आम मानिसले चढ्ने २०० सीसीको मोटरसाइकलको अन्तःशुल्क २००० सीसीको कारकै बराबर थियो, त्यसैलाई समायोजन गरियो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सीसीको मोटरसाइकल र २००० सीसीका कारको अन्तःशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तःशुल्क दर र्यास्नलाइज गरिएको उल्लेख गरे ।
‘आर्थिक वर्ष २०७७/७८ मा २०० सीसीभन्दा बढी क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाइकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको बैशाखसम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थानमात्र पैठारी भई सोबाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ’, उनले भने, ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमी आएको देखियो ।’
गत आर्थिक वर्षमा २०० सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्तःशुल्कमात्र बढेको र अन्तःशुल्कको दर २००० सीसीसम्मका चारपाङ्ग्रे सवारीसाधनको भन्दा बढी रहेको देखिएकाले आमनागरिकको आवश्यकताको साधन मोटरसाइकलको अन्तःशुल्क दर अन्य सवारीसाधनको महसुल दरको तुलनामा रेसनलाइज गर्न दर समायोजन गरिएको उनको भनाइ थियो ।
त्यस्तै २०० देखि ४०० सीसीका मोटरसाइकलको समूहभित्र कुनै एक निश्चित कम्पनी र घरानाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाइकलमात्र नपरी १ दर्जनभन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जनभन्दा बढी ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाइकल पर्ने पनि उनले बताए ।