बजेट सिद्धान्त र प्राथमिकताभन्दा उल्टो आयो : पूर्व अर्थमन्त्री – Nepal Press

बजेट सिद्धान्त र प्राथमिकताभन्दा उल्टो आयो : पूर्व अर्थमन्त्री

काठमाडौं । नयाँ बजेटको छलफलमा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सिद्धान्त र प्राथमिकतासँग मेल नखाएको बताए ।

उनले भने, ‘देशको आर्थिक समस्यालाई यो बजेटले बुझेको छैन । नेपालको अर्थतन्त्र आर्थिक मारमा परेको छ । तर, नयाँ बजेटले अर्थतन्त्रलाई पुनर्जीवन दिन सकेको छैन । सरकारले लिएको आर्थिक नीतिले सुधार हुँदै गएको भनेर भ्रम छर्ने काम भएको छ । ३२ सय अंक पुगेको दैनिक २० अर्बको कारोबार भएको थियो । अहिले नेप्से परिसूचक घटेर १ हजार ९५० वरपर र २ अर्बको कारोबार भइरहेको छ । तर, पुँजी बजारको नकारात्मक परिदृश्यको जिम्मा लिने कोही छैन ।’

नीति तथा कार्यक्रम उल्लेख गरिएका कयौँ कार्यक्रम र योजनाहरूलाई बजेटमा नसमेटिएको उनले बताए । हिउँदमा ३० र बर्खा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको उनकाे भनाइ छ ।

२.१६ प्रतिशतभन्दा कमको आर्थिक वृद्धिदर, ७.५ प्रतिशतको उपभोक्ता मुद्रा स्फिती दर, ५४ अर्बभन्दा बढीको चालू खाताघाटा, चालु आर्थिक वर्षको अन्तसम्म करिब २ खर्बको हाराहारीमा सञ्चित कोष ऋणात्मक हुने पौडेलले बताए ।

उनले भने- ‘पछिल्ला दुई आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकको कुलग्रास्त उत्पादनको ऋणात्मक वृद्धिदर, आर्थिक क्रियाकलापमा संकुचन, रोजगारीका अवसरमा ठूलो मात्रामा ह्रास, आकासिँदो मूल्य वृद्धि लगायतका नकारात्मक आर्थिक परिसूचकहरूले नेपाली अर्थतन्त्र मन्दीका मारमा परेको छ । तर बजेटले यथार्थहरूलाई स्वीकार गर्न सकेको छैन ।’

महँगा बाइकको कर घटाएर धेरैले प्रयोग गर्ने बाइकको कर वृद्धि भएको उल्लेख गर्दै उनले निजी क्षेत्र बजेटको विरुद्धमा आन्दोलनमा नै उत्रिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *