बजेटमार्फत लगाइएको भ्याट हटाउन सरकारलाई ढुवानी व्यवसायीको चेतावनी – Nepal Press

बजेटमार्फत लगाइएको भ्याट हटाउन सरकारलाई ढुवानी व्यवसायीको चेतावनी

रुपन्देही । ढुवानी व्यवसायी समिति रुपन्देहीले बजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने घोषणा हटाउन भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ ।

समितिले आफ्नो आग्रहप्रति सरकार गम्भीर नभएमा नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने जनाएको छ ।

समितिका कार्यवाहक अध्यक्ष माधवप्रसाद आचार्यले आइतवार विज्ञप्ति जारी गर्दैै सरकारले अघिल्लो पटक अव्यवहारिक भएको भनेर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको प्रावधान पुनः ल्याएर ढुवानी व्यवसाय धारासाही बनाउन लागेको बताएका छन् ।

विज्ञप्तिमा ढुवानी व्यवसायीहरुको असहमतिका वावजुद पुनः वर्तमान सरकारले भ्याट लगाउँदा व्यवसाय नै संकटमा पर्ने र पलायन हुने अवस्था आउने जनाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ ।

ढुवानी व्यवसाय भनेको उद्योगी, व्यापारी, फर्म र ट्रक लगायतका मालवाहक सवारी साधनहरुवीच मध्यस्तकर्ता मात्र उल्लेख गर्दै एउटै ढुवानीका साधनमा सबैप्रकारका सामान लोड गरेर हिंड्नु पर्ने र ती कतिपय सामानमा भ्याट नलाग्ने हुँदा आफूहरुले सामान ढुवानी गर्दा भाडामा भ्याट लगाउन नसकिने जनाइएको छ ।

विज्ञप्तीमा समितिले सीमित जनशक्ति प्रयोग गरी स्वरोजगार गरी ढुवानी पेशा व्यवसाय कार्य गर्दै आएको अवस्थामा सो व्यवसायमाथि भ्याट लागेमा ढुवानी सेवा व्यवसाय थप जोखिममा परी बन्द हुने अवस्था श्रृजना हुने हुँदा ढुवानी सेवाका व्यवसायीहरु पलायन भई मुलुकमा वेरोजगारी थपिने चेतावनी दिँदै साना व्यवसाय र स्वरोजगारको संरक्षणको लागि ढुवानीमा भ्याट लगाउने सरकारको निर्णय गलत भएको जनाइएको छ ।

यसैगरी सरकारले ढुवानी सेवामा हचुवाको भरमा भ्याट लगाउदा आमउपभोक्तालाई थप करको भार पर्ने बताउदै समितिले कतिपय अवस्थामा ठेला, वैल गाडा, रिक्सा, घोडा, खच्चड, भरिया, बस, हेलिकप्टर आदी माध्यमबाट समेत ढुवानी गर्नुपर्ने बाध्यता रहेको हुँदा त्यो अवस्थामा सरकारको निर्णय कसरी कार्यान्वयन हुने हो ? भनि प्रश्न गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *