घाटा खाएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिँदै धितोपत्र बोर्ड, जोखिममा लगानीकर्ता
काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले घाटामा गएको कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएर लगानीकर्तालाई जोखिममा पारेको भन्दै आलोचना भइरहेको छ ।
पछिल्लो हरेक वर्ष नोक्सानमा रहेको रिपब्लिक मिडिया यसको उदाहरण हो । यसले अहिले आईपीओ जारी गरेको छ । रिपब्लिकको आवेदन दिने समय आजैसम्म छ । सबै बिक्री भएन भने असार ८ गतेसम्म अवधि थपिने छ ।
पछिल्ला हरेक वर्ष घट्दो क्रममा रहेको एक कित्ता शेयर बराबर हुने आम्दानी अर्थात ईपीएस (अर्निङ पर शेयर) रहेको घोराही सिमेन्ट पनि अर्को उदाहरण हो । अहिले घोराहीले राखेको मूल्य (४३५) ठीक हो त भन्ने विषयमा प्रश्न उठेको छ । घोराहीले सर्वसाधारणलाई यही जेठ ३२ गतेबाट ३ सय ३५ रूपैयाँ प्रिमियम थप गरेर ४ सय ३५ रूपैयाँमा शेयर बिक्री गर्दैछ । यति महंगो मूल्यमा शेयर किन्न लगानीकर्ता आफैँ चनाखो हुनुपर्ने विश्लेषक मुक्ति अर्याल बताउँछन् । उसको वित्तीय विवरण ठीक छ वा छैन र अहिले आईपीओ बिक्रीका लागि राखेको मूल्य पनि ठीक छ/छैन आफैँमा प्रश्न भएको उनको तर्क छ ।
अर्याल लगातार घाटामा गएको रिपब्लिकले पनि सेयर जारी गरेर सर्वसाधारणको लगानी जोखिममा पारेको बताउँछन् ।
शेयर विज्ञ डा. गोपाल भट्ट कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा पब्लिकमा जाने मूल्य कति हुने, उक्त कम्पनीले लगानीकर्ताको लगानी जोखिम हुन दिन्छ कि दिदैन भन्ने विषयमा नियामकले मसिनो ढंगले हेर्नुपर्ने बताउँछन् ।
घोराही सिमेन्टले आफ्ना कर्मचारीका लागि तीन लाख ७७ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा १९ हजार ५३० कित्ता शेयरका लागि मात्रै आवेदन परेको थियो । यसले पनि उसकै कर्मचारी जारी शेयरप्रति आश्वस्त देखाउँदैन । सर्वसाधारणलाई शेयर जारी गर्नुअघि जारी गरिएको आरक्षित शेयरमै आकर्षण देखिएन ।
नेपाल धितोपत्र बोर्डले (सेबोन) ३ वर्ष लगातार नाफा कमाएका कम्पनीहरूका लागि मात्र बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न सुविधा दिएको छ । तर, नाफालाई मात्र आधार बनाएर धेरै महंगो मूल्यमा शेयर जारी गर्न दिनु लगानीकर्ताको लगानीका लागि घातक हुने जानकारहरू बताउँछन् ।
नेपाल धितोपत्र बोर्डले भने घाटामा गएको कम्पनीले पब्लिकबाट पैसा उठाएर चलाउँछु भन्दा दिन्न भन्न नपाइने बताउँछ ।
बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ आईपीओ जारी गर्ने कम्पनीको वित्तीय विवरण प्रष्टसँग राखिदिने र डकुमेन्टहरू माग गर्ने आफ्नो काम भएपनि आईपीओ किन्ने नकिन्ने भन्ने विषयमा लगानीकर्ताले नै हेर्नुपर्ने तर्क गर्छन् ।
उनी भन्छन, ‘हामीले सबै प्रक्रिया पूरा गर्ने हो नाफा नोक्सान त कम्पनीहरू कहिले नाफा कहिले घाटा हुन्छ । घाटा भएको कम्पनीलाई आईपीओ नै जारी गर्न नदिने नाफा भएकोलाई मात्र दिने हो भने कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’
घोराही सिमेन्टको वित्तीय विवरण
घोराहीकै विवरणपत्र अनुसार उसको प्रतिशेयर आम्दानी ५० पैसामात्र छ । घोराहीले स्थानीयलाई फेस भ्याल्यू १०० रूपैयाँमा ३०० रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रूपैयाँका दरले आईपीओ जारी गरिसकेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तीन लाख ९७ हजार कित्ता छुट्याएको घोराहीको २० प्रतिशत पनि आवेदन परेन । यता कर्मचारीका लागि आरक्षित शेयरमा समेत करिब ६ प्रतिशत मात्र बिक्री भयो । यता वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि निष्कासन गरिएको शेयरमा भने तुलनात्मक रूपमा केही बढी आवेदन पर्यो ।
यही जेठ ३२ गतेबाट सर्वसाधारणमा जारी हुने शेयरका लागि असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने जनाइएको छ । घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
घोराहीको गत आर्थिक वर्षको (२०७८/९८) को वित्तीय विवरणअनुसार कुल २१ करोड ६१ लाख रूपैयाँ नाफा आर्जन गरेको छ । क्रेडिट रेटिङ नेपालबाट रेटिङ गराएको घोराहीले ‘CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँछ । यस कम्पनीको नेटवर्थ २२६ रुपैयाँ ६१ पैसा रहेको छ ।
रिपब्लिक मिडियाको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम
नेपालमा मिडिया जगतबाट पहिलो पटक आईपीओ जारी गरिरहेको नेपाल रिपब्लिक मिडिया लगातार नोक्सानमा गएर लगानी रित्तिएको कम्पनी हो । उसको विवरणपत्र अनुसार उसको प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७६/७७ मा २४.६० रूपैयाँ ऋणात्मक छ । आव २०७७/७८ मा १३ रूपैयाँ ६० पैसा ऋणात्मक, २०७८/७९ मा १०.४७ रूपैयाँ ऋणात्मक रहेको देखिन्छ । तर, चालू आर्थिक वर्षमा भने एकाएक (२०७९/८०) तेस्रो त्रैमासमा एक शेयर बराबर ७.२२ रूपैयाँ आम्दानी भएको देखाएको छ । यो आवमा १.२२ रूपैयाँ प्रतिशेयर आम्दानी हुने र ५.५५ रूपैयाँ हुने अनुमान विवरणपत्रमा उल्लेख छ । तर, सञ्चित मुनाफा भने लगातार नोक्सानमा गएको देखिन्छ । आगामी वर्ष पनि नोक्सानमा जाने विवरणपत्रमा उल्लेख छ । विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (छैठौँ संशोधनसहित) मा भएको व्यवस्थामा क्रेडिट रेटिङ गराउनुपर्ने हुन्छ ।
क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लि., काठमाण्डौंबाट इस्यु रेटिङ्ग गराएको नागरिकले ‘IRN B+ (Is) [Single B Plus (Issuer)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । नागरिकले जेठ २६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । आज आईपीओ भर्ने अन्तिम समय हो । आजै सबै बिक्री भएन भने असार ८ गतेसम्म आवेदन दिन पाइनेछ ।
आर्थिक वर्ष २०७६/७७ सम्म रिपब्लिक मिडियाको खुद सम्पत्ति दुई करोड ६९ लाख रूपैयाँ घाटामा थियो । तर, गत चैतमा आइपुग्दा खुद सम्पति बढेर ४५ करोड ८३ लाख पुगेको देखाइएको छ ।
बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने होडबाजी
शेयर बजारको इतिहासमा लगानीकर्ताका लागि सिमेन्ट इतिहास कमजोर धरातलमा टेकेको छ । सर्वसाधरणलाई शेयर जारी गरेको हिमाल सिमेन्ट बन्द भयो । पछिल्लो समय सिमेन्ट कम्पनीहरू बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी गर्न होडबाजीमा उत्रिएका छन् ।
शिवम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको थियो । त्यसपछि अहिले घोराही सिमेन्टले बुक बिल्डिङबाटै शेयर जारी गर्दैछ ।
यता सर्वोत्तम सिमेन्टले पनि बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न एक वर्षअगाडि (२०७९ असार २८) नै अनुमति माग गरेर नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यसले आईपीओको मूल्य ५०१ देखि ७५१ रूपैयाँसम्म राख्ने बताउँदै २४ लाख कित्ता सेयरका लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
यस्तै रिलायन्स स्पिनिङ मिल्सले पनि ६०८ रूपैयाँदेखि ९१२ रूपैयाँसम्म मूल्य राखेर बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गर्न गत असारमै आवेदन दिएको हो । यसले ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्दैछ । तर, धितोपत्र बोर्डले यिनीहरूलाई स्वीकृति भने दिइसकेको छैन ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशिका अनुसार बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्छ ।
साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारणसभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । यी सबै मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्न सक्नेछ ।
सबै कम्पनीले यस्तो मापदण्ड पूरा गर्न सक्दैनन । मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले १०० रूपैयाँमै आईपीओ निष्कासन गर्छन । नेपालमा सय रूपैयाँभन्दा कममा आईपीओ निष्कासन गर्ने चलन छैन ।