ईसेवा मनी ट्रान्सफरका बम्पर विजेता पूर्णबहादुर श्रेष्ठ नेपाल आउँदै
काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् ।
लुलु एक्स्चेन्ज र ईसेवा मनी ट्रान्सफरको समन्वयमा बुधबार लुलु शाखा सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो र ईसेवा मनी ट्रान्सफरका सम्बन्ध प्रबन्धक ईश्वर अधिकारीले उक्त कार्यक्रममा श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहको निमन्त्रणा पनि दिएका छन् ।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमद, सञ्चालन प्रमुख रघुपति वेन्किटाकृष्णन, सञ्चालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखाका अन्य ग्राहकहरूको उपस्थिति थियो ।
श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जित्न सफल भएका हुन् । उनले लुलु एक्स्चेन्ज यूएईबाट ईसेवा मनी ट्रान्सफरमार्फत बैंक खातामा रेमिट्यान्स् पठाएका थिए ।
ईसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत कम्पनीले विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो । असोज ७ देखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।
कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गर्दै आएको छ । ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।
ईसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १ लाख ७५ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।