लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने – Nepal Press

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् ।

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही थप्ने तयारी सरकारको छ । स्थानीय उत्पादनको बजारीकरणको खोजीलगायतकका विषय पनि नीति कार्यक्रममा समेटिएका छन् । जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको जानकारी गराए । बहुवर्षीय आयोजनालाई निरन्तरता र मर्मतसम्भारलाई पनि कार्यक्रममा समेटिनेछ ।

पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको बताइएको छ । घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ । यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिने भएको छ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बजेटको सीमालाई ख्याल गर्दै अगाडि बढ्ने बताए ।

उनले प्रदेश गौरवका आयोजना निरन्तरता दिँदै नयाँ योजना अगाडि बढाउने बताएका छन् । रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जानकारी दिए । पर्यटनको लागि ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा पर्यटन केन्द्रित हुनेछ । साथै, प्रदेशको सरकारको क्षेत्रधिकार भित्र पर्ने शिक्षाको विकासको लागि विशेष काम गर्ने नीति रहेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको लागि विशेष काम गर्ने गरी प्रदेश सरकारले उक्त विश्वविद्यालयलाई प्रदेशको गौरवको आयोजना बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *