अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजरबीच भेट, पूँजीगत खर्च बढाउन आग्रह
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।
भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गरेका थिए । आयोजनालाई पुनप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गरे ।
पूर्वाधार विकास र सामाजिक विकासका सूचकहरुबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाहरुको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट ससाना बजारहरुमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरहरुमा पहुँच विस्तार हुँदै जाने धारणा उनले राखे ।
बसाइँसराइँले अवसरसँगै साना शहरी पूर्वाधारमा चाप परेकोले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वशर्त रहेको मन्त्री महतले बताए ।
सामाजिक सुरक्षा, राष्ट्रिय गौरबका आयोजना र चालू खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने तर्फ इंगित गर्दै मन्त्री महतले साँवा व्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापन तर्फ पनि सचेत रहनु पर्ने तर्फ जोड दिए ।
यस क्रममा बैंकका उपाध्यक्ष मार्टिन रेजरले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्वोधन गर्न संयुक्त रुपमा काम गर्न आग्रह गरे । छलफलमा पूँजीगत खर्च बढाउन विश्व बैंकका प्रतिनिधिले अर्थमन्त्रीलाई भनेका थिए ।
सो अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।