करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्ता झुक्याएको आरोप, उद्योग विभागमा मुद्दा – Nepal Press

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्ता झुक्याएको आरोप, उद्योग विभागमा मुद्दा

काठमाडौं । यशोदा फुड्स प्रा.लिद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गर्दै वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको आरोप सिजीले लगाएको छ ।

वाइवाइ उत्पादक सीजी फुड्सले यशोदा फुड्सबाट कानूनको प्रत्यक्ष उल्लंघन भएको आरोप लगाएको हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी गु्रपद्धारा उत्पादित वाइवाइ नेपालका साथै विभिन्न देशमा विक्री हुँदै आएको छ ।
करेन्ट चाउचाउले वाइवाइ जस्तै देखिने गरी ¥यापर प्रयोग गरेर उपभोक्तालाई झुक्याएको आरोप छ ।

वाइवाइ जस्तै देखिने ¥यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रा.लिले उद्योग विभागमा मुद्दा दायर गरेको जनाएको छ ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ ।

उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरी प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ ।

सीजी फुड्सले यही कानूनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । कानूनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ ।

पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । स्थापित वस्तुहरुको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरी गरेर कम लागतमा धेरै मुनाफा आर्जन गर्ने विकृति बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर