प्रहरीलाई संंवेदनशील अंगमा हिर्काएर भाग्न खोजेका थिए लागूऔषध कारोबारी
काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिन खोज्दा प्रहरीको संवेदनशील अंगमा प्रहार गरेर भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको दाबी गरेको छ ।
काठमाडौं महानगरपालिका- ९ शम्भु मार्गमा आइतबार बिहान विकास भगत नाम गरेका व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरेको थियो । घुँडामुनि गोली लागेका ती व्यक्तिको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको साथबाट एक सय ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
ब्युरोका अधिकारीका अनुसार भारतीय नागरिक विकास मोटरसाइकलमा आइतबार बिहान धरानबाट काठमाडौं आएका थिए ।
‘प्रहरीलाई देख्नेवित्तिकै ती व्यक्तिले प्रहरीको अन्डकोषमा प्रहार गरे । त्यसक्रममा पेस्तोलसमेत भुईंमा झरेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार भएको हो’, उनले भने ।
काठमाडौंमा खैरो हिरोइन सप्लाईमा विकास लामो समयदेखि सक्रिय रहेको ब्युरोले दाबी गरेको छ ।