बूढानीलकण्ठ स्कुलकाे भर्नामा झेल- इन्ट्रान्समा ३४ प्रतिशत ल्याउने ‘पास’, ५५ प्रतिशत ल्याउने ‘फेल’ – Nepal Press

बूढानीलकण्ठ स्कुलकाे भर्नामा झेल- इन्ट्रान्समा ३४ प्रतिशत ल्याउने ‘पास’, ५५ प्रतिशत ल्याउने ‘फेल’

फेल भएका विद्यार्थीलाई नामै फेरेर भर्ना, कुरा मिलाउन शीतलनिवासबाट समेत फोन (अडियो)

काठमाडौं । देशकै उत्कृष्ट, नमूना र अग्रणी मानिएको बूढानीलकण्ठ स्कूलमा आफ्ना छोराछोरी पढाउने धेरै अभिभावकको चाहना र सपना हुन्छ । यहाँ पढेका विद्यार्थी अन्तर्राष्ट्रिय शैक्षिक बजारमा सजिलै बिक्ने गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको यस आवासीय विद्यालयमा पछिल्लो समय पैसा र पावरका आधारमा विद्यार्थी भर्नामा विभिन्न चलखेल गरिएको पाइएको छ । कक्षा ५ मा मात्र भर्ना लिइने यस विद्यालयमा योपटक प्रवेश परीक्षामा फेल भएका विद्यार्थीको नाम नै फेरेर पास भएका विद्यार्थीको काेटामा भर्ना गरेको खुलेको हो । यस विषयमा शिक्षामन्त्रालयले छानबिन थालिसकेको छ ।

यसरी भयो चलखेल

बूढानीलकण्ठ स्कूलमा हरेक वर्ष चैतमा प्रवेश परीक्षाको फाराम खुलाएर विद्यार्थीले प्राप्त गर्ने मेरिटका आधारमा भर्ना लिइँदै आइएको छ । सुरूवातमा ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति र ४० प्रतिशत विद्यार्थीलाई सःशुल्क आवासीय अध्ययन गराइँदै आइएको थियो । पछिल्लो समय देशैभरबाट प्रदेशगत रूपमा परीक्षा लिएर छात्रवृत्तिमा ४२ जना र  बाँकी सशुल्क ९४ जनाका लागि इन्ट्रान्स लिने गरिएको छ । अघिल्लो वर्षसम्म सरकारले वार्षिक साढे ५ करोड अनुदान दिँदै आएको यो स्कुलमा यो वर्षदेखि बढाएर ६ करोड पुर्‍याइएको छ ।

यस शैक्षिक सत्रका लागि स:शुल्क पढ्ने गरी प्रवेश परीक्षा दिएकामध्ये मेरिट लिस्टमा ७७औं स्थानमा नाम निकालेका दुई छात्राको ठाउँमा ११४ र ३९१ र्‍याङ्कमा रहेकालाई भर्ना गरिएको हो ।

आईडी नम्बर BNKS2534 की कृतिका बास्तोलाको ठाउँमा BNKS758 आईडीकी कृषा बास्तोलालाई भर्ना गरिएको छ । कृषाको रोल नम्बर ३०८७ छ । उनलाई कृतिकाकै नाममा भर्ना गरिएको स्रोतले बतायो । नेपाल प्रेसलाई प्राप्त विवरणअनुसार कृतिकाले ७७औं स्थानमा रहँदै प्रवेश परीक्षामा ५५.५ प्रतिशत स्कोर ल्याएकी छन् । ३४.५५ प्रतिशत स्कोर ल्याएकी कृषाको र्‍यांक ३९१ छ ।

त्यस्तै ५५.५ प्रतिशत नै स्कोर ल्याएर ७७औं स्थानमा रहेकी रहेकी आईडी नम्बर BNKS1796 सुदेशना तिवारीको ठाउँमा ५२ प्रतिशत स्कोर ल्याएर ११४औं स्थानमा रहेकी BNKS921 आईडीकी राशी कार्कीलाई भर्ना गरिएको छ । उनको रोल नम्बर ३०२८ छ ।

प्रिन्सिपल होमनाथ आचार्यले भर्ना भएका विद्यार्थीको वास्तविक नाम नै फेराएका छन् ।

नक्कली नाम खडा गरेर इन्ट्रान्समा फेल भएका विद्यार्थीले भर्ना पाएपछि उत्तीर्ण कृतिका र सुदेशनाका अभिभावकको विरोध र केही युवाले कुरा उठाउन थालेपछि बदमासी ढाकछोप गर्न प्रिन्सिपल आचार्यले उनीहरूलाई पनि भर्ना गरिदिएका छन् । यसबाट छात्रवृत्तिको २ वटा कोटा काटिएको बताइएको छ ।

भर्नामा अनियमितता भएको थाहा पाएपछि अन्य अभिभावक पनि विद्यालयमा गएर इन्ट्रान्स दिएका आफ्ना छोराछोरीको वास्तविक नतिजा खोजी गर्न थालेका छन् । टोखा-३ बानियाँटारका अभिभावक प्रकाश अधिकारीले आफ्ना छोरा प्रज्वलले इन्ट्रान्समा पाएको स्कोर र पोजिसन माग्दै दुईपटक निवेदन दिएपनि सुनुवाइ नभएको गुनासो गरे ।

‘त्यत्रो नाम चलेको विद्यालय । फेयर हुन्छ भनेर छोरा पढाउन खोजेँ तर, जहाँ पनि राजनीतिक दबाब र सेटिङभन्दा केही रहेनछ । यदि मेरो छोरा पनि फेल नै भको भए स्कोर देखाउन किन डराइरहनुपर्‍यो ?’ उनले प्रश्न गरे ।

भर्ना प्रक्रियाको चलखेलका फेहरिस्त बाहिर ल्याउन र संलग्नलाई कारबाहीको मागसहित केही युवाले अहिले अभियान नै थालेका छन् । यसको अगुवाइ गरिरहेका नेविसंघ काठमाडौं क्षेत्र नं-४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेन केसीले रिपोर्टस क्लबमा बुधबार पत्रकार सम्मेलन ने गरे ।

‘यो खबर थाहा पाएपछि हामी प्रमाणको खोजीमा लागेका छौं । सेटिङ र आर्थिक चलखेल भएको छ । निष्पक्ष छानबिन भई दोषीमाथि कारबाही हुनुपर्छ । विद्यार्थीको भविष्यमा खेलबाड गर्न पाइन्न’, विजेनले भने ।

उनले ५ वर्षदेखि हरेक सेसनमा भर्नामा अनियमितता गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका छन् । छात्रवृत्तिको समेत आधार मिचिएको भन्दै उनले हाइप्रोफाइलबाट दबाब आउन थालेको बताए ।

‘कुनै दबाबमा पर्दिनँ । निष्कर्षमा पुर्‍याएरै छाड्छौं । दोषीमाथि कारबाही हुनुपर्छ । हाम्रै नेता भएपनि हामी चुप लागेर बस्नेवाला छैनौं’, रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा उनले भने ।

थामथुम पार्न शीतल निवासबाट फोन

विद्यार्थी भर्नाको अनियमितताबारे बोल्न थालेपछि बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होमनाथ आचार्यका भाइ खगेन्द्र आचार्यले यो विषय थामथुम पार्न विजेनलाई फोन गरेका छन् । सुरूदेखि नै रामचन्द्र पौडेलको सचिवालयमा रहेका खगेन्द्रले शीतल निवासबाट फोन गरेको भन्दै यो केसलाई अघि नबढाउन भनेको विजेनसँगको टेलिफोन कुराकानीमा सुनिन्छ ।

सुन्नुस- टेलिफोन कुराकानी

‘बूढानीलकण्ठ स्कूलको के लफडा परेको थियो ? समस्या भयो भने दाजुभाइ बसेर तपाईँ हामी एउटै पार्टीको मान्छे मिलाउनुपर्छ । दाइले मलाई भन्नुभएको थियो । समस्या भयो भने मिलाउँला । के चिन्ता लिनुहुन्छ ? मिलाउँला न दाइसँग बसेर केही अण्डरस्ट्याण्डिङ गराउँला नि । के सपोर्ट गर्नुपर्ने म गरौंला । हाम्रो पार्टीको कुरा हो । किन अरुलाई फोन गराउने । दाइले भनेअनुसार लोकल कोटामा एड्मिसन गरेको कुरा आको छ । मेयरको निकट मान्छे थियो रे । खाली भको कोटामा दाइले गराका छन् । दुईवटा वेटिङ लिष्टमा थियो । वेटिङ लिष्टकालाई बोलाएर फाइनल गर्दिसक्नुभएको छ क्यार । कानूनत: वहाँको केही पनि मिस्टेक छैन । समस्या कम्प्लेक्स नबनाऔं । मिल्छ मिलाम… तपाईँ आवेगमा आएर केही हुन्न, म पनि आवेगमा आएर केही हुन्न । बसेर छलफल गरौं । कहिलेकाँही टेक्निकल त्रुटि हुन्छ । ‘

मेयरले भनेर भर्ना गरिएको हो : प्रिन्सिपल आचार्य

प्रिन्सिपल होमनाथ आचार्य ।

प्रिन्सिपल होमनाथ आचार्यले अभिभावकको आग्रहमा भर्ना रिप्लेस गरिएको दाबी गरे ।

उनले भर्नामा कतिपय स्थानीय कुरा पनि हुने प्रष्टीकरण दिए । बूढानीलकण्ठका मेयरले आग्रह गरेकाले ती विद्यार्थी भर्ना गरिएको उनको भनाइ थियो । अभिभावककै अनुरोधमा कृतिका नाम राखेर भर्ना गरेको उनले बताए ।नाम त जन्मदर्तादेखिकै फेर्नुपर्छ होला नि त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा आचार्यले भने, ‘ यस्तो हो नि त, हामीले उहाँहरूको पत्र लिएर नाम फेरेको । जन्मदर्ता पछि बुझाउने शर्तमा गरिएको हो । जेठ मसान्तभित्र जन्मदर्ता ल्याउनु भनेको छु । ल्याउनुभएन भने पुरानो नाम कायम गर्दिन्छु ।’

उनले वेटिङका विद्यार्थीलाई पनि पछि बोलाएर भर्ना गरेको बताए ।

‘त्यस्तो केही होइन । मान्छेहरूले धेरै इस्यू बनाउँछन् । काठमाडौं महानगरतिर हेर्नुस् अरुतिर हेर्नुस् सर्टेन सीटहरू राख्छ । हाम्रो गुठीयार पनि नगरपालिकाको मेयर हुने चलन छ ।’

जन्मदर्ता मिलाउने अधिकार मेरो होइन : मेयर

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रिन्सिपलले कानूनविपरीत काम गरेर आफूमाथि दोष थोपर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । उनले त्यहाँ स्थानीय पालिकाको हिसाबले आफूले एउटा अधिकार पाउने र त्यसमा भर्ना भइसकेको अरु कुरा प्रिन्सिपललाई सोध्न भने ।

मेयर अधिकारी ।

मेयर अधिकारीले नेपाल प्रेससँग भने, ‘जन्मदर्ता मिलाउने मेरो अधिकारको कुरा होइन नि हो र ? कानूनसम्मत छ कि कानूनविपरीत छ कि भनेर हेर्नुपर्‍यो नि ।’

जन्मदर्ता सच्याउने शर्तमा सिफारिस गर्नुभएको रे त ? भन्ने जिज्ञासामा उनल थपे, ‘जन्मदर्ता सच्याउने पञ्जिकाधिकारीको कुरा हो । मैले गर्ने होइन । मेरो अधिकार मैले एउटा कोटा पाउँछु त्यहाँ मेरो एउटा कोटा परेको छ त्यत्ति हो कुरो ।’

के भन्छन् सरकारी अधिकारी ?

विद्यार्थी भर्ना चलखेल छानबिन गरी संलग्नलाई कारबाही माग गर्दै शिक्षा मन्त्रालय, अख्तियारमा उजुरी परेको छ । बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका अध्यक्ष शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा भर्नाको विषयलाई लिएर छानबिन थालिसकिएको बताउँछन् । भर्ना अधिकार प्रिन्सिपलको हुने भन्दै उनले त्यसमा व्यवस्थापन समितिको हात नहुने बताए ।

सहसचिव शर्माले नेपाल प्रेससँग भने, ‘भर्ना प्रिन्सिपलले गर्ने हो । यसमा व्यवस्थापन समितिको केही हात हुँदैन । विज्ञापन निकाल्ने, जाँच गराउने, नाम निकाल्ने सबै काम स्कुलको हो । यसमा गुनासो आएको छ । हामी छानबिन गर्दैछौं । अहिले यसै हो भनेर भन्न सक्दिनँ ।’

मन्त्रालयकै अधिकारी ढाकछोपमा लागेको आरोपमा उनी भन्छन्, ‘यो एकदम गलत हो । मैले पनि सुनेँ । हामी कहिल्यै ढाकछोप गर्दैन । गर्न पनि मिल्दैन । अध्ययन गर्छौं । के गर्नुपर्ने निर्णय गर्छौं । छानबिन गरेर गल्तीको प्रकृतिअनुसार कारबाही हुन्छ । कोही विद्यार्थीलाई मर्का पार्न चाहँदैनौं ।’

जिल्ला शिक्षा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल बूढानीलकण्ठ स्कूलका पुरानाक कुरासमेत जोडिएर कैयौं गुनासा आएको बताउँछन् । उनले पनि विद्यार्थीको इन्ट्रान्स लिनेदेखि भर्नाको सबै अधिकार प्रिन्सिपलको हुने बताए । केही गलत देखिए पनि कतिपय कुरा पूर्वाग्रह साँधेर आएकोजस्तो पाइएकाले यथार्थ बुझ्न केही दिन लाग्ने उनको भनाइ थियो ।

‘केही त्रुटि भएको देखिन्छ । हामी एकचरण छलफल गर्‍यौं अझै छलफल गर्छौं । वैकल्पिकलाई भर्ना गर्न छाडेर तल्लो मेरिटकालाई हालेपछि समस्या आएको देखिएको छ । भर्ना अधिकार प्रिन्सिपलको हो । उजुरी आएपछि व्यवस्थापन समिति चुप लागेर बस्ने कुरा हुँदैन । केही दिनमै प्रतिवेदन सार्वजनिक हुन्छ । दोषीमाथि कारबाही हुन्छ ‘, पौडेलले भने ।

(यसैबीच राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नेपाल प्रेसमा सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खगेन्द्र आचार्य नाम गरेका व्यक्ति राष्ट्रपति कार्यालयमा नरहेको बताएका छन् । पोखरेलले राष्ट्रपतिको स्वकीय सचिवालयमा त्यस्तो नाम गरेका व्यक्ति नरहेको दाबी गरे । यद्यपि खगेन्द्रले भने आफू शीतल निवासबाट राष्ट्रपति कार्यालय सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको सचिव भएको भन्दै शीतल निवासबाटै फोन गरेको अडियोमा सुनिन्छ ।)


प्रतिक्रिया

One thought on “बूढानीलकण्ठ स्कुलकाे भर्नामा झेल- इन्ट्रान्समा ३४ प्रतिशत ल्याउने ‘पास’, ५५ प्रतिशत ल्याउने ‘फेल’

  1. मेराे नानीले पनि जाँच दिएकी थीइ तर के गर्ने पहुँच नभएको कारणले हाेला नानीकाे नामै आएन हामी पहुँच नभएका हरूले निर्य हुनु बाहेक के पाे छ र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *