पूर्वअर्थमन्त्री पौडेल भन्छन्- चालू खर्च घटाउने दाबीलाई बजेट आफैँले खण्डन गर्‍यो (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्री पौडेल भन्छन्- चालू खर्च घटाउने दाबीलाई बजेट आफैँले खण्डन गर्‍यो (भिडिओ)

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौती गर्ने प्रतिवद्धताविपरीत बजेट ल्याएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताए । सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको बताए ।

त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष औंल्याए । उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी गरे ।

पौडेलले भने, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालू खर्च घटाउने भनियो । चालू आर्थिक वर्षको चालू खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्बले बढी छ । यसरी चालू खर्च घटाउने दाबीलाई बजेट स्वयम्‌ले खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालू आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्व ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ सभामुख महोदय । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ सभामुख महोदय ।’

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर