ग्लोबल आईएमई समुन्नत योजना-१ खारेज भएको साढे दुई महिनामा पनि फिर्ता भएन लगानी
काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत ग्लोबल आईएमई क्यापिटल कम्पनीको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आईएमई सम्मुनत योजना १ (जिबिआइएमइएस १) का लगानीकर्ताले योजना नै खारेज भएको साढे २ महिना भइसक्दा पनि लगानी फिर्ता पाउन सकेका छैनन् ।
सो योजनाका इकाइ धनीहरुले आफ्नो लगानी फिर्ता नभएको भन्दै गुनासो गर्न थालेका छन् ।
गत चैत १० गते नै यसको सूचीकरण खारेज भएको सूचना नेपाल स्टक एक्सेचेन्जले (नेप्से) निकालेको थियो ।
जिविआइएमइएस १ को सूचीकरण खारेज भएको साढे २ महिना भइसक्दा पनि इकाइधनीको पैसा फिर्ता गर्न सकेको छैन ।
सामान्यतया नेप्सेले सूचीकरण खारेज गरेको ३ महिनाभित्र योजनाले इकाइधनीको रकम फिर्ता गर्नुपर्ने हुन्छ । नेप्सेबाट खारेज भएको सूचनापछि सम्बन्धित व्यवस्थापकले नेपाल धितोपत्र बोर्डमा स्किम बन्द गराउन स्वीकृति (एप्रोभल) लिनुपर्छ । सो एप्रोभल ३ महिनाभित्र दिनुपर्छ । त्यसपछि सम्पत्ति सबै सकारेर साउनसम्म रकम फिर्ता दिइने ग्लोबल आईएमई क्यापिटलकी सूचना अधिकारी नलिना श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिइन् ।
उनी भन्छिन्, ‘नियममा ३ महिनाभित्र फिर्ता दिनुपर्ने हो यदि सो समयमा सकिएन भने अर्को तिन महिना थप हुन्छ । ’
श्रेष्ठले साउनसम्ममा सबै इकाइधनीको रकम फिर्ता भइसक्ने बताएकी छन् ।
यो फन्डको योजना व्यवस्थापकमा ग्लोबल आईएमई क्यापिटल र कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक रहेका थिए ।
ग्लोबल आइएमई समुन्नत योजना-१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँमा बिक्री गरिएको थियो । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
योजनाले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ४ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
माघ मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा यो योजना २५ करोड ५३ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । यस अवधिसम्म योजनाको खुद सम्पत्ति १ अर्ब ४ करोडभन्दा बढी छ । योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो । यसमा ६ हजार ८ सय ५३ जना लगानीकर्ता छन् ।