संसदीय समितिको बैठकमै सांसद र महिला आयोग अध्यक्षबीच सवालजवाफ – Nepal Press

संसदीय समितिको बैठकमै सांसद र महिला आयोग अध्यक्षबीच सवालजवाफ

काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको शुक्रबारको बैठकमा समितिकी सदस्य कल्पना मियाँले महिला आयोगकी अध्यक्ष कमल पराजुलीलाई प्रश्न गर्दै भनिन्, ‘एउटा समाचार हेरेको थिएँ के मैले । समाचारमा एउटा संकल्प ज्येष्ठ नागरिक ग्राम भन्ने रैछ नि होइन ?.. छ …? त्यो संस्था थियो …?’

कसैले केही नबोलेपछि उनले महिला आयोगका अध्यक्ष कमला पराजुलीलाई प्रश्न सोधेको भन्दै फेरि भनिन्, ‘थियो होइन मेडम …?’

आयोगकी अध्यक्ष पराजुलीले टाउको हल्लाउँदै हो भन्नेमा सहमति जनाइन् ।

मियाँले थप प्रश्न गरिन्, ‘त्यो संस्थाको भवन निर्माणका लागि बजेट निकासा भए पनि भवन निर्माण अलपत्र परेको रहेछ नि हैन मेडम ?’

आयोगका अध्यक्षले फेरि पनि टाउको हल्लाउँदै सहमति जनाइन् । मियाँले थप भनिन्, ‘तपाईं त्यो संस्थाको अध्यक्ष हुनुहुन्थ्यो पहिला …?
(आयोगका अध्यक्ष पराजुलीले हो भनेर संकेत दिइन् ।) यसमा मलाई अरु त केही छैन । मात्रै स्पष्ट हुनुपर्‍यो भनेर है !’

लगत्तै समितिका सदस्य शान्ति विश्वकर्माले पनि कल्पना मियाँकै प्रश्नलाई साथ दिँदै त्यही प्रश्न उठाइन् । उनले भनिन्, ‘भर्खरैमात्र कल्पना माननीय ज्यूले प्रश्न गर्नुभयो । यो संकल्प संस्थाको भवनका विषयमा समाचार मैले पनि हेरेको छु । तपाईं अध्यक्ष हुँदै गर्दाखेरी लगभग ७ करोड बजेट महिला मन्त्रालयमार्फत विनियोजन भवन निर्माण कार्यमा गएको छ भन्ने सुन्नमा आयो । त्यहाँ अहिले त्यो भवन नबनेर अलपत्र अवस्थामा छ भन्ने छ । बजेट नपुगेर नबनेको हो कि ? त्यो बजेट अन्य ठाउँमा लिएर खर्च गरेको हो कि ? त्यो विषय स्पष्ट पारिदिनुपर्‍यो ।’

समितिका सदस्य कलिला खातुनले पनि त्यही प्रश्न आयोगका अध्यक्ष पराजुलीसमक्ष तेर्साउँदै भनिन्, ‘यो संकल्प नेपालको अध्यक्ष तपाईं हुनुहुन्थ्यो । तपाईंले महिला मन्त्रालयले ७ करोड विनियोजन गरेर निर्माण सुरु गरेको ज्येष्ठ नागरिक ग्राम अहिले पनि अलपत्र छ भन्ने मैले पनि विभिन्न सञ्चारमाध्यममा समाचार हेरेको थिएँ । यसमा स्पष्ट हुन खोजेको छु । तपाईंमाथि मुद्दा पनि लागेको भन्ने सुनेको छु, त्यो पनि के हो ?’

समितिका तीन जना सदस्यले निरन्तर एउटै प्रश्न त्यो पनि महिला आयोगका अध्यक्षलाई केन्द्रित भएर गरेपछि समितिका सभापति रोशन कार्कीले महिला आयोगका अध्यक्ष कमला पराजुलीलाई जवाफ दिन भनिन् । आयोगकी अध्यक्षले पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिइन् ।

उनले आफू संकल्प संस्थाको अध्यक्ष रहेको, अध्यक्ष हुँदा ज्येष्ठ नागरिक ग्राम पनि निर्माण कार्य सुरु गरेको, आफूविरुद्ध अदालतमा पनि मुद्दा परेको र उच्च अदालतबाट सफाइसमेत पाइसकेको स्वीकार गरिन् ।

आयोगकी अध्यक्ष पराजुलीको जवाफ

माननीयज्यूले जे सुन्नुभयो, त्यो सत्य हो । समाचारमा सुन्नुभएको कुरा सत्य हो । म कुनै बेला संकल्प नेपालको अध्यक्ष थिएँ । मैले नेपालमा ज्येष्ठ नागरिकको मानव अधिकार र सामाजिक सुरक्षाको लागि मैले काम पनि गरेको हो, आवाज पनि उठाएको र अनुसन्धान पनि गरेको हो । त्यसै क्रममा संकल्प ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने हामीले योजना पनि बनाएको हो । त्यो निर्माण गर्ने म एक्लै होइन, त्यहाँ टीम छ । त्यहाँका विज्ञ तथा सल्लाहकार व्यक्ति अहिले पनि नेपालकै प्रतिष्ठित ठाउँमा हुनुहुन्छ । त्यसमा कुनै पनि द्विविधा छैन । काम पनि गरेको हो ।

नेपाल सरकारबाट ६ करोड एक लाख बजेट पनि विनियोजन भएको हो, ७ करोड होइन । काम भइरहेकै बेला २०७२ सालको महाभूकम्प आयो । महाभूकम्पबाट त्यो ज्येष्ठ नागरिक ग्रामलाई ठूलो असर पर्‍यो । त्यतिबेलाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव प्राविधिक नै हुनुहुन्थ्यो । हामीले भवन निर्माण विभागबाट प्राविधिक टोली पनि पठाएर अनुगमन पनि गरियो । अनुगमनपछि त्यो निर्माणाधीन भवनलाई पूर्णता दिन सकिँदैन र भत्काउनुपर्छ भन्ने रिपोर्ट आयो । त्यसपछि निर्माण कार्य रोकियो । महाभूकम्पका कारण देशभरमा भौतिक संरचना ध्वस्त भएका बेला दातृ निकायले पनि अन्य सृजनात्मक कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्था आयो र त्यो काम प्राथमिकताभित्र परेन । स्वाभाविक हो, म त्यतिबेला त्यो संस्थाको अध्यक्ष थिएँ । भत्काउन बजेट चाहिएको थियो । अध्यक्ष भए पनि मैले मेरो घरको पैसा ल्याएर त्यो भवन भत्काउन नसक्ने र बनाउन पनि नसकिने भयो । त्यो कुनै पनि पैसा मैले खाएको होइन, मैले चलाएको होइन, मेरो बैंक खातामा जम्मा गरेर राखेको होइन र मैले घरजग्गा पनि जोडेको होइन । त्यसैले मैले केही पनि गरेको होइन । त्यो बजेट कुन कामका लागि कति खर्च भयो भनेर खर्च विवरण, अडिट रिपोर्टलगायत सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि पेश भएको छ, कर कार्यालयमा पनि पेश भएको छ र जिल्ला समन्वय समितिमा पनि पेश भएको छ ।

त्यसपछि संघीयताअनुसार स्थानीय तह सक्रिय भएपछि शंखरापुर नगरपालिकाले त्यो भवनको सबै जिम्मेवारी लिएर आफैं काम अघि बढाउने भनेर नगर कार्यपालिकाको बैठकबाट नै निर्णय भयो । नगरपालिकाले नै आफ्नो मातहतमा लिने निर्णय गरिसकेपछि त्यो झन हामीले छुने र चलाउने कुरै भएन । संस्थाले पनि हस्तान्तरण प्रक्रिया सबै पूरा गर्‍यो । त्यसको जानकारी दिन मन्त्रालयमा पनि पत्राचार गरियो । सबै सरोकारवाला निकायलाई पनि पत्राचार गरेर जानकारी गराइयो । मन्त्रालय र स्थानीय तहबीचमा समन्वय भइसकेपछि मैले त्यो संस्था छोडे पनि । अहिले मैले त्यो संस्था छोडेको पनि ६ देखि ७ वर्ष भइसकेको छ । एक वर्षअघि नै शंखरापुर नगरपालिकाले जग्गाको पुर्जा लगेर जग्गादेखि भवन पनि सबै पास गरिसक्यो । माननीयज्यूले सुन्नुभएको कुरा स्वाभाविक र सत्य हो । कतिपय साथीले सवाल उठाउनुभयो, कतिपयले मिडिया पठाउनुभयो र भिडाउनु पनि भयो । कतिपयले अदालतमा मुद्दा चलाउनुभयो । मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको पनि सत्य हो । मुद्दा फैसला भएर मैले सफाइ पनि पाइसकेको हो । त्यसको पूर्ण पाठसमेत आइसकेको छ । आज यो सवाल उठ्ने भन्ने थाहा भएको भए म त्यो फैसला प्रिन्ट गरेर पनि ल्याउने थिएँ । यसमा सबै कुरा स्पष्ट भइसकेको हो ।

यदि म दोषी थिएँ र छु भने यदि कसैले मेराविरुद्ध यो मुद्दा पुनरावेदन गर्नुहुन्छ भने म दोषी छु भने मैले गलत नियतले कुनै काम गरेको छु भने मैले मेरो जीवनमा बालापनदेखि संगठित रुपमा सामाजिक र राजनीतिक काम गरेर यहाँसम्म आएको महिला हो । मैले महिलाको गर्भपतनको अधिकारका लागि, महिलाको सम्पत्तिमा अधिकारका लागि दर्जनौं लेख लेखेको छु । आधा दर्जन त मेरो पुस्तक पनि प्रकाशन भइसकेका छन् । सम्पूर्ण कुरा मैले मेरो जीवनमा महिलाको मानव अधिकार र सशक्तीकरणका लागि समर्पित गरेको छु । म सार्वजनिक रुपमा अडिट हुन चाहन्छु । मेरो जीवनको परीक्षा लिन चाहनुहुन्छ भने मैले कुनै पनि गलत नियतले कुनै पनि काम गरेकी छु भने र कहींकतैबाट पनि म दोषी प्रमाणित भए भने म खुशीका साथ मेरो सजायको भागी हुन तयार छु ।’

आयोगका अध्यक्ष पराजुलीले आफ्नो कुरा सक्न नपाउँदै समितिका सदस्य मियाँले आक्रोशित हुँदै आयोगका अध्यक्षमाथि आघात परेकोमा तीन पटक माफी मागिन् । उनले आयोगको अध्यक्षविरुद्ध विभिन्न समाचार देखेर स्पष्ट हुन प्रश्न गरेको बताइन् ।

उनले भनिन्, ‘यहाँ कुरो आइसकेपछि त गर्नैपर्‍यो । हामीले बुझेको कुरा के हो भने किस्तामा पैसा गइसकेपछि काम हुनुपर्छ भन्ने लाटो हिसाब हो के ! संस्थाको अध्यक्ष भएको विषय आएको भएर एउटा सफल संस्थाको अध्यक्ष हुँदा समस्या आएको हुनाले महिला आयोगलाई राम्रोसँग नेतृत्व गर्न सक्नुहुन्छ कि हुँदैन भनेर सोध्न त पाइयो नि त हामीले होइन ? त्यही कुरा हो ।’

आयोगकी अध्यक्ष पराजुलीले पनि थपिन्, ‘यो सोध्नैपर्छ । पैसा आएको हो, खर्च भएकै हो । तर, जुन खर्च भयो त्यो खेर गयो । भत्केर गयो । जुन म फिर्ता गर्न सक्दैन । मैले केही पनि गरेको होइन, प्राकृतिक प्रकोपले गर्दा यस्तो अवस्था आयो ।’

बैठक नसकिँदै सदस्य मियाँ बाहिरिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर