आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि कतारसँग सम्झाैता – Nepal Press

आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि कतारसँग सम्झाैता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय मानव अधिकार समिति, कतारका उपाध्यक्ष डा।मोहम्मद सैफ अल कुवारीबीच काठमाडौँमा एक समारोहकाविच हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रको अवधि तीन वर्षका लागि हुने आयोगका सहायक प्रवक्ता एवम उपसचिव श्यामबाबु काफ्लेले जानकारी दिए । उनका अनुसार समझदारीपत्रमा विशेष गरी आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि गुनासो तथा उजुरीको सम्बोधनमा सहयोग गर्ने उल्लेख छ । यस्तै दुवै पक्षले एक अर्काको देशमा रहेका नागरिकको मानव अधिकार र स्वतन्त्रताको उल्लङ्घनका घटनाबारे पारस्परिक जानकारी र सहयोग गर्ने रहेको छ ।

सूचना आदानप्रदान, श्रमिक, रोजगारदाता र प्रबन्धक, श्रमिक संघ र कुटनीतिक नियोगलाई आप्रवासी श्रमिकको अधिकारका सवाल, विद्यमान कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र आइएलओ श्रम महासन्धिबारे प्रशिक्षण सञ्चालन गर्ने एवम् आप्रवासी श्रमिकहरुलाई कानूनी सहयोगलगायतका विषय पनि समझदारी पत्रमा रहेका छन् ।

समझदारी पत्रमा उल्लिखित उद्देश्यको कार्यान्वयनका चरणको अनुगमन र मूल्याङ्कन गर्न र आवश्यकता अनुसार सहयोगका क्षेत्रको पहिचान गर्न दुवै पक्षका प्रतिनिधिबीच प्रत्येक ६ महिनामा नियमित वैठक बस्ने व्यवस्था रहेको छ ।

हस्ताक्षर समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारसम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कानून, संयन्त्र र नीति तथा योजना हुँदासमेत आप्रवासी श्रमिकले विभिन्न खालका समस्या भोग्नुपरिरहेको बताए ।

समारोहमा राष्ट्रिय मानव अधिकार समिति कतारका उपाध्यक्ष डा.मोहम्मद सैफ अल कुवारीले कतारमा हाल चार लाख भन्दा बढी नेपाली आप्रवासी श्रमिक रहेको बताउँदै समझदारी पत्रमा भएको हस्ताक्षरबाट उनीहरुको अधिकारका सम्बन्धमा सूचना आदानप्रदान गर्न र मानव अधिकारका सवालको सम्बोधनमा सहयोग पुग्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर