लामखुट्टेबाट बच्न स्थानीयले सेल्टर बनाएको सुर्खेतको जर्बुटा पर्यटकीय थलो बन्दै
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगपालिका-१३ मा रहेको जर्बुटा डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । अझ गर्मीयाममा त वीरेन्द्रनगर उपत्यकाको तातो छल्न जर्बुटा डाँडामा जानेको भिड लाग्ने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-१२ की गङ्गा सारुले अफिस बिदाको समयमा आफ्ना परिवारसँग जर्बुटा घुम्न जाने गरेको बताइन् । यहाँ आएपछि वीरेन्द्रनगर भ्याली निहाल्न पाइन्छ त्यो सँगै अहिलेको गर्मी छल्नका लागि पनि यहाँ घुम्न आएका छौँ,’ उनले भनिन् ।
सारुले जर्बुटा डाँडाबाट वीरेन्द्रनगर उपत्यकाले मनै लोभाउने हुँदा उक्त ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताइन् ।
रोशन राना मगरले जर्बुटा डाँडामा जाँदा पीडा भुलेर मन आनन्द हुने गरेको बत्ताउँछन् । जर्बुटामा पछिल्लो समयमा रातिमा क्याम फाएर गरेर रमाउनेहरू पनि उतिकै भेट्न सकिन्छ । उनले भने, ‘त्यहाँ जाँदा गाडीमा मात्रै खर्च लाग्ने, स्थानी स्तरमा भएको रमणीय डाँडामा गएर वीरेन्द्रनगरको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।
जर्बुटामा पर्यटकलाई आकर्षक बनाउने ठूलाठूला ढुङ्गाहरू छन् । प्रकृतिलाई पर्यटकीयस्थल बनाउनु पर्छ भन्ने स्थानीयको सोचलाई हाल प्रदेश सरकारले पनि ध्यान दिएको छ । उक्त स्थानलाई संरक्षण गरेर पर्यटक भित्राउन मद्दत पुग्ने स्थानीय बताउँछन् ।
जर्बुटा २०२८ सालमा जलाधार बस्ती क्षेत्र र चार सय घरधुरी रहेको स्थानीय रुद्रबहादुर गाहाको भनाइ छ । जलाधार क्षेत्रले बस्ती उठाएपछि सामुदायिक बन बनाएको गाहाले भने । वीरेन्द्रनगर इत्राममा जर्बुटाको पानी लगिएको थियो । मुहान फोहोर हुन्छ भनेर बस्ती उठाएको उनले बताए ।
शनिबार र बिदाको दिन स्थानीय बालबालिकाले अमला, तिजु, काफल र ऐँसेलु बेचेर किताब कपी किन्ने गरेको गाहा बताउँछन् ।
उक्त स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले यहाँको पार्कको निमार्ण घेरावर र सडकको कार्य भइहेरेको कन्यादेवी सामुदायिक वनका अध्यक्ष मनबहादुर शाही बताउँछन् । आन्तरिक पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा जर्बुटालाई विकास गर्ने सोचका साथ अगाडि बढेको उनको भनाइ छ । अहिले पनि यहाँ शनिबार बिदाको समयमा रातिको समयमा क्याम फाएर गर्ने र दिनको समयमा वीरेन्द्रनगर उपत्यका हेर्नेहरू दिनमा २ सय भन्दा धेरै आन्तरिक पर्यटक आउने गरेको उनले बताए ।
सुर्खेत डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत मुनबहादुर रावतले जर्बुटा पर्यावरणीय प्रवर्धन का लागि एक सम्भाव्य स्थल भएको बताउँछन् । पर्यटन प्रवर्द्धनका लागि जर्बुटाको काम अगाडि बढाएर त्यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय समुदाय इछुक छन् र सामुदायिक बनले आफ्नो उद्देश्य राखेर अगाडि बढ्न चाहान्छन भने विधान संशोधन गरेर अगाडि बढ्न सकिने उनले बताए ।
त्यस्तै, जर्बुटा डाँडामा शान्ति पार्क निमार्णका लागि प्रदेश सरकारले १० लाख र जर्बुटा खोरिया सडक स्तरउन्नति १५ लाख बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार स्थानीय उपभोक्ताको मागअनुसार बजेट विनियोजन गरेको र जर्बुटामा पैदल मार्गका लागि रकम विनियोजन भएको छ ।
जर्बुटाको इतिहास
वीरेन्द्रनगर उपत्यकामा औलो रोगबाट डर बढेपछि लामखुट्टेबाट बच्न गाउँले जर्बुटातिर उक्लिन्थे । दिनभरि वीरेन्द्रनगरमा आएर काम गर्ने र साँझ जर्बुटा, कोठीकाडा, कटुकुवा र बयकाडा काम सकेर घर फर्किने गरेको तत्कालीन प्रधानपञ्चसमेत रहेका स्थानीय मनबहादुर खड्का बताउँछन् ।
उनले भने,’ ‘औलो उन्मुलन भएको थिएन । राजा महेन्द्रको पालामा औलो उन्मुलन भएपछि २०२५ सालबाट जर्बुटाबाट वीरेन्द्रनगरमा बसोबास गर्न थाले । जर्बुटाका हामी खड्काहरू जमिनदार थियौ । राजा महेन्द्रको पालामा नै मेरो बुवा टोपबहादुर खड्काले ४२ बिघा सुर्खेत विमानस्थललाई जग्गा दान गर्नु भएको थियो ।
२०४२ सालका राजा वीरेन्द्र सुर्खेतमा सवारी भएको थियो । कसैलाई जानकारी नदिएर राजा जर्बुटा गएको र त्यहाँका जनतालाई राजाले यो ठाउँ किन छोडे भनेर स्थानीयलाई सोध्दा पहिला औलो उन्मुलन नभएको र पछि औलो उन्मुलन भएपछि सबै वीरेन्द्रनगरमा झरेको भनेर हामीले राजालाई भनेका थियौं ।
खड्काले भने, ‘उनीहरूको खेतीपाती सबै वीरेन्द्रनगरमा नै थियो । त्यसैले यो ठाउँ खालि हुन पुगेको भन्दा राजा वीरेन्द्रले यो ठाउँलाई केही गर्नुपर्छ भन्ने सोच बनाएका थिए ।
राजाले आफूलाई सुर्खेतको जग्गा जमिन अमूल्य छ, यहाँको अनाज-पानी कहाँ जान्छ ? भनेर सोध्दा, ‘हामीले भन्यौ नेपालगन्ज सुर्खेतको सडक अलिकति राम्रो भएको खण्डमा यहाँको अनाज पानी नेपालगञ्ज जान्थ्यो । सडक राम्रो छैन उत्तरतिर जाने कुरै थिएन । हाम्रो व्यवस्था हुनु पर्यो सरकार भनेपछि पछि राजाले भनेर सडकको विस्तार गर्नुभयो ।
यदि प्रदेश सरकारले जर्बुटालाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सकिन्छ । हरियाली पुराना पोखरी छन् तर पानी छैनन् । यहाँ पूर्वाधार विकास र संरक्षण गर्नसके स्थानीयस्तरको आर्थिक गतिविधि चलायमान बनाउन सकिने स्थानीयको भनाइ छ ।