महासंघलाई अर्थमन्त्रीले भने- सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लाग्दैन
काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तव्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।
सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए ।
त्यसक्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए ।
‘हामीले हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौं । यस्ता वस्तुहरु जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन ।’
सुनका गरगहना हुने खानेदेखि हुँदा खामनेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पारे ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायमा आवद्ध तीन महासंघको संयुक्त भेटकाक्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नु पर्नाको कारण भने भारतीय र नेपाली बजारमा समान दर वनाउनकालागि भएको प्रष्ट पारे ।