्कली डकुमेन्ट बनाएर अमेरिका जान खोज्नेहरूलाई मुद्दामा नतानिएको विषयमा न्यायाधीशले प्रश्न गरेका हुन् । ८ जना सरकारी वकिलहरूले मुद्दामा बहस गरिरहेका छन् ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनीहरूले इजलासमा पत्रकारहरूलाई राख्न नहुने माग गरिरहेका छन् ।