राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध बालेनले फुकेको बिगुल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक चर्चामा छन्- यसपटक आफ्नो पदीय दायित्व र कार्यक्षेत्रभन्दा माथि उठेर गरेको ‘हर्कत’ का कारण । उनको एउटा सानो एक्सनले राष्ट्रियस्तरमा ठूलो हलचल पैदा गरिदिएको छ र यसको कम्पन छिमेकी देशहरुसम्म पुग्ने टड्कारो सम्भावना छ ।
बालेनले उत्पात केही गरेका होइनन्, आफ्नो कार्यकक्षमा टाँगेको नक्सा फेरेका मात्र हुन् । तर, यो यसकारण ‘बिग न्यूज’ बन्न गयो कि उनले नेपालको नक्सालाई ‘ग्रेटर नेपाल’ को नक्साले प्रतिस्थापन गरे । देशको राजधानी शहरका कमाण्डरले लिएको यो झोक्की निर्णयले धेरै ठूलो सन्देश बोकेको छ ।
भारतले आफ्नो नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को मुरल (भित्ते नक्सा) झुण्ड्याएपछि नेपालमा तीव्र विरोध भइरहेको थियो । नेपालका केही खण्डसमेत समावेश गरिएको कथित अखण्ड भारतका विरुद्ध सामाजिक सञ्जालदेखि सदनसम्म प्रतिरोधी आवाजहरु उठे । सार्वजनिक खपतका लागि धेरै नेताहरुले कडाभन्दा कडा अभिव्यक्तिहरु दिइरहँदा मेयर शाह भने मौन बसिरहेका थिए ।
जिम्मेवारीका हिसाबले उनले टिप्पणी गरिरहनुपर्ने विषय पनि होइन यो । न कसैले उनको धारणा मागेका थिए न त उनलाई कुनै कदम चाल्नुपर्ने दबाब थियो । तर, हिजो अचानक उनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा झुण्डिएको तस्वीर सार्वजनिक भयो । फेसबुकमा स्टाटस लेखेर वा भाषण गरेर होइन, बालेनले ‘टिट फर ट्याट’ को विधिबाट भारतलाई काउन्टर दिएका छन् । उनले आफ्नो ठाउँबाट अधिकतम गर्न सक्ने यही नै थियो । अरुले बोलेर छारो उडाए, बालेन सीधै एक्सनमा उत्रिए । उनको कदमले जनताको मनमुटु छोएको छ भने भारतले के सोच्ला भनेर सरकार र सत्ताधारी नेताहरुको मुटुमा ढ्याङ्ग्रो बजेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले हिजै भारतीय पत्रकारसँग भनेका थिए, ‘अखण्ड भारतको नक्सा नेपालले बुझिसक्यो, त्यहाँ कुनै विरोध छैन ।’
उनले प्रेस मिटमा यसरी बोलिरहँदा काठमाडौंका मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुण्डिएकोबारे अनभिज्ञ थिए । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको ‘एक्सप्लानेसन’ उनलाई थाहा थियो । प्रचण्डले भारतीय संस्थापनकै भाषामा भनेका थिए, ‘अखण्ड भारतको नक्सा राजनीतिक होइन, सांस्कृतिकमात्र हो ।’
फेसबुकमा स्टाटस लेखेर वा भाषण गरेर होइन, बालेनले ‘टिट फर ट्याट’ को विधिबाट भारतलाई काउन्टर दिएका छन् । उनले आफ्नो ठाउँबाट अधिकतम गर्न सक्ने यही नै थियो । अरुले बोलेर छारो उडाए, बालेन सीधै एक्सनमा उत्रिए । उनको कदमले जनताको मनमुटु छोएको छ भने भारतले के सोच्ला भनेर सरकार र सत्ताधारी नेताहरुको मुटुमा ढ्याङ्ग्रो बजेको छ ।
प्रधानमन्त्रीले नै यसरी आफ्नो देशको बचाउ गरिदिएपछि विदेशमन्त्री जयशंकरले ढुक्क भएर भने- ‘नेपालले कुरा बुझिसक्यो ।’ त्यसो त उनलाई नेपालका नेताहरुको ‘औकात’ पहिल्यैदेखि थाहा छ । नेपालले नयाँ संविधान जारी गर्ने बेला नेपाल आएर नेताहरुलाई कारिन्दालाई जसरी थर्काउने उनै थिए । नेपालका प्रधानमन्त्री प्रचण्ड भर्खरै भारत आउँदा यो नक्साको विषयमा चुँ…सम्म नगरेको पनि उनलाई ज्ञात थियो ।
त्यसो त प्रचण्डले भारत भ्रमणमा आफूले प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग नक्साबारे जिज्ञासा राखेको दाबी गरेका छन् । डोभलले यो सांस्कृतिक नक्सामात्र भएको बताएपछि निश्चिन्त बनेको र प्रधानमन्त्री तहमा कुरा गर्नुपर्ने आवश्यकता नठानेको उनको प्रष्टीकरण छ । कति कमजोर हो हाम्रो कूटनीति ? एकजना सल्लाहकारले ‘यस्तो हो’ भनेपछि सकियो ? त्यसको लिखत खोइ ? सल्लाहकारसँग पनि प्रधानमन्त्रीले कुरा उठाएकै थिए भन्ने प्रमाण खोइ ? छेउमा राखिएकी छोरीसँग सोध्न जाने ?
अखण्ड भारत : आरएसएसको ‘खतरनाक’ सोच
अखण्ड भारतको नक्सा तत्काल कार्यान्वयनमा आइहाल्ने अवश्य होइन । यो नक्सा उसले आफ्नो संसद भवनभित्र टाँग्दैमा नेपालको सार्वभौमिकता खतरामा परिहाल्दैन । उसले आफ्नो नक्साभित्र पार्नासाथ नेपालका भूभाग भारतमा गाभिँदैनन् । तर, यो नक्साको पृष्ठभूमि र सोच भने छिमेकी देशहरुका निम्ति संवेदनशील छ ।
‘अखण्ड भारत’ सत्तारुढ भारतीय जनता पार्टीको मातृ संगठन राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस) को घोषित एजेन्डा हो । दक्षिण एसियाली राष्ट्रहरु नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानमात्र होइन, म्यानमार र तिब्बतसमेत भारतको भूगोलभित्र रहनुपर्छ भन्ने अवधारणाको यसले वकालत गर्छ ।
पहिलोपटक भारतीय संसदमा टाँगिएको नक्सा ट्वीटरमा सार्वजनिक गरेका संसदीय मामलामन्त्री प्रल्हाद जोशीले कन्नडा भाषामा लेखेका थिए- अठोट स्पष्ट छ, अखण्ड भारत । उनको यो क्याप्सनले पनि पुष्टि हुन्छ कि यो नक्सामार्फत भारतले आफ्नो इतिहासमात्र देखाउन खोजेको होइन, भविष्यको लक्ष्यसमेत उजागर गरेको हो ।
इन्डियन एक्सप्रेसले जनाएअनुसार १६ इन्चको यो मुरल नयाँ संसद भवनको ‘संवैधानिक हल’ भित्र राखिएको छ । मुरलको आधिकारिक व्याख्यामा यति मात्र भनिएको छ, ‘२६५ देखि २३८ बीसीको बीचमा अशोकले बुद्धिज्मको सन्देश प्रवाह गरेका थिए र यसलाई धेरै ठाउँमा कुँदिएको थियो ।’
सन् २०१५ मा आरएसएसले बंगलादेश र पाकिस्तानलाई पनि भारतको सीमाभित्र राखेर नक्सा बनाएको थियो । त्यो नक्साका बारेमा प्रष्टीकरण दिँदै आरएसएसका नेता राम माधवले भनेका थिए, ‘आरएसएस विश्वास गर्छ कि एक दिन यी भूभागहरु, जुन ऐतिहासिक कारणहरुले ६० वर्षअघि छुट्टिए, भारतमै गाभिनेछन् र अखण्ड भारतको पुनरावृत्ति हुनेछ ।’
सन् २०१४ मा गुजरातको बीजेपी सरकारले आरएसएसका नेता दिनानाथ बात्राको किताब ‘तेजोमय भारत’ लाई सरकारी स्कुलहरुकै पाठ्यक्रममा समावेश गरेको थियो । उक्त किताबको एउटा च्याप्टरमा अफगानिस्तान, पाकिस्तान, बंगलादेश, नेपाल, म्यानमार र श्रीलंकासहितको ‘अखण्ड भारत’ बारे वर्णन गरिएको छ ।
प्रचण्डले भारत भ्रमणमा आफूले प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग नक्साबारे जिज्ञासा राखेको दाबी गरेका छन् । डोभलले यो सांस्कृतिक नक्सामात्र भएको बताएपछि निश्चिन्त बनेको र प्रधानमन्त्री तहमा कुरा गर्नुपर्ने आवश्यकता नठानेको उनको प्रष्टीकरण छ ।
इतिहासको अशोक साम्राज्यलाई मुरल नक्सामा देखाइएको भारतको आधिकारिक भनाइ छ । तर इतिहासका जानकार र सीमाविदहरुका अनुसार यो नक्सामा देखाइएको जस्तो भारत इतिहासमा कहिल्यै पनि थिएन । यो आरएसएसले भविष्यको लागि बनाएको काल्पनिक मानचित्र नै हो । नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । भगवान गौतम बुद्धको जन्मस्थललाई विवादित बनाउने प्रयास भारतले पहिल्यैदेखि गर्दै आएको हो । भारतभित्रै नक्कली कपिलवस्तुसमेत निर्माण गरिएको छ । तर, अहिलेको नक्सामा सक्कली लुम्बिनी र कपिलवस्तुलाई नै आफ्नो सीमाभित्र देखाउने धृष्टता गरेको छ भारतले ।
सरकारको कमजोर कूटनीति
नेपालमा तीव्र विरोध भएपछि पाकिस्तान-बंगलादेशमा पनि भारतीय मुरल नक्साबारे सार्वजनिक चर्चा हुन थाल्यो । बंगलादेशले नयाँ दिल्लीस्थित दूतावासलाई नक्साको विषयमा भारत सरकारलाई कूटनीतिक नोट दिन निर्देशित गरिसकेको छ । पाकिस्तानले पनि औपचारिक तवरबाटै आपत्ति जनाएको छ । तर, नेपाल सरकार भने मौनप्रायः छ । प्रधानमन्त्री प्रचण्ड भारतीय संस्थापनकै भाष्यलाई प्रचार गरिरहेका छन् ।
प्रचण्ड भारत भ्रमणमा जाँदा नै नक्साको विवाद उत्कर्षमा पुगिसकेको थियो । तर, उनले भारतीय प्रधानमन्त्रीसँग यो विषयमा छलफल गर्ने हिम्मत जुटाउन सकेनन् । नेपाल फर्केर फलाके- ‘सबै विषयमा मोदीसँग खुलस्त छलफल गरें, अहिलेसम्मकै ऐतिहासिक र उपलब्धिपूर्ण भ्रमण भयो ।’
भारतले आफ्नो देशभित्र कुन अड्डामा के के टाँग्छ भन्ने नेपालको सरोकारको विषय हुँदैनथ्यो । तर, संसद भवन जस्तो संवेदनशील स्थानमा नेपालका भूभाग समेटिएको नक्सा टाँगेको तथ्य बाहिर आइसकेपछि नेपाल यसमा प्रतिक्रियाविहीन रहन सक्दैन । नेपालले कालापानी-लिपुलेक-लिम्पियाधुरालाई आफ्नो सीमाभित्र समावेश गरेर चुच्चे नक्सा संसदबाट पारित गर्दा भारतले पत्र पठाएर आपत्ति जनाएको थियो, जबकि ती भूभाग नेपालकै हुन् । नेपालले भने एउटा विज्ञप्तिसम्म जारी नगरी ‘सांस्कृतिक नक्सा रहेछ’ भन्दै मौन बस्नु कमजोर कूटनीतिको द्योतक हो ।
त्यसो त नेपालको कूटनीति आज आएर अचानक कमजोर भएको होइन । नेपालले कागजमा असंलग्न परराष्ट्र नीतिलाई अंगीकार गर्दै आएको भए पनि व्यवहारमा नेताहरुले ‘त्वम् शरणम्’ को सिद्धान्त अनुशरण गरिरहेका छन् । सत्ता बाहिर हुँदा भारतको उग्र विरोध र सत्तामा जानासाथ भारतसामु लमतन्न पर्ने सबै पार्टी र नेताहरुको साझा चरित्र हो । राजा महेन्द्रपछि कुनै पनि राजनेता नेपालमा जन्मिएन, जसले नेपालमा भारतीय प्रभुत्वलाई इन्कार गरोस् । नाकाबन्दीकालमा केपी ओलीले अलिकति राष्ट्रवादी रुझान देखाएका थिए । तर, पछि उनी पनि अरु नेताहरुकै पंक्तिमा उभिन पुगिसकेका छन् ।
ग्रेटर नेपालको नक्सामार्फत बालेनले सरकारलाई समेत मार्गदर्शन गरेका छन्, यसरी पनि प्रस्तुत हुन सकिन्छ भन्ने । ‘टिट फर ट्याट’ पनि कूटनीतिको एउटा अंग हो । यदि नेपालले पनि आफ्ना महत्वपूर्ण निकायहरुमा ‘ग्रेटर नेपाल’को नक्सा झुण्ड्याउन थाल्यो भने त्यही नै भारतलाई सबैभन्दा कडा जवाफ हुनेछ । त्यसबेला भारतले नेपालसँग यसमा अब्जेक्सन गर्ने हक राख्दैन । गर्यो भने नेपालसँग रेडिमेड जवाफ रहनेछ, यो राजनीतिक नभएर ऐतिहासिक नक्सा हो, हामीले आफ्नो इतिहास सम्झाउन राखेका हौं ।
पेशेवर आलोचकहरुका नाममा
बालेनको कदमले आमजनताको मन जितेको छ । तर, सामाजिक सञ्जालमा एकथरिले उनको खोइरो खन्न थालिसकेका छन् । यी पेशेवर आलोचक हुन् ।
इन्डियन एक्सप्रेसले जनाएअनुसार १६ इन्चको यो मुरल नयाँ संसद भवनको ‘संवैधानिक हल’ भित्र राखिएको छ । मुरलको आधिकारिक व्याख्यामा यति मात्र भनिएको छ, ‘२६५ देखि २३८ बीसीको बीचमा अशोकले बुद्धिज्मको सन्देश प्रवाह गरेका थिए र यसलाई धेरै ठाउँमा कुँदिएको थियो ।’
नेपालमा एउटा बलियो तप्का छ, जो राष्ट्रवाद भन्नेवित्तिकै मुख अमिलो बनाउँछ र बुरुक्क उफ्रिन्छ । भारु डकार्दै राजा महेन्द्रलाई गाली गर्ने सीके लाल मार्काका ‘बुद्धिजीवी’ देखि आफूलाई अतिरिक्त चेतनायुक्त र उत्तर आधुनिक ठान्ने ट्विटर केन्द्रित टपर्टुय्याँ हरू यो तप्कामा पर्छन् । इतिहास-भूगोलको कुरा गर्नु, धर्म-संस्कृतिको संरक्षण गर्नु, आफ्नो देशमाथि गौरव गर्नु यी टपर्टुय्याँहरुलाई वाहियात लाग्छ । जातीयता र साम्प्रदायिकतालाई प्रवर्द्धन गर्नु, हिन्दू धर्मको विरोध गर्नु, नागरिकमा देशप्रति निराशा जगाउनु यिनीहरुको विलासिता र दिनचर्या हो ।
बालेनले ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेपछि यो तप्काका सदस्यहरु भरङ्ग भएका छन् । बालेनलाई ‘बच्कना देखाएको, राजनीति-कूटनीति नबुझेको, तमासा गरेको ह्यानत्यान आरोप लगाएर ढिंडौरा पिटिरहेका छन् । तर, यी मुठ्ठीभरका जमातको प्रतिक्रियाबाट बालेनले आत्तिनुपर्ने केही छैन । उनको निशाना सही ठाउँमा छ ।
त्यसो त कतिपय तटस्थ व्यक्तिहरुले पनि ‘भएकै देश जोगाउन नसकिएका बेला ग्रेटर नेपालको असम्भव सपना किन देख्ने ?’ भन्ने खालका तर्क गरिरहेका छन् । हो, अहिले पनि नेपालको जमिनमा आँखा गाड्न नछाडेको भारतले पहिल्यै निलिसकेको जमिन फिर्ता गर्ला भन्ने कल्पना गर्न सकिन्न । त्यसमाथि यी आत्मसमर्पणवादी नेताहरुले भारतसँग यो मुद्दा उठाउलान् भन्ने आशा राख्नु नै हास्यास्पद हुन्छ ।
तर, यसको अर्थ ग्रेटर नेपाल कुनै अतार्किक एजेन्डा होइन । पहिलेका बेलायती उपनिवेशहरु सबै फिर्ता भइसक्दा बेलायती उपनिवेशमै गाभिएका नेपालका भूभागहरु पनि स्वतः फिर्ता हुनुपर्ने थियो । सन् १९४७ मा भारत र पाकिस्तानलाई स्वतन्त्र गर्दा बेलायतले नेपालका भूभागहरु नेपाललाई नै सुम्पिएर जानुपर्थ्यो । तर, त्यसबेला नेपालको तर्फबाट कुनै पनि बलियो पहल नहुँदा ती भूमि भारतमै स्थायी रुपमा गाभिन पुगे । त्यसयता पनि कहिल्यै ती भूभाग फिर्ता माग्ने कुरा नेपालको प्राथमिकतामा परेन । भोलिका दिनमा नेपालमा कुनै दूरदर्शी र कूटनीतिक चातुर्यता भएको नेता शक्तिमा आएर भारतसँग यो विषयमा नेगोसिएसन गर्न खोज्यो भने आधारहरु प्रशस्त छन् ।
नेपालले पनि आफ्ना महत्वपूर्ण निकायहरुमा ‘ग्रेटर नेपाल’को नक्सा झुण्ड्याउन थाल्यो भने त्यही नै भारतलाई सबैभन्दा कडा जवाफ हुनेछ । त्यसबेला भारतले नेपालसँग यसमा अब्जेक्सन गर्ने हक राख्दैन । गर्यो भने नेपालसँग रेडिमेड जवाफ रहनेछ, यो राजनीतिक नभएर ऐतिहासिक नक्सा हो, हामीले आफ्नो इतिहास सम्झाउन राखेका हौं ।
तर, अहिले बालेनले ग्रेटर नेपालको नक्सा राखेर भारतमा गाभिएका नेपालको भूभाग खोसिहाल्नुपर्ने भनेका होइनन् । भारतले आफ्नो संसद भवनमा सांस्कृतिक भन्दै अखण्ड भारतको नक्सा राखेपछि त्यसलाई काउन्टर दिएकामात्र हुन् उनले । आफ्नो इतिहासको गौरवपूर्ण झलकलाई जहाँ पनि प्रदर्शन गर्न सकिन्छ । जनताले अहिले फेसबुकका वालमा सजाउन थालिसकेका छन् ।
बालेनले बालेको झिल्को
बालेन ‘नेता’ होइनन् । उनीसँग राजनीति/कूटनीतिको अनुभव पनि छैन । काठमाडौं महानगर प्रमुखका रुपमा उनको समग्र कार्यसम्पादन औसत छ । केही राम्रा काम गरेका छन्, केही गलत पनि । अहिले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दैमा उनलाई ‘महान राष्ट्रवादी’ को उपमा दिइहाल्न पनि सकिन्न । किनकि उनको वास्तविक परीक्षा तब सुरु हुन्छ, जब केन्द्रको ‘पावर’ मा पुग्छन् । जब उनलाई ‘उता’ बाट दबाब र प्रभाव आउन थाल्छ, त्यसलाई कसरी ट्याकल गर्छन् भन्ने हेरिनेछ । अहिलेलाई कम्तिमा आशाको किरण चाहिँ उनले जगाएका छन् । एउटा देशप्रेमी नेताको छविमा प्रस्तुत भएका छन् ।
अन्य केही कुरामा पनि बालेन अलिकति पृथक देखिए । पचासौं वर्ष राजनीति गरेर खारिएका नेताभन्दा बढी वैचारिक स्पष्टता बालेनमा पाइएको छ । जस्तो कि उनले आफूलाई सुरुबाटै प्रदेश संरचनाको विपक्षमा उभ्याए । बोलीमा मात्रै होइन, उनले गत संघीय चुनावमा प्रदेशका उम्मेदवारलाई भोटै हालेनन् । बालेनले गत जेठ १५ मा आयोजित गणतन्त्र दिवसको समारोह अर्थपूर्ण रुपमा बहिष्कार गरे । सरकारसँगको क्षणिक रिस र आवेगमा उनले यो निर्णय लिएका थिएनन् । गणतन्त्रविरोधी भएर पनि होइन । हरेक वर्ष उत्सव मनाउनुपर्ने गरी गणतन्त्रले जनतालाई के डेलिभरी दिएको छ र ? भन्ने उनको प्रश्न हो । उनको प्रश्नमा आमजनताको भावना मिसिएको छ । विकृति नै विकृति थोपरेर, देशको आत्मसम्मानलाई रसातलमा पुर्याएर मनाइने गणतन्त्र दिवस जनताका लागि तमासामात्रै हो ।
बालेनले पनि सच्चिनुपर्ने ठाउँहरु धेरै होलान् । तर, अहिलेको कदममा उनलाई सबैले समर्थन गरौं । उनले राष्ट्रप्रेमको सानो झिल्को सल्काएका छन् । युवा पुस्तामा आफ्नो देशको इतिहासप्रति चासो जगाइदिएका छन् । कुनै बेला २ लाख ४ हजार ९१७ वर्ग किलोमिटरमा फैलिएको नेपाल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा कसरी खुम्चियो भन्ने नयाँ पुस्ताले जान्नुपर्छ । ग्रेटर नेपालको नक्साले सम्झाइरहनेछ कि, नेपालको ५७ हजार वर्ग किलोमिटर जमिन भारतको पेटमा छ ।
राजा महेन्द्रपछि कुनै पनि राजनेता नेपालमा जन्मिएन, जसले नेपालमा भारतीय प्रभुत्वलाई इन्कार गरोस् । नाकाबन्दीकालमा केपी ओलीले अलिकति राष्ट्रवादी रुझान देखाएका थिए । तर, पछि उनी पनि अरु नेताहरुकै पंक्तिमा उभिन पुगिसकेका छन् ।
नेपालमा एउटा बलियो तप्का छ, जो राष्ट्रवाद भन्नेवित्तिकै मुख अमिलो बनाउँछ र बुरुक्क उफ्रिन्छ । भारु डकार्दै राजा महेन्द्रलाई गाली गर्ने सीके लाल मार्काका ‘बुद्धिजीवी’ देखि आफूलाई अतिरिक्त चेतनायुक्त र उत्तर आधुनिक ठान्ने ट्विटर केन्द्रित टपर्टुय्याँ हरू यो तप्कामा पर्छन् । इतिहास-भूगोलको कुरा गर्नु, धर्म-संस्कृतिको संरक्षण गर्नु, आफ्नो देशमाथि गौरव गर्नु यी टपर्टुय्याँहरुलाई वाहियात लाग्छ । जातीयता र साम्प्रदायिकतालाई प्रवर्द्धन गर्नु, हिन्दू धर्मको विरोध गर्नु, नागरिकमा देशप्रति निराशा जगाउनु यिनीहरुको विलासिता र दिनचर्या हो ।