नागरिकता विधेयकबाट नेपाललाई सिक्किमीकरण बनाउन खोजिएको प्रेम सुवालको टिप्पणी (भिडिओ)
काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राख्दै नेपाल मजदुर किसान पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रघाती रहेकाले यसको खारेजीको माग गर्दै नेमकिपाले आइतबार काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाको आरोप छ ।
नेमकिपाका सांसद प्रेम सुवालले संसदलाई छलेर प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष विधेयक प्रमाणीकरण्का लागि सिफारिस गरिएको आरोप लगाउनुभयो । यसअघिका सभामुख अग्नि सापकोटाले पेश गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु भनेको कीर्ते र जालसाझी भएको उनले बताए ।
संसद र संविधानलाई छलेर विदेशीलाई खुसी पार्न अघि बढाइएको भन्दै नागरिकता विधेयकलाई खारेज गर्नुपर्ने सुवालको जिकिर थियो ।
नागरिकता विधेयकका कारण देश सिक्किमीकरण हुने खतरा रहेको सुवालले बताए । विरोध प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको कदम फिर्ता गर, देशघाती प्रमाणीकरण खारेज गर लगाएतका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।