कांग्रेस संसदीय दलको नेता फेरेर भने पनि कोशी प्रदेश सरकारको नेतृत्व गर्नुपर्छ : गुरु घिमिरे – Nepal Press

कांग्रेस संसदीय दलको नेता फेरेर भने पनि कोशी प्रदेश सरकारको नेतृत्व गर्नुपर्छ : गुरु घिमिरे

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले कांग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार बनाउन आवश्यक परे संसदीय दलको नेता फेर्न तयार हुनुपर्ने बताएका छन् ।

मंगलबार इटहरीमा नेपाली कांग्रेस रुपान्तरण अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा नेता घिमिरले यस्तो बताएका हुन ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतालाई अन्य पार्टीले स्विकार गर्न नसक्ने बताएको भन्दै नेता घिमिरेले नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आए संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताएका हुन । यस्तो अवस्थामा संसदीय दलका नेता बाधक बन्न नहुने पनि नेता घिमिरेले बताए ।

नेता घिमिरेले भने, ‘यदि अन्य दल, विशेष गरी राप्रपाले संसदीय दलका नेतालाई स्वीकार नगर्ने बताएको छ । यदि उसले अन्य व्यक्तिलाई समर्थन गर्छ भने, माओवादी पनि अहिले काँग्रेससँगै छ, दलको नेता फेर्न काँग्रेस तयार हुनुपर्छ ।’

संविधान र कानूनको अवस्थालाई हेर्दै नेपाली काँग्रेस अगाडि बढ्नुपर्ने नेता घिमिरेको भनाई थियो । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापा रहेका छन् । उनी झापाबाट समानुपातिक प्रणालीबाट सांसद चुनिएका हुन ।

राप्रपाले नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रुपमा स्वीकार नगर्ने बताउँदै आएको छ । विशेष गरी राप्रपाका संसदीय दलका नेता भक्ती प्रसाद सिटौलाले मुख्यमन्त्रीको रुपमा उद्धव थापालाई अस्वीकार गर्दै आएका छन् । सिटौला पनि झापाकै हुन ।

हाल सरकारको कृषी मन्त्री समेत रहेका भक्ति प्रसाद सिटौला अब नयाँ सरकार बन्दा आफै मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । यदि काँग्रेसले मुख्यमन्त्री पाउने भए उद्धव थापालाई स्वीकार गर्न नसक्ने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेस संसदीय दलले आफ्नै नेतृत्वमा सरकार बनाउने निणर्य गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर