चार जिल्लामा विद्युतीय बस सञ्चालन हुँदै – Nepal Press

चार जिल्लामा विद्युतीय बस सञ्चालन हुँदै

सिन्धुपाल्चोक । काठमाडौ पूर्वका चार जिल्लामा अब विद्युतीय बस सञ्चालन हुने भएको छ । राजधानी पूर्वका १३ बढी जिल्लामा विगत ५० वर्षदेखि निरन्तर यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनीले विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।

पूर्व अरनिको यातायात प्रालिले सिन्धुपाल्चोक,दोलखा, काभ्रे र रामेछाप जिल्लामा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । पूर्व अरनिको यातायातले विद्युतीय बस सञ्चालनको लागि पहिलो चरणमा ५२ वटा साना भ्यानहरू ल्याइसकेको र सबै दर्ताको प्रक्रियामा रहेको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षत्रीले जानकारी दिए ।

सिन्धुपाल्चोकको चौतारा र बाह्रविसे, काभ्रेको पलाञ्चोक दोलखाको चरिकोट र रामेछापको मन्थलीमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा ११, र १९ सिट क्षमताको विद्युतीय बस सञ्चालन हुने र आवश्यकताको आधारमा पुन थप गर्दै लैजाने अध्यक्ष क्षत्रीले जानकारी दिए । पलाञ्चोकमा ९,चौतारा ६, बाह्रविसे ६, चरिकोट १० र मन्थलीमा २१ थान विद्युतीय बस सञ्चालन हुदैछ ।

व्यक्तिगत रुपमा देशका विभिन्न स्थानमा भाडाका विद्युतीय बस सञ्चालन भइरहे पनि संस्थागत रुपमा धेरै संख्यामा विद्युतीय बस सञ्चालन हुन लागेको भने पहिलो भएको पूर्व अरनिको यातायातका अध्यक्ष क्षत्रीले दाबी गरे । ‘हामी यात्रुहरुलाई धेरै भन्दा धेरै सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालन गर्दे छौ,सबै बसहरू आइसकेको छ,अब केही दिनमा ती सबै रुटहरूमा बस सञ्चालन हुन्छ’, अध्यक्ष क्षत्रीले भने ।

अहिले बसको भाडा सरह नै यात्रीहरूले भाडा तिरेपछि विद्युतीय बस चढ्न पाउने छन् । विद्युतीय बस सञ्चालन हुने भएपछि ती स्थानमा चार्जिङ स्टेशा समेत अरनिकोले नै स्थापना गर्दे छ ।

चौतारा,खाडिचौर,बाह्रविसे,चरिकोट र रामेछापमा एक–एक वटा चार्जिङ स्टेशन निर्माण हुन लागेको र आवश्यकताको आधारमा अन्य स्थानमा समेत आफुहरुकै पहलमा थप चार्जिङ स्टेशन समेत निर्माण गरिने पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए । चार्जिङ स्टेशन निर्माण भएपछि निजी सवारीलाई समेत सजिलो हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *