विदेसिने खेलाडीहरुले सबैभन्दा बढी पीडा दिएका छन् : कप्तान लिम्बू (भिडिओ) – Nepal Press

विदेसिने खेलाडीहरुले सबैभन्दा बढी पीडा दिएका छन् : कप्तान लिम्बू (भिडिओ)

काठमाडौं । भारतको बेङलोरमा असार ६ देखि १९ गतेसम्म हुने साफ च्याम्पियनसिप २०२३ खेल्न जाने नेपाली फुटबल टीमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज औपचारिक रुपमा बिदाइ गर्‍यो ।

नेपाली टीम जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट भारत जानेछ । साफमा नेपालको प्रतिनिधित्व गरेर खेलेका सबैभन्दा अनुभवी खेलाडी हुन् कप्तान किरणकुमार लिम्बू । उनले साफ खेल्न जानुअघि नेपाली फुटबलको अहिलेको अवस्था हेर्दा विदेसिने खेलाडीले सबैभन्दा बढी पीडा दिएको बताए ।

‘अहिले खेलाडी विदेसिएर गाह्रो छ । नेपाली फुटबल जुन बाटोमा गएको छ, त्यो सम्झिँदा दुःख लाग्छ । कोही खेलाडी विदेसिँदा अब के हुन्छ भन्ने मनमा डर लाग्छ’, उनले भने, ‘बल्ल टीम बने जस्तो हुन्छ । एकपछि अर्को खेलाडी विदेसिनुले टीमको सन्तुलन मिलाउन गाह्रो हुन्छ । त्यसैले अहिलेको अवस्थामा भन्नु पर्दा विदेसिने खेलाडीले सबैभन्दा बढी पीडा दिएका छन् ।’

पछिल्लो एक वर्षमा नेपाली फुटबलमा उथलपुथल आएको छ । एक पुस्ताका प्रायः सबै खेलाडी विदेश पलायन भइसकेका छन् । नेपाली फुटबल टीममा प्रशिक्षकदेखि खेलाडी सबै नयाँ छन् । अहिले साफ खेल्ने टीममा सबैजसो नयाँ अनुहार छन् । तीन खेलाडी पहिलो पटक राष्ट्रिय टीममा परेका छन् । कतिले भर्खरै डेब्यु गरेका छन् । यस्तो अवस्थामा अघिल्लो सिजन फाइनल खेलेको नेपाली टीमलाई समूह चरण पार गर्न पनि ठूलो चुनौती छ ।

यस पटक वरियतामा माथि रहेका लेबनन र कुवेत पाहुना टीमका रुपमा समावेश छन् । नेपालको टीममा बलियो कुवेत, सधैँ तगारो बन्ने भारत र पाकिस्तान रहेका छन् । लेबनन र कुवेतका साथै नेपाली टीममा पनि परिवर्तन भएकाले यो वर्ष साफमा नेपाललाई धेरै चुनौती रहेको किरण बताउँछन् ।

‘पहिलाभन्दा अहिले कुवेत र लेबनन आएका छन् । यो वर्षको साफ दुइटा पाहुना टीमले गर्दा पनि फरक हुन्छ जस्तो लाग्छ । हामी अघिल्लो सिजन फाइनल पुगेका थियौं । अहिले नयाँ खेलाडी धेरै छन् । कतिले डेब्यु गरेको पनि छैन । चुनौती छ’, उनले भने, ‘पहिलाभन्दा अहिलेको माहोल फरक छ । नेपाली फुटबलको अवस्था सबैलाई थाहा छ । नयाँ खेलाडी आएका छन् । सबैले सँगै ट्रेनिङ गर्ने समय पाएका छैनौं । त्यही पनि प्रतियोगितामा हामी तयार भएर जानुपर्छ ।’

तर टीममा जतिसुकै चुनौती आए पनि साफ जित्ने सपना नटाढिएको उनको भनाइ छ । ‘तर, अहिले नै जित्छौं भन्न मिल्दैन । चुनौती छ’, कप्तान किरणले थपे, ‘त्यसलाई स्वीकारेर हामी च्याम्पियन बन्न सक्दो कोसिस गर्छौं ।’

साफ च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले असार ६ गते उद्घाटन खेलमा कुवेतसँग, असार ९ गते दोस्रो खेल भारतसँग र असार १२ गते तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *