रामेछापको मन्थली र बेथान बजार स्मार्ट सडक बत्तीबाट झिलिमिली – Nepal Press

रामेछापको मन्थली र बेथान बजार स्मार्ट सडक बत्तीबाट झिलिमिली

काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखेको हो ।

बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरु झिलिमिली बनेका छन् । मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।

बसपार्क र बिनिता चोकमा १२.५ मि. अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमश: १४८ र १८३ वटा रहेका छन् । १२.५ मि. अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । बेथानमा जडान गरिएको बत्तिको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रुपमा भइरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरु बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं’, घिसिङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *