हिमालमाथि भेटिएका दोर्जे र गगन
५२०० मिटर अग्लो उपल्लो डोल्पाको फूलबारी पास (मेन्दोकतिङ-ला) मा अक्सिजनविनाको बतास हरर चलिरहेको छ । बतासका कारण काठमाडौंबाट एक साता लगाएर घर गइरहेका फुर्वा शेर्पा आफूले बोकेको झोलासँगै झण्डै हिउँमा पछारिए ।
वातावरण विज्ञान पढिरहेका फुर्वालाई आफ्नो घर भिजेर पुग्न काठमाडौंबाट नौ दिन जति लाग्छ । काठमाडौंबाट नेपालगञ्ज, सुर्खेत, दुनैको सुलिगाडसम्म गाडीमा पुग्छन् । त्यहाँबाट दुई दिन हिँडेर से-फोक्सुण्डो पुग्छन् । फोक्सुण्डोबाट एक दिन हिँडेर लार्चा, लार्चाबाट एक दिन हिँडेर से गुम्बा । अनि से गुम्बाबाट एक दिन हिँडेपछि मात्रै भिजेरको घरको आँगन टेक्छन् ।
फूलबारी पासमा झण्डै लडेका फुर्वा छेवै भएर एउटा घोडा थरर काँप्दै हिउँमा डुबेको खुट्टा चलाइरहेको छ । नाकै भाँचिएला जस्तो उकालो र ओरालोमा जसरी भए पनि हिँड्नुबाहेक अर्को विकल्प घोडासँग छैन । घोडाले आराम गर्न सँगै हिँडेका मान्छेहरुले आराम गर्नुपर्छ पहिला । रुखको नामोनिशान नभएको पठारमा दुई माना मकैको आशमा २० वर्षदेखि हिँडिरहेको छ घोडा !
राम्रोसँग दानापानी नपुगेको गाढा रातो रङको घोडाको ढाडमा तीन वटा झोला र तीन वटै स्लिपिङ ब्याग छन् । दुई वटा ल्यापटप छन् । तीनै झोलाको तौल करिब ३५ किलो हुनुपर्छ । से-फोक्सुण्डोबाट झोला बोकेर हिँडेको घोडा आफ्नो मालिक दोर्जे बुढाको पछिपछि लागेर फूलबारी पास पुगेको हो ।
घोडाले १३ वर्षअघि नयाँ मालिकको रुपमा दोर्जेलाई पाएको थियो । दोर्जेलाई मालिकको रुपमा पाएसँगै घोडाले आफ्नो पहिचान पनि पाएको थियो । दोर्जेले नाम दिएका थिए, ‘गगन’ ।
दोर्जेले जीवनमा पाएका सफलता, असफलताको साक्षी हो गगन । दोर्जेले गरेको संघर्ष र पसिनाको प्रत्यक्षदर्शी हो गगन । दोर्जे हाँस्दा या रुँदा कोही सँगै हुन्थ्यो भने त्यो गगन नै हो ।
त्यसवेला सात वर्षको गगन अहिले २० वर्षको भइसकेको छ । ५५ हजार खनखनी गनेर आफ्नो बनाएको गगन अझै १० वर्षसम्म हिउँ छिचोल्दै अगाडि बढ्छ भन्ने विश्वास दोर्जेमा छ । यदि कोही मान्छे गगनको नयाँ मालिक बन्न चाहे के हुन्छ ?
दोर्जेको लाइन स्पष्ट छ, ‘यो गगन मरे पनि मसँगै मर्छ । मेरो सबैथोक सकियोस् । तर, गगनलाई बेच्दिनँ ।’
दोर्जे र गगनको सम्बन्ध घोडा र मालिकको मात्रै होइन, भावनाको पनि हो । दोर्जेले जीवनमा पाएका सफलता, असफलताको साक्षी हो गगन । दोर्जेले गरेको संघर्ष र पसिनाको प्रत्यक्षदर्शी हो गगन । दोर्जे हाँस्दा या रुँदा कोही सँगै हुन्थ्यो भने त्यो गगन नै हो ।
०००
से-फोक्सुण्डो तालसँगै जोडिएको गाउँ रिग्मोमा हुर्किए दोर्जे । ३७ वर्ष पुगेका उनले सानैमा विवाह गरे । दोर्जेका दाइ आयुर्वेदिक चिकित्सक छन् । उनको पनि विवाह भइसकेको छ । कान्छो भाइले भने विवाह गरेका छैनन् ।
जेठा र माइलाले विवाह गरेपछि घरमा सानोतिनो किचलो सुरु भयो । घरभित्रको मसिना उल्झनहरु अंशबन्डाको विन्दुसम्म पुग्यो । ३६ सय मिटर माथिको रिग्मोमा फल्ने भनेको जौ, गहुँ र आलु न हुन् ! बारीमा फलेका अन्नले वर्षभरि भरपेट खान धौ धौ थियो । केही सामान चाहिए पूरा एक दिन हिँडेर दुनै झर्नुपर्थ्यो । फेरि केही सामान चाहिए ८-१० दिन हिँडेर तिब्बत पुग्नुपर्थ्यो ।
घरायसी सामानसँगै अन्य मान्छेलाई चाहिने सामानहरुको व्यापारमा पनि हात हालेका थिए दोर्जेका बुवाले । दोर्जे पनि बुवासँगै कहिले तिब्बत त कहिले दुनै आउने जाने गर्थे । उनीहरुसँग केही थान चौरी थिए । सामानहरु बोक्ने जिम्मा त्यही चौरीको ढाडमा आइलाग्थ्यो ।
से-फोक्सुण्डोबाट रोहेज, सागर र मसँगै गगनलाई झोला बोकाएर लार्चा हिँडेका दोर्जे टुकट्याक्सा खोला किनारमा बिसाएर टाउकोको टोपी फुकाल्दै विगतको पोको फुकाउँछन्, ‘घरमा अंशबन्डा हुने भयो । दाइभाउजू छुटिनुभयो । म पनि छुट्टिएँ । मेरो छोरा र छोरी भइसकेका थिए । हामीले घरमा भएका सामान, सम्पत्तिको अंशबन्डा गर्यौं ।’
अंशबन्डामा दोर्जेलाई तीनचार वटा चौरी पर्यो । जेठालाई पनि बराबरी परे । जग्गाको त हिसाब नै भएन । किनभने जग्गाले होइन, बालबच्चा र जहानको पेट चौरीको ढाडमा चढेको भारीले भरिन्थ्यो ।
कान्छोले विवाह गरेको थिएन । आठ कक्षामा पढ्दै थियो । दोर्जेले पढ्न पाएका थिएनन् । तर, पढ्नुपर्छ, पढेको मान्छेको जहाँ पनि अलि बढी भूमिका हुन्छ भन्ने बुझेका थिए । उनले घरमा प्रस्ताव गरे, ‘कान्छा मसँगै बस्छ । उसको चौरी मै राख्छु । उसले पढुञ्जेल म पढाइदिन्छु ।’
गगनलाई हेर्दै दोर्जेले हामीलाई भने, ‘यो (गगन) थाकेको मलाई ठ्याक्कै थाहा हुन्छ । यो थाकेपछि बाटो नहेरी मेरो अनुहारमात्रै हेरेर हिँड्छ । अनि मैले उसलाई एकछिन आराम दिनुपर्छ ।’
तर, परिवारले दोर्जेमाथि नै प्रतिप्रश्न तेर्साए, ‘तैंले आफ्नै जहान परिवार त कसरी पाल्छ भनेर थाहा छैन । कान्छालाई कसरी पढाउँछस् ?’
कान्छालाई धेरै पढाउने दोर्जेको चाहनालाई घरभित्रै हिउँले पुरिदियो । छोरा, छोरी र जहान लिएर १३ वर्षअघि दोर्जे घरबाट बाहिरिए । रिग्मोमै सानो कुटुरो बनाए । अंशमा परेको चौरीलाई पठारतिर हिँडाइरहे । पेट पाल्ने जोहो र बहाना खोजिरहे । कहिले तिब्बत, कहिले दुनै त कहिले यार्साको खोजीमा पाटन हान्निइरहे ।
त्यही वेला दोर्जेको घरमा भित्रिएको थियो गगन !
०००
दोर्जेको कथा सुन्दै टुकट्याक्सा खोला-थेओतिङ हुँदै प्यारीकापुवा (पाटन) र लार्चा हुँदै फूलबारी जाने दोबाटोमा थचक्क बिसाउँछौं । हामी एकछिन बिसाएको मौकामा बाटो छेउको भित्तामा हिउँले मारिसकेका चउरमा चर्न थाल्छ गगन । हामी पानी पिउन थाल्छौं । खाजा खान थाल्छौं ।
यसैवेला से-फोक्सुण्डोदेखि हामीसँगै हिँडेका भिजेरका फुर्वाका बुवा भेटिन्छन् । फुर्वाका बुवा भिजेरबाट ढेड दिनअघि हिँडेका थिए । माइली छोरीलाई सुलिगाडसम्म पुर्याएर गाडी चढाउन हिँडेका फुर्वाका बुवा र फुर्वा एक अर्कासँग टाउको ठोक्काउँछन् । केही दिनको अन्तरमा भेट हुँदा टाउको ठोक्काउने चलन रहेछ उपल्लो डोल्पामा ।
टाउको ठोक्काएर एक अर्कालाई राम्रोसँग हेराहेर गरे बाउछोराले । केही अञ्जान मान्छेहरु वरिपरि भएकाले धेरैकुरा त आँखाले नै बोले । बाउले छोरालाई र छोराले बाउलाई केही सवाल आँखाले नै सोधे । दुवैले केही जवाफ आँखाले नै दिए ।
फुर्वाकी दिदी दार्जिलिङमा आनी पढ्छिन् । केही दिनको बिदामा घर आएका तिनै छोरीलाई गुम्बा पुर्याउँदै गर्दा छोरो चाहिँ घर फर्कंदै थियो । खाजा खाएर हामी हिँडेपछि फुर्वा, फुर्वाकी दिदी र बुवा केही क्षण बसे । सायद घरव्यवहारका बारेमा भलाकुसारी गरे ।
हामी उकालो लाग्यौं । उकालो पनि सीधा ठाडो उकालो ! केही हिँडेपछि गगन एकछिन रोकिन्थ्यो । दोर्जे पनि रोकिन्थे । अनि गगनलाई हेर्दै दोर्जेले हामीलाई भने, ‘यो (गगन) थाकेको मलाई ठ्याक्कै थाहा हुन्छ । यो थाकेपछि बाटो नहेरी मेरो अनुहारमात्रै हेरेर हिँड्छ । अनि मैले उसलाई एकछिन आराम दिनुपर्छ ।’
०००
भनिन्छ, प्रायः घोडा र कुकुर जहाँ छुटे पनि त्यो घर नै फर्कन्छ । तर, गगन भने १३ वर्षदेखि दोर्जेसँग छुटेका छैनन् । रातिको समयबाहेक बिहानदेखि बेलुकासम्म दोर्जेसँग हुने भनेकै गगन हो । दोर्जेले काट्ने हरेक पास गगनले काटेकै हुन्छ ।
‘यहाँ आएकाहरु पनि यार्साको ठेकेदारहरुबाट पहिल्यै पैसा लिएर खाएर आएका हुन् । उनीहरुले टिपेको यार्सा सबै ठेकेदारले लैजान्छन् । नाफा पनि ठेकेदारलाई नै हुन्छ ।’
अंशमा परेका चौरीहरु बेचेर दोर्जेले एक सेट अर्थात् सात वटा खच्चड किने । सातवटा खच्चड दुनैबाट भारी बोकेर से-फोक्सुण्डो, फोक्सुण्डोबाट साल्दाङसम्म पुग्छन् । गगन पनि दोर्जेलाई ढाडमा राखेर खच्चडको पछि लाग्छ । खच्चडको गोठालो दोर्जे हो कि गगन ?
दोर्जे हाँस्दै बोल्छन्, ‘यो (गगन) अलि बढी खच्चडको गोठालो हो । म चाहिँ अलि कम । राति राति पाटनमा चर्न छाडिदिँदा गगन नै खच्चडहरुसँगै हुन्छ ।’
गफिँदै उकालो कटेपछि केही तेर्सो आउँछ । अनि लार्चा आइपुग्छ । जहाँ दोर्जेकी श्रीमती पालमा बसेकी छन् । त्यहाँ २०-२२ पाल छन् । कोही जाजरकोटबाट आएका त कोही हुम्लाबाट । सबै यार्सा टिप्न आएका हुन् । तर, यार्सा पहिला जस्तो पाइन छाडेको छ । दिनभरि खोज्दा बल्लतल्ल ५-७ वटा यार्सा पाउँछन् ।
दोर्जेकी श्रीमती बसेको पालमा उनीहरुको पसल पनि छ । केही प्याक चामल, नून, तेल छन् । सबै सामान दोर्जेका खच्चडहरुले दुनैबाट बोकेर ल्याएका हुन् । ती सामान यार्सा टिप्न आएकाहरुका लागि हो । दोर्जेले यसरी व्यापार गर्न थालेको पाँच-सात वर्ष भइसक्यो ।
‘पहिला त ५०-६० वटा पाल थिए । अचेल यार्सा नै पाइन छाड्यो पहिला जस्तो । मान्छे कम आउँछन्’, दोर्जे चामलको प्याक गन्दै गुनगुनाउँछन्, ‘यहाँ आएकाहरु पनि यार्साको ठेकेदारहरुबाट पहिल्यै पैसा लिएर खाएर आएका हुन् । उनीहरुले टिपेको यार्सा सबै ठेकेदारले लैजान्छन् । नाफा पनि ठेकेदारलाई नै हुन्छ ।’
यार्सा टिप्नेहरु ठेकेदारको निगरानीमा हुन्छन् । उनीहरुले पहिल्यै एड्भान्स पैसा लिएर चलाइसकेका हुन्छन् । ४ हजार मिटरदेखि माथि पाइने यार्सा जसोतसो महिना दिन खोज्दा ठेकेदारको एड्भान्स तिर्नमात्रै ठिक्क हुनेरहेछ ।
०००
भोलिपल्ट ११ सय वर्ष पुरानो से गुम्बासम्मका लागि गगन, दोर्जे र हामी हिँड्यौं । दुई माना जति मकै खाएपछि गगन दोर्जेको पछिपछि लागेर हिँड्छ । हामी दुवैलाई पछ्याउँछौं ।
‘पहिला पहिला यही गगनसँगै यार्सा खोज्न निस्कन्थें । एक दिनमा डेढ सयसम्म पनि टिपेको छु’, सीधा उकालोमा एक फेर खुइय गरेर बोल्छन् दोर्जे ।
उनलाई स्कुलको भवन निर्माण गरिदिनु भनेर काठमाडौंलाई नै गुहार्न मन छ । तर, कसरी गुहार्ने ? दोर्जे सरकारी प्रक्रियाबारे अनभिज्ञ छन् । बरु भन्छन्, ‘तपाईंहरुलाई एउटा निवेदन लेखेर दिन्छु । त्यसलाई मन्त्रालयमा पुर्याइदिनुस् है !’
रिग्मो प्रहरी चौकीका असई लोकेन्द्र परियारका अनुसार यस वर्ष से-फोक्सुण्डोको बाटो हुँदै जानुपर्ने आधा दर्जन पाटनमा जम्माजम्मी साढे चार सय मान्छेमात्रै गएका छन् । १५-२० जना त यार्सा नपाएर घर फिरिसके । जब कि केही वर्षअघिसम्म दशौं हजार मान्छे यार्सा टिप्न जाने गर्थे ।
०००
दोर्जे रिग्मोको गोविन्द विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । अध्यक्ष पनि उनले चाहेर होइन, गाउँलेले नै उनलाई चुनेका हुन् । अहिले वेलावेला दोर्जेलाई अध्यक्ष पदको गह्रौं जिम्मेवारीले थिचे झैं हुन्छ । स्कुलमा जम्मा दुई तीन जनामात्रै विद्यार्थी छन् । स्कुलको भवन भत्किएको छ । भवन बनाउनलाई गाउँपालिकामा कुरा उठाएका छन् । तर, सुनुवाइ भएको छैन । गाउँपालिकाको कार्यालय माथि साल्दाङमा छ । जहाँ पुग्न तीन दिन त हिँड्नुमात्रै पर्छ ।
उनलाई स्कुलको भवन निर्माण गरिदिनु भनेर काठमाडौंलाई नै गुहार्न मन छ । तर, कसरी गुहार्ने ? दोर्जे सरकारी प्रक्रियाबारे अनभिज्ञ छन् । बरु भन्छन्, ‘तपाईंहरुलाई एउटा निवेदन लेखेर दिन्छु । त्यसलाई मन्त्रालयमा पुर्याइदिनुस् है !’
स्कुलको भवन बनाउनमात्रै संघर्ष गरिरहेका छैनन् दोर्जे । से-फोक्सुण्डो ताल छेवैमा दोर्जेको अलिकति जग्गा पनि छ । से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ताल वरिपरि दुई सय मिटरसम्म घरजग्गा बनाउन नमिल्ने भनेको छ ।
२०५२ सालमा नापी भएको उक्त क्षेत्रमा रिग्मोका दर्जनौं गाउँलेहरुको जग्गा परेको छ । उनीहरुको माग छ, ‘तालको जग्गा निकुञ्जले लिँदा हुन्छ । यसले तालको संरक्षण पनि हुन्छ । तर, हामीलाई त्यसको सट्टा छेवैका ठाउँहरुमा अर्को जग्गा दिनुपर्छ ।’
फूलबारी पासको घुँडाघुँडाको हिउँ र मान्छेलाई छिर्के लगाएर लडाउने खालको बतास पार गरेर हामी सीधा ओरालो झर्छौं । साँझसम्म त से गुम्बा जसरी पनि पुग्नै छ । बाटोमा बस्ने ठाउँ कतै छैन । अनकण्टारमा बास बस्ने जम्मा एक ठाउँ हो से गुम्बा ।
तैपनि दोर्जेहरुको आवाज सुन्नुपर्ला कि भनेर निकुञ्ज कानमा तेल हालेर बसेको छ ।
०००
फूलबारी पासको घुँडाघुँडाको हिउँ र मान्छेलाई छिर्के लगाएर लडाउने खालको बतास पार गरेर हामी सीधा ओरालो झर्छौं । साँझसम्म त से गुम्बा जसरी पनि पुग्नै छ । बाटोमा बस्ने ठाउँ कतै छैन । अनकण्टारमा बास बस्ने जम्मा एक ठाउँ हो से गुम्बा ।
से-फोक्सुण्डोबाट हिँडेको केही किलोमिटरबाट फोनमा नेटवर्क छैन । आहै ! भर्चुअल दुनियाँमा मान्छेहरुले ओकलेका कुण्ठा र अहंकारको बान्ता देख्नु-पढ्नुभन्दा यसैगरी हिँड्नु नै ठीक !
दोर्जे भने गगनलाई डोर्याउँदै उकालो-ओरालो नभनी हामीसित बोलिरहेका छन् । चारजना बच्चामध्ये जेठो छोरो काठमाडौंमै स्वयम्भूमा लामा पढिरहेका छन् । दुई छोरी र सानो छोरा गाउँभन्दा तलको स्कुल पढिरहेका छन् ।
१४ वर्षकी छोरीलाई नर्स पढाउन मन छ दोर्जेलाई । सकेसम्म नर्स पढेर गाउँमै सेवा देओस् भन्ने सोच छ । त्यसैले नर्सको भविष्य, पढाइको खर्च, समयबारे लगातार सोधिरहेका छन् हामीलाई । अनि वेलावेला आफ्नो गाउँ रिग्मोसमेत सम्झाइरहन्छन्, ‘हाम्रो गाउँमा पढेलेखेका मान्छे असाध्यै कम छन् । मैले पढ्न पाइनँ । अहिलेको पुस्ताले राम्रोसँग पढेर हाकिम भइदिए हुने ।’
से-गुम्बा पुग्दा रातको नौ बजिसकेको थियो ।
भोलिपल्ट बिहान साल्दाङसम्मका लागि हामीलाई अर्को घोडा खोजिदिएर दोर्जे फर्किए । फर्किंदै गर्दा भने, ‘रिग्मोबाट मंसिरदेखि फागुनसम्म जाडो छल्न तल छेक्पातिर जान्छौं । यो (गगनलाई थपथपाउँदै) पनि जान्छ । तर, यसपटक चाहिँ गइन्न होला । सानो होम-स्टे छ मेरो । तपाईंहरुसँग पनि सुरुमै चिनजान भएको भए मेरैमा बस्नुहुन्थ्यो होला । अर्कोपटक चाहिँ आउनुभयो भने मेरो होम-स्टेमा बस्नुहोला है !’
०००