उपत्यका बाहिर जाने सबै यात्रुवाहक बस नयाँ बसपार्कबाटै छुट्नुपर्ने, व्यवसायीको विरोध – Nepal Press

उपत्यका बाहिर जाने सबै यात्रुवाहक बस नयाँ बसपार्कबाटै छुट्नुपर्ने, व्यवसायीको विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि लागू हुने गरी उपत्यका बाहिर जाने सम्पूर्ण यातायातका साधनहरू गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरपालिकाले केही दिन अगाडि काठमाडौं उपत्यकाबाट बाहिर जाने लामो र छोटो दुरीका सम्पूर्ण यात्रुवाहक बसहरू नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने नयाँ नियमको सुरुवात गरेको सूचना जारी गरेको थियो । जसका कारण राजधानी पूर्व जाने यात्रुहरू मारमा पर्ने भएका छन् ।

यो निर्णय कार्यान्वयन भए राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा रामेछाप, ओखलढुङ्गा लगायतका जिल्लाका यात्री, मजदुर र यातायात व्यवसायीहरु समस्यामा पर्ने भन्दै यातायात व्यवसायी र मजदुरहरूले विरोध गरेका छन् ।

असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सम्पूर्ण टिकट काउन्टरहरू हटाउने र नयाँबसपार्कमा रहेको निजी क्षेत्रबाट सञ्चालित ल्होत्से बसपार्कबाट मात्रै टिकट काट्नु पर्ने महानगरपालिकाले नियम लागू गरेको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षत्रीले जानकारी दिए ।

महानगरपालिकाको नयाँ नियम अनुसार असार १ देखि धुलिखेल, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनहरुको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न समेत निषेध गरिएको छ । महानगरपालिकाले ल्याएको निर्णय कार्यान्वयन नगरे ट्राफिक प्रहरीसँग समन्वय गरेर महानगरपालिकाका प्रहरी लगाएर कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

राजधानी पूर्वका अधिकांश यात्रुहरूको अन्तिम गन्तव्य कोटेश्वर, बानेश्वर आसपास मात्रै हुने गर्दछ तर गोङ्गबु नै पुग्नुपर्ने र टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम अत्यन्त अव्यवहारिक भएको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

‘जडीबुटी क्षेत्रबाट अगाडि कतै पनि बस रोक्न नपाउने निर्णय आम यात्रु र मजदुरहरूको हितमा छैन, यात्रुहरूलाई थप आर्थिक व्ययभार समेत पर्ने निश्चित छ’ क्षेत्रीले भने ।

आफूहरू काठमाडौँ क्षेत्रको अव्यवस्थित सवारी साधन पार्किङलाई व्यवस्थित गर्न सक्दो सहयोग गर्न तयार भएपनि गोङ्गबु बसपार्क नै पुग्नुपर्ने, बीचमा कतै पनि सवारी साधन रोक्न नपाउने बाध्यकारी नियमले गर्दा यात्रु, मजदुर र आम यातायात व्यवसायी मारमा परेको क्षेत्रीको भनाई थियो ।

अरनिको यातायातले आफ्नै पहलमा काठमाडौं महानगरपालिका–३२ नम्बर वडाको जडीबुटी नजिकै बसपार्क निर्माणको सुरुवात गरिरहेको र त्यही बसपार्कबाटै यात्रुहरूलाई सुविधा प्रदान गर्नका लागि आफूहरू लागिरहेको क्षेत्रीले बताए ।

नीजि बसपार्कलाई पोस्न नयाँ नियम : व्यवसायीहरु

यातायात व्यवसायी र मजदुरहरूले भने ल्होत्से मार्फत सञ्चालन भएको गोङ्गबु बसपार्क बाट मात्रै यात्रु बसहरु छुटाउने नयाँ नियम ल्होत्सेका सञ्चालकहरूलाई आर्थिक लाभ हुने गरेर नियम ल्याएको आरोप लगाउँछन् ।

पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष क्षेत्रीका अनुसार अहिले गोङ्गबु बसपार्क मा दैनिक २ सय बसहरू मात्रै पार्क गर्न सक्ने क्षमताको रहेको छ । एउटा बसपार्क गरेबापत ल्होत्सेले १ हजार असुल्ने गरेको छ ।

उपत्यका बाहिर जाने सबै बसहरू उक्त बसपार्कमा जाने हो भने यात्रुहरू उक्लन र ओर्लन नै नसक्ने क्षत्रीको भनाई छ ।

महानगरपालिकाले सीमित व्यापारीहरूको फाइदाका लागि यस्तो नियम ल्याएको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *