इप्पान चुनाव: यी भूमिकाका कारण उपाध्यक्षको साझा उम्मेदवार बने भरत खत्री, यस्ता छन् चुनावी एजेण्डा (भिडिओ) – Nepal Press

इप्पान चुनाव: यी भूमिकाका कारण उपाध्यक्षको साझा उम्मेदवार बने भरत खत्री, यस्ता छन् चुनावी एजेण्डा (भिडिओ)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को आसन्न निर्वाचनमा कार्य समिति उपाध्यक्षका लागि भरत खत्री साझा उम्मेदवार बनेका छन् । जेठ ३२ मा इप्पानको चुनाव हुँदैछ ।

गणेश कार्की र किरण मल्ल अध्यक्षको उम्मेदवारी दिएर मैदानमा उत्रिँदा हाल इप्पानको सचिव रहेका खत्री भने दुवै प्यानलमा परेका छन् । खत्री गणेश कार्की प्यानलको उम्मेदवारी घोषणासभामा सोमबार उपस्थित भएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको ऊर्जा तथा वातावरण समिति सदस्यसमेत रहिसकेका खत्री पेशाले कानून व्यवसायी तथा पर्यटन क्षेत्रका समेत लगानीकर्ता हुन् । कोशी प्रदेशकै उत्कृष्टमध्येको विराटनगरस्थित बिग होटल उनकै नेतृत्वमा सञ्चालित छ ।

पछिल्लो एक दशकयता उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण गरिरहेका छन् ।

पछिल्लो समय पूर्णकालीन रुपमा हाइड्रो क्षेत्रमा लगानी गरेका खत्री करिब १२ वर्षदेखि ऊर्जाको क्षेत्रमा भएका समस्या समाधान गर्न नीति निर्माताहरुसँग दबाबमूलक अभियानमा समेत छन् ।

खत्रीले ऊर्जा क्षेत्र सँगसँगै पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् । कानून र हाइड्रोमा स्नातकोत्तर गरेका उनी ऊर्जा क्षेत्र र पर्यटन व्यवसायमा सफल व्यक्ति मानिन्छन् ।

पछिल्लो समय उनी नीति निर्माताहरुसँग ऊर्जा क्षेत्रमा समस्या पहिचान र समाधानका छलफलमा बढी व्यस्त रहने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ऊर्जा समितिमा बसेर ३ वर्ष काम गरेको अनुभव पनि खत्रीसँग छ ।

खत्रीले अपी पावर कम्पनीबाट ऊर्जाको व्यवसायिक यात्रा सुरु गरेका हुन् । अपी पावरपछि जोशी हाइड्रो, हिमाल हाइड्रो दोलखा, पिपुल्स पावर कम्पनीलाई उनले सफल बनाइसकेका छन् । ९७ मेगावाटको निजी क्षेत्रको सबैभन्दा ठूलो इखुवा खोला जलविद्युत आयोजना खत्रीले निर्माण गरिरहेका छन् । सो आयोजना संखुवासभामा निर्माण भइरहेको छ ।

त्यस्तै १४ दशमलब ५ मेगावाटको इसुवा खोला हाइड्रो, ४० मेगावाटको इसुवा पावर र कृष्ण पावर खत्रीको नेतृत्वमा निर्माण भइरहेका छन् । सरकारी पक्षबाट जलविद्युत निर्माणमा आयोजनाको सञ्चालनमा हुने ढिलासुस्ती, रोकिएको पीपीए खुलाउने, उत्पादन भएको विद्युत सहज बिक्री, बैंकको व्याजदर र लगानी सहज बनाउने जस्ता काममा खत्रीले यसबीचमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।

यी हुन् भरत खत्रीका चुनावी एजेण्डा

इप्पानको उपाध्यक्षका उम्मेदवार खत्रीले मतदातासमक्ष अब आफूले गर्ने कामको एजेण्डासमेत सार्वजनिक गरेका छन् । सचिवको भूमिकामा सफल रहेका खत्रीले सारेका एजेण्डा स्वतन्त्र ऊर्जा उत्पादकको हक हितमा केन्द्रित रहेका छन् ।

१) इप्पानको उद्देश्य र लक्ष्यअनुसार सम्बन्धित निर्देशित कार्य गर्ने ।

२) यथासक्य व्यवसायिक हक लक्षित विद्युत ऐन निर्माणमा लाग्ने ।

३) विगत लामो समयदेखि रोकिएको पीपीएहरू गर्न पहल गर्ने ।

४) विभिन्न समयमा हाइड्रो पावरको प्रोमोटर शेयर संरचना तथा शेयर लकइन अवधि सम्बन्धमा हुने गरेका वादविवादहरूको अन्त्य गर्ने ।

५) पीपीएमा उल्लेख भएको असमान प्रावधानहरूको उचित समाधान गर्ने ।

६) नेपालको सबै तहमा विद्युतीकरण गर्ने र सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने ।

७) नेपाल विद्युत प्राधिकरणद्वारा बिक्री गरी सरप्लस जलविद्युतको छिमेकी राष्ट्रहरूमा विद्युत व्यापार गर्न पहल गर्ने ।

८) विद्युत ऐनमा उल्लेख भएनुसार करार अवधि ५० वर्ष पुर्‍याउन पहल गर्ने ।

९) समय समयमा हुने मौद्रिक नीति तथा आर्थिक क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी हुने ।

१०) विद्युत व्यापारको लागि आवश्यक गाइडलाइनहरु निर्माणमा सहभागी हुने ।

११) सम्पूर्ण चरणमा निर्माणाधीन जलविद्युत आयोजनाहरूको जग्गा प्राप्ति, वन, उद्योग, गृह, ऊर्जालगायत दर्जनौं व्यवसायीको समस्या हल गर्न लागिपर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *