पाँच सचिवको सरुवा, केबल भण्डारीले पहिलोपटक मन्त्रालय पाउँदा एकनारायण बाहिरिए
काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राष्ट्रिय योजना आयोगमा कार्यरत सचिवको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने राष्ट्रिय योजना आयोगका सचिव केबलप्रसाद भण्डारीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।
सचिव भण्डारीको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ । उद्योग भने तत्काललाई खाली राखिएको छ । यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यहाँका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा पठाइएको छ ।
सहसचिवबाट सचिवमा बढुवा भएको लामो समय तथा अन्तिम समयमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
५ वर्षे सचिवको कार्यकाल अवधिमा ६६ प्रतिशत अर्थात तीन वर्ष चार महिनाको सयमावधि राष्ट्रिय योजना आयोगमै बिताएका छन् । सहसचिवबाट सचिवमा बढुवा भएपछि उनले १० महिना कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए । अब करिव १० महिना मात्रै सचिवको कार्यकाल रहेका भण्डारीको सरुवा भएन भने श्रम मन्त्रालयबाटै बिदाई हुनेछन् ।