भन्सार छलेर भारतबाट ल्याइएको साढे ८ लाख बराबरका मोबाइल बरामद
रुपन्देही । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका करिब साढे ८ लाख बराबरको मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।
बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो ४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् । ती मोबाइल बुधबार साँझ बरामद गरिएको हो ।
बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए । खुला सिमानाका कारण भारतबाट अवैध तरिकाले यसरी सामान ल्याउँदा सरकारलाई राजश्व घाटा लागेको छ भने उपभोक्ताले यसरी ल्याएको समान बिग्रँदा मर्मतका लागि समस्या झेल्नुपरेको छ ।