बार अध्यक्ष नै खाणको पक्षमा उभिएर थप समय मागेपछि न्यायाधीशले भने- अदालतलाई निरीह बनाइयो
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको थुनछेक सुनुवाई गरिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिवादीका कानून व्यवसायीले अदालतलाई निरीह बनाएको बताएका छन् ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले बुधबार पनि बहसका लागि समय मागेपछि न्यायाधिश न्यौपाने र पूर्व महान्यायधिवक्ता समेत रहेका खम्महादुर खातीबीच सवाल जवाफ नै भएको थियो । मंगलबारको बहसको समय सकिन लाग्दा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे अगाडि सरेका थिए ।
‘खाणजीको तर्फबाट अझै बहस सकिएन । सबै कुरा आइसक्यो त । धेरै जना वरिष्ठ अधिवक्ताले समेत बहस गरिसक्नु भएको छ । धेरै कुरा दोहोरिरहेको छ’, न्यौपानेले भने ।
त्यसपछि खम्म अगाडि सरेर बोलेका थिए । ‘रुलिङ गर्ने न्यायाधीशको अधिकार हो । तर प्रतिवादीका तर्फबाट बहस गर्न पाउनु हाम्रो पनि अधिकार हो । पुरानै कुरा दोहोरिए श्रीमानले रोक्न सक्नु हुन्छ । तर हामीसँग नयाँ कुराहरु छन्’, खातीले भने ।
त्यसपछि न्यायधीशले आफू थाकेको र हात उठाउन मात्रै बाँकी रहेको बताउँदै निरीहता प्रकट गरेका थिए । ‘अदालतलाई निरीह बनाइयो’, उनले भने ।
न्यायाधीश न्यौपानेले प्रतिवादीलाई बहसका लागि मंगलबारसम्मको समय दिएका थिए । बु्धबार साँझसम्म थुनछेक आदेश गर्ने उनको तयारी थियो ।
तर खाणबाहेक अझै ५ जना प्रतिवादीका तर्फबाट बहस हुन बाँकी छ । बुधबार अन्य प्रतिवादीका तर्फबाट बहस सुन्ने अडानमा देखिएका न्यायाधीश न्यौपाने पछि पछाडि हटेका थिए । खम्मले भने, ‘श्रीमान भोलि हामी टि ब्रेकसम्म हाम्रो बहस सिध्याउँछौँ’, उनले भने ।
न्यायाधिशले त्यसपछि बुधबार थुनछेक आदेश गर्ने भएकाले अन्य प्रतिवादीलाई पनि बहसका लागि समय चाहिने बताएका थिए । ‘त्यसो भए तपाईहरुलाई १२ बजेसम्मको समय भयो’, न्यायाधीशले भने । तर खम्म पछि हटेनन् । ‘श्रीमान हामी कुराहरु नदोहोर्याई टि ब्रेकसम्म सक्छौँ, उनले भने ।
त्यसपछि न्यायधीश न्यौपानेले भोलि अधिवक्ताहरुको विद्धता जाँच्ने भन्दै खाणका कानून व्यवसायीलाई टि ब्रेकसम्म बहस गर्न दिने सहमत भएका थिए ।
न्यायाधीश न्यौपाने नौ दिन यता थुनछेक सुनुवाइ गरिरहेका छन् ।