१०बुँदे दिल्ली डायरी- एयरपोर्टदेखि इन्दौरसम्म को चुके, को झुके ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएको नयाँ दिल्लीको चाणक्यपुरीको आईसीटी मौर्य होटलमा भ्रमणको दोस्रो दिन दुई देशका व्यापारिक समूहको कार्यक्रम थियो । साँझ ६ बजे आसपास सुरु भएको कार्यक्रम ८ बज्दानबज्दै सकियो । कार्यक्रम भएको होटलबाट हरियाणा हाउसतर्फको यात्रामा सडक किनारमा भारतीय मजदुरहरुले प्रचण्डको तस्बिर निकालिरहेका थिए । चार दिने औपचारिक भ्रमणको दोस्रो दिनको साँझमै सडक किनारमा स्वागत गर्न राखिएका पोस्टर हटाइँदै थियो ।
उसो त बिहीबार मोदीसँगको हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनसँगै भ्रमणको चुरो कुरो सकिएको नै थियो । बाँकी त प्रचण्ड र उनको क्याबिनेटका मन्त्रीहरुको मध्य प्रदेशको धार्मिक भ्रमणमात्रै थियो । धार्मिक भ्रमण समयको हिसाबले पनि महत्वपूर्ण थियो । काठमाडौंबाट दिल्ली पुग्ने उडानभन्दा लामो दूरीको हवाई यात्रा गरेर महाकालेश्वर मन्दिर पुगेका थिए प्रचण्ड र उनका मन्त्रीहरु । नेपाली राष्ट्रिय ध्वजाबाहकको ‘आरए २१७’ को वाइड बडी जहाज ‘अन्नपूर्ण’बाट दिल्ली उडेका प्रधानमन्त्री प्रचण्डले ‘आरए २१८’ को वाइड बडी जहाज ‘मकालु’ हुँदै काठमाडौं आए । प्रधानमन्त्री काठमाडौं आउँदा धेरै तर्कवितर्क थपिएका छन् । भ्रमणका बारेमा आम सञ्चार हाउसदेखि संसदसम्म कुराकानी भएका छन् । यो ब्लग त्यसको कुनै चिरफार नगरी दिल्ली दौडाइमा मात्रै केन्द्रित छ ।
विमानस्थलमा चर्चा : ‘व्याड लक’ र ‘गुड लक’का किस्सा
प्रधानमन्त्री भारतीय मन्दिर महाकालेश्वर जाने कुरा प्रधानमन्त्रीले सार्वजनिक नगरे पनि भारतीय पक्षले पत्रकारहरुलाई सूचना चुहाइसकेको थियो । भारतको मध्य प्रदेशको चर्चित मन्दिर महाकालेश्वरमा प्रचण्ड जाने भएपछि तामझाम सुरु गरिएको थियो । प्रचण्ड पुग्ने शुक्रबार बिहान ६ देखि दिउँसो १२ बजेसम्म सर्वसाधारणलाई रोक लाउने सार्वजनिक जानकारी आइसकेको थियो । विमानस्थलमा पुगेर बोर्डिङ लाइनमा हुँदा भ्रमण दलले सूचना पायो- महाकालेश्वर मन्दिरमा आँधीहुरीले मूर्तिमा असर गर्यो । भ्रमण दलमा रहेका एकले सूचना आएपछि भने- ‘लु ब्याड लक ।’
मन्दिरको गेट भत्किएको समाचार बासी भइसकेको थियो । सायद त्यत्ति बेलासम्म भत्केको मिलाउने काम भइसकेको थियो । त्यसैबीचमा अर्को समाचार आयो । त्यो समाचार चै नेपालकै थियो- क्याबिनेटले पठाएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । त्यसमा पनि एक नेपाली सहभागीले भने- ‘अब दिल्लीमा ठूलै स्वागत हुन्छ ।’
विमानभित्रै स्वागतमा को आउने भन्ने अनुमान
अन्नपूर्ण चढेर काठमाडौंदेखि दिल्ली उडेका कर्मचारीतन्त्र, व्यापारीदेखि पत्रकारहरुले प्रधानमन्त्रीलाई कसले स्वागत गर्ला त भन्नेमा व्यापक अनुमान भयो । लाइनमा बसेर काठमाडौंमा भएको प्रवेशदेखि दिल्ली पुगेर विमानबाट निस्कनु अगाडिसम्म अनुमानका संग्रह आइरहे । एकले भने- ‘मोदी नै आउँछन् । किनभने नागरिकता विधेयक प्रमाणीकरण भएको छ ।’ अर्काले भने- ‘प्रधानमन्त्री मोदी नै त सम्भावना छैन । विदेशमन्त्री एस. जयशंकर आउनेछन् ।’ अर्काले थप्दै भने- ‘जयशंकर भारतमा छैनन् । नेपाली राजदूतसमेत भइसकेका विदेश सचिव विनयमोहन क्वात्रा आउनेछन् ।’
एकले भने- ‘मोदी नै आउँछन् । किनभने नागरिकता विधेयक प्रमाणीकरण भएको छ ।’ अर्काले भने- ‘प्रधानमन्त्री मोदी नै त सम्भावना छैन । विदेशमन्त्री एस. जयशंकर आउनेछन् ।’ अर्काले थप्दै भने- ‘जयशंकर भारतमा छैनन् । नेपाली राजदूतसमेत भइसकेका विदेश सचिव विनयमोहन क्वात्रा आउनेछन् ।’
विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्न न मोदी आए न त क्वात्रा । विदेश राज्यमन्त्री मिनाक्षी लेखी स्वागत गर्न आइन् । स्वागतको लहरमा उभिएकाहरुमा भारतका लागि नेपाली राजदूत शंकर शर्मादेखि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसम्म थिए । सबैभन्दा लाउड स्वागत त नेपाल र भारत दुवैमा प्रचलित भोजपुरी नृत्यबाट गरिएको थियो । स्वागत हुँदा प्रचण्ड धेरै उत्साहित देखिएनन् । गीतको कारण हो कि राज्यमन्त्री आएको कारण हो, उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ को अति विशिष्ट कक्षबाट छिटछिटो गरेर होटल मौर्यमा हानिए । भ्रमण दलमा सहभागीहरुले राज्यमन्त्री स्वागतमा आउनु भारत जस्तो शक्ति देशमा ठीकै भएको तर नेपालमा यसले धेरै आलोचना हुने तर्क गरेका थिए । नभन्दै केही समयपछि हरियाणा हाउसमा पुगेर वाइफाइमा जोडिँदा भ्रमण दलका सदस्यको अनुमान सही देखियो । नेपालमा सामाजिक सञ्जालमा प्रचण्डलाई बिजोग स्वागत भएको अर्थ दिने तर्कवितर्कहरु सुरु भएका थिए ।
भारत भ्रमणको दौरा सुरुवाल साइनो
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा केही पोस्टर सजाइएका थिए । प्रचण्डको तस्बिर दायाँ र मोदीको तस्बिर बायाँ राखिएको पोस्टरमा नेपाली र हिन्दी भाषामात्रै प्रयोग गरिएको थियो । अंग्रेजी भाषा प्रयोग गरिएको थिएन । पोस्टरमा लेखिएको थियो-
भारत मे आपका स्वागत है ।
भारतमा यहाँलाई स्वागत छ ।
पोस्टरमा मोदीलाई ‘भारतीय गणराज्य के प्रधानमन्त्री’ र प्रचण्डलाई ‘नेपालका प्रधानमन्त्री’ भनिएको थियो ।
दौरा सुरुवाल लगाएको प्रचण्डको तस्बिर राखेर प्रधानमन्त्रीको स्वागत गरिएको थियो । प्रधानमन्त्री पनि दौरा सुरुवालमै आएका थिए । प्रचण्डको दिल्लीका पोस्टरमा राखिएको फोटो र उनले लगाएको दौरा सुरुवालको कुनै सम्बन्ध छ वा छैन, त्यो उनैले जानून् । तर, दौरा सुरुवालको प्रसंग प्रचण्ड आफैंले निकाले । नेपालको नयाँ दिल्लीको बाह्रखम्बा रोडमा रहेको दूतावास भवनमा भएको रात्रीभोजमा सरिक प्रचण्डले पूर्वभारतीय राजदूत मञ्जितसिंह पुरीलाई आफू नजिक आउन संकेत गर्दै भने, ‘धेरै पटक तपाईंले मलाई कहिले दौरा सुरुवाल लाउनुहुन्छ भनेर भन्नुभएको थियो । हेर्नु त आज मैले लगाएको छु ।’
प्रचण्डको दौरा सुरुवालमोह बारेमा नेपालका जानकार तथा प्रचण्डसँग सम्बन्ध भएका अवकाशप्राप्त जर्नेल अशोक मेहतालाई लेखकले प्रश्न गर्यो । मेहताको जवाफ थियो, ‘यो कुरा मैले पनि नोट गरेको छु ।’ ‘जनयद्ध’कालबाटै माओवादी नेतृत्वसँग परिचित, २१ वर्ष अगाडि ‘शाही नेपाली सेना’ नामको अंग्रेजी भाषाको पुस्तक लेखेका अनि नेपालमा हजारौं किलोमिटर पैदलयात्रा गरेका मेहताले प्रचण्डले दौरा सुरुवाल लगाएको प्रसंगमा रोचक जवाफ दिएका थिए । बाह्रखम्बा दूतावास परिसरको प्रचण्ड सरिक भएको रात्रीभोजको एक कुनामा मेहताले भने, ‘३२ सीटलाई ५० पुर्याउन दौरा सुरुवाल त लगाउनै पर्यो ।’
गंगा दाहाललाई भारतीय पत्रकारले सोचे- नेपालकी फर्स्ट लेडी
प्रधानमन्त्री पुत्री हुन् गंगा दाहाल । उनी प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवसमेत हुन् । हुन त स्वकीय सचिव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पनि थिए । तर, उनी सार्वजनिक मञ्चमा देखिएनन्, जति गंगा दाहाल देखिइन् । प्रधानमन्त्री प्रचण्डले भेट्दा भारतीय सुरक्षा सल्लाहकार अजित दोभलसँग डायरी लिएर बसेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए । प्रचण्डसँग मोबाइल बोकेकी गंगा थिइन् ।
‘जनयद्ध’कालबाटै माओवादी नेतृत्वसँग परिचित, २१ वर्ष अगाडि ‘शाही नेपाली सेना’ नामको अंग्रेजी भाषाको पुस्तक लेखेका अनि नेपालमा हजारौं किलोमिटर पैदलयात्रा गरेका मेहताले प्रचण्डले दौरा सुरुवाल लगाएको प्रसंगमा रोचक जवाफ दिएका थिए । बाह्रखम्बा दूतावास परिसरको प्रचण्ड सरिक भएको रात्रीभोजको एक कुनामा मेहताले भने, ‘३२ सीटलाई ५० पुर्याउन दौरा सुरुवाल त लगाउनै पर्यो ।’
मोदी र प्रचण्डको भेटपछिको तस्बिरमा पनि गंगा उभिएकी छन् । गंगा प्रचण्डसँगै यत्रतत्र सर्वत्र भएको देखेका कतिपय भारतीय जिज्ञासु बने । मौर्य होटलको लबीमा नेपाल-भारतका व्यापारिक समूहसँगको कार्यक्रममा आएका भारतीय च्यानल डीडीका एक पत्रकारले पंक्तिकारसँग गंगा दाहालले दोभलदेखि मोदीसँग प्रचण्ड उभिएको तस्बिर देखाउँदै सोधे, ‘उहाँ फर्स्ट लेडी हो ?’
प्रचण्डको भाषा र कूटनीतिक भाषाको गोलमाल
बुधबार बाह्रखम्बास्थित नेपाली दूतावासमा प्रचण्डले छोटो लिखित सम्बोधन गरे । भारतका नेपाल मामिलाका जानकारहरु, भारतका पूर्वनेपाली राजदूतहरु, भारतका पूर्वसेनापतिहरुदेखि भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले हुँदै भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी सहभागी थिए कार्यक्रममा । प्रचण्डले छोटो लिखित सम्बोधन नेपालीमा गरेका थिए ।
त्यहाँ प्रचण्डले नेपालीमात्रै बोल्दा भाषा नबुझ्नेहरुले टिप्प्णी गरे । नेपाल मामिलाका जानकार भारतीय बौद्धिक डाक्टर निहार नायकले पंक्तिकारसँग भने, ‘नेपाली भाषा भारतको पनि संविधानमै मान्यता पाएको भाषा हो । भारतमा ६० लाख बढी नेपाली भाषी छन् । हाम्रो सम्मान छ । तर, आजका दर्शक नेपालीका मात्रै थिएनन् । नेपाली केही बोलेर महत्वपूर्ण कुराहरू अंग्रेजीमा भनिएको भए धेरैले बुझ्ने थिए । अनुवादक राखिएको भए पनि राम्रो हुन्थ्यो ।’
भारतीय र नेपालीको भीडमा दूतावासमा नेपालीमा मात्रै बोलेका प्रचण्डले भोलिपल्ट हैदरावाद हाउसमा भएको मोदीसँगको सम्बोधनमा भने अंग्रेजी बोले । दौरा सुरुवाल लगाएर लिखित सम्बोधन खरर पढेका थिए प्रचण्डले । सबै पत्रकारलाई प्रवेश नदिइएको हैदरावाद हाउसको सम्बोधनलाई भारतीय सरकारी च्यानल डीडीबाट प्रत्यक्ष हेरिरहेका एक भ्रमण दलका सदस्यले भने, ‘मोदीले हिन्दीमा बोल्दा प्रचण्डले नेपालीमा बोल्नुपर्ने थियो । स्वागत पोस्टर नेपाली र हिन्दी नै प्रयोग भएको थियो । बरु अनुवादक राख्न सकिन्थ्यो ।’
सम्बोधनको भाषामात्रै होइन, कूटनीतिक भाषामा पनि प्रचण्डको देखिने कमजोरी छताछुल्ल भए । उनले आफ्नो आकर्षक वाककला देखाउने गरी सम्बोधन गर्न सकेनन् । अनौपचारिक र औपचारिक कुरा मिसमास गर्न सक्ने सम्बोधनको मिठास प्रचण्डले दिन सकेनन् । कुनै स्कुले विद्यार्थीलाई शिक्षकले लेखेर दिएको वतृत्वकलाको कन्टेन्ट पढे जस्तो खरर्रमात्रै पढे ।
मोदीको आत्मविश्वासी र आकर्षक मन्तव्यको अगाडि सँगै उभिएका प्रचण्ड ज्यादै कमजोर देखिए । कन्टेन्टमा राम्रो भए पनि कन्फिडेन्समा धेरै कमजोर देखिए प्रचण्ड । भारतीय राष्ट्रपति द्रौपदी मुर्मी भेट्न पुग्दाको दृश्य झनै बिजोग थियो । मुर्मीले प्रचण्डलाई कोठामा मात्रै आएर स्वागत गरिन् । सवारी आउनासाथ त्यही उभिएर रिसिब गरिनन् । प्रचण्ड टोलीका सदस्यको मोबाइल आतंकको कथा झनै बिजोग छ । जुन चर्चामा आइसकेको छ ।
कूटनीतिक अभिव्यक्तिको भाषामा पनि प्रचण्ड धेरै अपरिपक्व देखिए । उनले भारतमा भएको मोदीसँगको भेटको सवाललाई जोड्दै कान्तिपुरसँग भनेका थिए, ‘कुरा त बिगार्छन् क्यारे भन्ने भएकै हो ।’ भारतीय कर्मचारीतन्त्र र मोदीभन्दा कनिष्ठ राजनीतिक नेतृत्वलाई लक्षित गरेर प्रचण्डले यसो भनेका हुन् । यो अकूटनीतिक रवैया हो । उनीसँग संवादमा जोडिएका ती अनुहारहरुको उनीसँगको यस्तो सार्वजनिक खपतको कुराले आगामी दिनमा विश्वास कमजोर बनाउने देखाउँछ । त्यतिमात्रै होइन, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको माटोसँग बंगलादेश जाने बाटो साटफेर गर्न सकिने जस्तो कुरा दिल्लीमा सम्पादकदेखि काठमाडौं विमानस्थलमा आएर पनि प्रचण्डले दोहोर्याए ।
सोमबार सदनमा उनले बचाउनमा तर्क गरे पनि यस अगाडि सार्वजनिक भइसकेको उनको अपरिपक्व कूटनीतिक भाषा सार्वजनिक वृत्तमै छ । बिजुली व्यापारमा पनि प्रचण्डले कमजोर अभिव्यक्ति दिएका छन् । नेपालमा उत्पादन हुने बिजुली भारतमा बिक्री हुने आधार भएकोले विदेशी लगानी आउने बताएका छन् । तर, यथार्थ के हो भने भारतले आफू सहभागी नभएको आयोजनाको बिजुली किन्न कानून बनाएरै बन्देज गरेको छ । प्रचण्डले भने जस्तो तामाकोशीको चीन सहभागी भएको बिजुली भारत बेच्ने त अहिलेसम्मको अवस्थामा झनै सम्भावनै छैन ।
बिजुली व्यापारमा पनि प्रचण्डले कमजोर अभिव्यक्ति दिएका छन् । नेपालमा उत्पादन हुने बिजुली भारतमा बिक्री हुने आधार भएकोले विदेशी लगानी आउने बताएका छन् । तर, यथार्थ के हो भने भारतले आफू सहभागी नभएको आयोजनाको बिजुली किन्न कानून बनाएरै बन्देज गरेको छ ।
सत्ताधारीमात्रै भेट भएको दिल्ली दौड
नेपालको स्थापित कूटनीतिक प्रचलनमा भ्रमणमा जाँदा भारतका सत्ताधारी र प्रतिपक्षी दलका नेताहरुलाई भेट्ने उदाहरण छ । विगत हेर्दा जीपी कोइरालादेखि केपी ओलीको भ्रमणसम्म त्यो देखिन्छ । सबैभन्दा पछिल्लो उदाहरणको लागि सन् २०१८ अप्रिलमा भ्रमण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले भारतीय प्रमुख प्रतिपक्षका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहदेखि नेता राहुल गान्धीलाई भेटेका थिए ।
प्रचण्डको भ्रमणमा उनले सत्ताधारीसँग मात्रै भेटघाट गरे । भारतीय प्रतिपक्षीसँग औपचारिक र अनौपचारिक कतै प्रचण्डले भेट गरेनन् । यसले भ्रमण समग्र भारतीय पक्षसँग नभई सत्ताधारीसँग मात्रै भेट्ने एकपक्षीय भएको छ ।
भारतीय प्रधानमन्त्री त परै जाओस्, भारतीय कर्मचारीतन्त्र पनि नेपाल आउँदा सबैसँग भेट्ने गरेका छन् । राष्ट्रपति चुनाव अगाडि नेपाल आएका विदेशसचिव विनयमोहन क्वात्राले सत्ताधारीदेखि प्रतिपक्षी दल हुँदै राष्ट्रिय दलको मान्यतासमेत नपाएको नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समेत भेटेका थिए । भारतीय विदेश सचिवले नेपालमा अपनाएको सर्वपक्षीय कूटनीति प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा अपनाएनन् । उनले सत्ताधारीसँग मात्रै भेटघाट गरे ।
प्रचण्ड चुकेको ट्रयाक टु डिप्लोमेसी
भारतमा अहिले पनि एक जमात नेपालको पक्षमा सकारात्मक छ । त्यसले ईपीजी प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने मत राख्छ । भारतमा अहिले पनि एक जमात छ । त्यसले सार्क पुनः सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्छ । ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने नेपाली माहोललाई साथ हुने भारतीय बौद्धिकहरुको सहयोग जोडेर भारतमा बहस छेड्न प्रचण्ड असफल भए ।
यस्तै सार्क अध्यक्ष भएकोदेखि सार्क मुख्यालय होस्ट गर्ने देशका प्रधानमन्त्रीले सार्क पक्षधर भारतीयहरुसँग ट्रयाक टु डिप्लोमेसी गर्नमा प्रचण्ड असफल भए । नयाँ दिल्लीमै रहेको सार्कले स्थापना गरेको विश्वविद्यालय साउथ एसियन युनिभर्सिटीमा एक प्राज्ञिक कार्यक्रममा सहभागी भएर वा आयोजना गरेर प्रचण्डले सार्कको पक्षमा भारतीय माहोल र पक्षधरता बढाउन पहल गर्न सक्थे । यसमा प्रचण्ड चुके । ईपीजीमा जोडिएका भारतीय सदस्य महेन्द्र पी लामादेखि ईपीजी सार्वजनिक हुनुपर्ने मुद्दाका पक्षधर भारतीय बौद्धिक डाक्टर निहार नायक जस्ता अनुहारहरुसँगको सफ्ट पावर र ट्रयाक टु डिप्लोमेसीमा प्रचण्ड फितला र अपिरपक्व देखिए ।
मिडिया डिप्लोमेसीमा पनि प्रचण्ड कमजोर भए । अहिले सगरमाथा आरोहणको ७० वर्ष पुगेको छ । त्यही मौका वा अरु कुनै नेपाल जोडिएको वा नेपालले नेतृत्व गर्ने वैश्विक मुद्दामा भारतमा रहेको विश्वभरका सयौं पत्रकारहरुसँग प्रचण्डले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन गर्न सक्थे । ‘द फरेन कसरपन्डेन्ट्स क्लब अफ साउथ एसिया’मा नेपाली पत्रकार राजेश मिश्र निर्वाचित अनुहार हुन् । उनी वा उनी जस्तै सँगको समन्वयमा सम्मेलन गर्न सकिन्थ्यो । सगरमाथा वा कुनै नेपालको विश्वस्तरीय मुद्दामा रहेर अरु कुराहरु जोडेर नेपालको बारेमा प्रचण्डले विश्व मञ्चमा बलियो सन्देश दिन सक्थे । यस खालको मिडिया डिप्लोमेसीमा प्रचण्ड चुके ।
उनले सबै नेपाली पत्रकारहरुसँग समेत कुराकानी गरेनन् । केही औंलामा गन्न सकिने सम्पादकहरुसँग मात्रै उनले कुराकानी गरे । मिडियालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जुन स्तर र रफ्तारमा सदुपयोग गर्न सकिन्थ्यो, त्यसो गर्न सकेनन् प्रचण्डले ।
प्रचण्ड जस्तै दिल्लीमा कमजोर गैरराज्य पक्ष
प्रचण्डको भारत भ्रमणमा राज्य पक्षमात्रै पुगेको थिएन । गैरराज्य पक्षको पनि सहभागिता थियो । गैरराज्य पक्षमा व्यापारिक र सञ्चार क्षेत्रको बाक्लो उपस्थिति थियो । भारतका खर्बपतिहरु त परै जाओस्, भारतका गिनेचुनेका प्रभावकारी व्यापारिक अनुहारहरुसँग नेपाली व्यापारिक वृत्तले उपस्थिति देखाउन सकेन । मौर्य होटलमा भएको दुई देशको व्यापारिक कार्यक्रममा भारतका प्रभावशाली उद्यमी र व्यापारिक घरानाको उपस्थिति थिएन ।
भारतमा अहिले पनि एक जमात छ । त्यसले सार्क पुनः सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्छ । ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने नेपाली माहोललाई साथ हुने भारतीय बौद्धिकहरुको सहयोग जोडेर भारतमा बहस छेड्न प्रचण्ड असफल भए ।
नेपाली व्यापारीको तर्फबाट कन्दै कन्दै अंग्रेजीमा बोलेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको भाषण सुन्दा धेरै भारतीयहरुले मुखामुख गरिरहेका थिए । त्यो बिजोग देखेर हलबाट बाहिरिएका थिए लोकान्तरका पत्रकार विन्देश दाहाल । बाहिर आउनासाथ उनी भन्दै थिए, ‘लास्टै वाक्कलाग्दो । झ्याउलाग्दो भाषण । बरु नेपालीमै बोलेर अनुवादक राखेको भए कम बेइज्जत हुन्थ्यो ।’
सञ्चार क्षेत्रमा उस्तै फितलो प्रस्तुति भयो । कतिपय कुराहरु बाहिर आइसकेका छन् । नेपालबाट गएका सम्पादकहरुले भारतीय समकक्षी सम्पादकहरुलाई भेटेको देखिएन । भारतबाट नेपाल आएका भारतीय मिडियाका सम्पादकहरुको अन्तर्वार्ता आउने गर्छ । नेपालबाट भारत गएका सम्पादकहरुले त्यो अवसर पाएनन् । पत्रकारहरु पनि पब्लिक डिप्लोम्याट हुन् । पत्रकारहरुका पनि नेतृत्व सम्पादकहरु त झनै शक्तिशाली पब्लिक डिप्लोम्याट हुन् । तर, तिनै पब्लिक डिप्लोम्याटहरुले त्यस्तो उपस्थिति देखाउन सकेनन्, जस्तो उनीहरुका भारतीय समकक्षीहरु नेपाल आउँदा देखिने गर्छ ।
प्रचण्डको मन्दिर कूटनीतिमा मोदी ‘अनुमोदन’
चार पटक भारत पुगेका प्रचण्डले भ्रमण तालिकामा मन्दिर पुग्ने पहिलो कार्यक्रम भने यो पटकको भ्रमणमा मात्रै राखे । त्यसमा मोदीले अनुमोदन गरे । नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी पुगेका मोदीले प्रचण्डलाई महाकालेश्वर मन्दिर यात्राको शुभकामना दिए । हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनमै मोदीले सम्बोधन सक्नु अगाडि धार्मिक यात्रा जोड्दै भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड जी, तपाईं भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्दै हुनहुन्छ । मलाई विश्वास छ कि तपाईंको उज्जैन यात्रा ऊर्जामय हुनेछ । साथै पशुपतिनाथदेखि महाकालेश्वरको यो यात्रामा तपाईंमा आध्यात्मक अनुभूति पनि हुनेछ । धेरै धेरै धन्यवाद ।’
मोदीले अनुमोदन गरे पनि प्रचण्डका कट्टर कम्युनिष्ट समर्थकहरुले भने अनुमोदन गरेका छैनन् । उनीहरुले प्रचण्ड हिन्दूकरणको पक्षमा गएको आरोप लगाएका छन् । प्रचण्डले जे गरे पनि सही भन्ने कार्यकर्ताहरुले भने प्रचण्डले जुन धर्मको कार्यक्रममा गए पनि त्यही भेष लगाउने गरेको भन्दै बचाउ गरेका छन् । तर, उनीहरुले प्रचण्डले आफ्नो कूटनीतिक यात्राकै दौरानमा भारतको हिन्दू मन्दिर पहिलोपटक पुगेको बारेमा भने मौनता साँधेका छन् । महाकालेश्वर मन्दिर यात्रासँगै भारतसँगको मन्दिर कूटनीतिमा प्रचण्डको यूटर्न भएको छ । पहिलो कार्यकालमा भारतीय पुजारी पशुपतिनाथबाट निकाल्न खोज्ने प्रचण्ड अहिले भारतको मन्दिर पुगेर पुज्ने तहमा रुपान्तरण भएका छन् । प्रचण्डले बचाउमा भनेका छन, ‘म कम्युनिष्टमात्रै होइन । प्रधानमन्त्री पनि हुँ ।’
भ्रमणको व्याख्याः ‘औपचारिक’ भर्सेस ‘राजकीय’
अन्नपूर्ण जहाज चढेर काठमाडौंबाट दिल्ली पुग्दा प्रचण्ड उत्साहित थिए । उनले जहाजका सबै यात्रुसँग उनीहरुको ठाउँमा आएर नमस्कार साटासाट गरे । कतिपय चिनेकाहरुसँग दोहोरो कुराकानी गरे । मकालु चढेर दिल्लीबाट काठमाडौं आउँदा भने प्रचण्डमा त्यो उत्साह थिएन । उनले यात्रुसँग भेटघाट र नमस्कार साटफेर गरेनन् । भारत भ्रमणमा उत्साहित नभएर हो वा थकानले हो, प्रचण्डमा जाँदा जस्तो ऊर्जा आउँदा देखिएन ।
नेपाल आउनु अगाडि आफ्नो सामाजिक सञ्जालमा ‘राजकीय भ्रमण’ लेखेका थिए प्रचण्डले । ‘गार्ड अफ अनर’ नदिइएको उनको भ्रमण राजकीय थिएन । औपचारिकमात्रै थियो । भारतीय विदेश मन्त्रालयले औपचारिक नै भनेको छ । प्रधानमन्त्री प्रचण्डले भने राजकीय भनेरै छोडे । अघिल्लो भारत भ्रमणमा राजकीय तह पाएका प्रचण्डले अहिलेको भ्रमणमा औपचारिक भ्रमणको मात्रै मान्यता पाए । त्यसको गुञ्जन सामाजिक सञ्जालमा मात्रै थिएन । प्रचण्ड चढेर आएको मकालु जहाजको सम्बोधनमा पनि थियो ।
विमान परिचारिकाले सम्बोधन गर्दा भारतको ‘औपचारिक भ्रमण’ गरेर आउनुभएको प्रधानमन्त्री भनिन्, उनले ‘राजकीय भ्रमण’ भनिनन् । सामाजिक सञ्जालमा राजकीय भ्रमण लेखेर काठमाडौं यात्रामा आउँदै गर्दा राष्ट्रिय ध्वजाबाहक विमानकी परिचारिकाबाट औपचारिक भ्रमण भनेको सुन्दा भीआईपी कक्षमा रहेका प्रधानमन्त्रीले याद गरे गरेनन्, त्यो धेरैले देख्न सकेनन् । तर, यात्रुले भने यादमात्रै गरेनन्, कानेखुसी पनि गरे । त्यो चैँ धेरैले देखे ।