बदलिँदो परिस्थितिमा गतिशील र सुसंगठित पार्टी अभ्यासको प्रश्न – Nepal Press

बदलिँदो परिस्थितिमा गतिशील र सुसंगठित पार्टी अभ्यासको प्रश्न

कम्युनिष्ट पार्टीमा विचारको निरन्तर विकासको प्रश्न सधैँ महत्वपूर्ण हुन्छ । पार्टीलाई गतिशील र जीवित राख्नको लागि कम्युनिष्ट पार्टी सधैँ नै महान बहसको बीचबाट गुज्रिरहनुपर्छ । सोही प्रकृयाबाट नै पार्टीले नयाँ सम्भावनाहरूलाई समात्न सक्ने र चुनौतीहरूको सामना गर्नसक्ने अवस्था रहन्छ ।

यहाँ विचारका धेरै पक्षहरूमध्ये संगठनात्मक विचारको पक्षमा केही प्रश्नहरूलाई उठान गर्न खोजिएको छ । आजको दिनमा विश्वमा कम्युनिष्ट पार्टीहरूको अवस्था औसत रूपमा हेर्दा रक्षात्मक रहेको देखिन्छ । नेपालको सन्दर्भमा दक्षिणपन्थ राजनीतिक विचारधाराको विपरित मत औसतमा सधैँ अगाडि रहेको चुनावका तथ्यांकहरूले स्पष्ट रूपमा देखाइरहेका छन् । यद्यपि सीमित राजनीतिक अस्थिरताको कारणले वामपन्थीहरूको एउटा विशाल पार्टी निर्माणको प्रश्न कमजोर बनिरहेको छ ।

पछिल्लो दशकमा भने संगठनात्मक रूपमा नेकपा एमालेले कम्युनिष्ट मुलप्रवाहको रूपमा आफूलाई निरन्तर उभ्याइरहेको छ । तर, इतिहासको समग्र समीक्षा गर्दा भने नेपाली कम्युनिष्ट आन्दोलनमा संगठनात्मक विभाजन र संघर्षले समयको ठूलो हिस्सा ओगटेको पाउन सकिन्छ । कम्युनिष्ट आन्दोलनभित्र हुर्किने गरेका प्रवृत्तिहरूलाई हेर्दा विशाल, गतिशील एवं सुसंगठित कम्युनिष्ट पार्टी निर्माणमा भविष्य थप जटिल र चुनौतीपूर्ण रहेको अनुमान गर्न सकिन्छ ।

त्यसैले, नेकपा (एमाले) लाई निर्विवाद रूपमा मूलप्रवाह कायम गरिरहनको लागि यसको संगठनात्मक पक्षलाई थप गतिशील बनाउन जरुरी छ । यद्यपि नेपालमा रहेका सबै पार्टीहरूमध्ये हाम्रो पार्टी नै तुलनात्मक रूपमा तालिकावद्ध हिसाबले अद्यावधिक हुने पार्टी हो । साथै लोकतन्त्र वा जनवादको अभ्यास गर्ने पार्टी हो ।

जबजको मार्गदर्शनमा समाजवादी संगठन

विश्वमा झण्डै ४ सय वर्षदेखि विकास भएका पूँजीवादी व्यवस्था, मिश्रित व्यवस्था र पछिल्लो विकसित अवस्थालाई हेर्दा राजनीतिक स्थिरता, शान्ति र निरन्तर समृद्धिको नेतृत्व समाजवादी विचार र व्यवस्थाले मात्रै गर्नसक्छ भन्ने देखिन्छ । समाजवादको विकल्प उदारीकरणसहितको पूँजीवाद कदापी हुनसक्दैन । जुन कुरालाई पछिल्ला महामारी र विभिन्न स्वरूपमा देखापरेका संकटहरूले पनि पुष्टि गरेका छन् ।

नेपालको इतिहासमा अहिलेसम्म भएका आन्दोलनहरूलाई हेर्दा ती आन्दोलनहरूले उठान गरेका विषवस्तुलाई पनि समाजवादले मात्रै सम्बोधन गर्न सक्ने देखिन्छ । अर्थात् उत्पादन साधनको स्वामित्व र वितरण प्रणालीमा समतामुलक परिस्थिति निर्माण गर्न वा समाजको दीगो व्यवस्थापन गर्न वैज्ञानिक नीति तथा कार्यक्रमहरू समाजवादले मात्रै प्रदान गर्न सक्छ ।

त्यसैले, यहाँनेर रुढीवाद, उग्रवाद र दक्षिणपन्थ कोणबाट अंगिकार गरिने विचार र कार्यक्रमहरूले राज्यका समस्याहरूलाई सही ढंगले पहिचान गर्ने र त्यसको समाधान गर्ने हैसियत राख्दैनन् । मार्क्सवादको आलोकमा नै विकास भएको तर निरन्तर प्रवाहमा सिर्जनात्मक अभ्यास गर्नसक्ने कम्युनिष्ट पार्टीको जरुरत पर्छ । जननेता मदन भण्डारीले विकास गरेको जनताको बहुदलीय जनवाद यस्तो मार्गनिर्देशक साध्य हो जसले समाजको निरन्तर क्रान्तिकारी रूपान्तरणको लागि पार्टी निर्माण गर्न मार्गनिर्देशन प्रदान गर्छ ।

विश्वभरी नै मार्क्सवादको नाममा देखिएका रुढीवाद वा जडसूत्रवाद र उग्रवादजस्ता विचारको प्रतिनिधित्व गर्ने पार्टीहरूले समाजको रूपान्तरण गर्न त सकेका छैनन् उनीहरूले आफ्नो अस्तित्वलाई समेत कायम राख्न सकिरहेका छैनन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध उभिएर जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने विचार तथा कार्यक्रमको प्रक्षेपण गरेको छ । यसले पार्टीलाई सृजनात्मकरूपमा कम्युनिष्ट बनाउने विषयको माग गर्छ ।

विकसित विज्ञान सूचना, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको कारण श्रम, शोषण र पूँजी आर्जनको नयाँ मूल्य मान्यताहरू स्थापित हुन लागिरहेका छन् । यी सबै प्रभाव हाम्रो मुलुक र यहाँको समाजमा पनि परेको छ । तर, हामी यसमा सुरूवाती अवस्थामा नै छौं । मूल्यवान राजनीतिक कार्यक्रम कम महत्वको हुँदै जाने र सत्ता/शक्ति र आर्जनको साधनको रूपमा स्थापित हुँदै गएको छ । राजनीतिक पार्टीहरूमाथि गम्भीर आशंका उठिरहेको छ, यो निश्चित वर्गको औजार बन्ने आशंका गरिरहेका छन् । राजनीतिक व्यक्तिको आडमा नीतिगत प्रभाव र आर्थिक प्रभाव पार्ने प्रयत्न गर्ने तत्वहरूको सक्रियता नै यसको उदाहरण हो । तर, संगठनको मूल शुरुवात तहमा औसतमा त्यसको प्रभाव नगण्य मात्रामा छ ।

जबजले मार्क्सवादको सृजनात्मक प्रयोगलाई जोड दिएको विषयलाई ख्याल गर्दै दशौं महाधिवेशनले विकसित परिस्थितिमा देखिन सक्ने दक्षिणपन्थ र अराजकतालाई नियन्त्रणको माग गरेको छ । जसले गर्दा आगामी थप नयाँ परिस्थितिमा पनि पार्टी राज्यको नेतृत्वदायी भइरहन सक्ने र संगठन पनि कम्युनिष्ट हुने कुराको वातावरणलाई मजबुत बनाउन महत्वपूर्ण पार्टीगत अभ्यासको विकास गर्नुपर्छ ।

जडसूत्रवाद वा रुढीवाद, उग्रवामपन्थ, व्यक्तिवाद, मनोगतवाद र उदारवादजस्ता विचारहरू बोकेका प्रवृत्ति र तीनको प्रतिनिधित्व गर्ने पार्टीहरूले समाजको दीगो नेतृत्व गर्न सक्दैनन् भन्ने विषयलाई हामीले स्थापित गर्न सक्नुपर्छ । जसले गर्दा नै संगठनात्मक रूपमा आम जनताको निर्विकल्प पार्टी एमालेलाई विश्वासका साथ जनतामा अगाडि बढाइरहन सक्छौं ।

लेनिनवादी संगठनात्मक सिद्धान्तको सान्दर्भिकता

लेनिनवादी संगठनात्मक सिद्धान्त एकप्रकारको उन्नत प्रजातान्त्रिक संगठनात्मक अभ्यास हो । विचारको निर्माण वा विकास, नेतृत्वको निर्माण वा विकास र कार्यक्रमको निर्माणमा जनवादको अभ्यास र कार्यान्वयनमा केन्द्रीयताको अभ्यास नै लेनिनवादी संगठनात्मक सिद्धान्तको मुल पक्ष भएकाले यो संगठनात्मक अभ्यास गर्ने हरेक क्षेत्रको निम्ति सफलता प्राप्त गर्ने वैज्ञानिक अस्त्र हो ।

लेनिनवादी संगठनात्मक सिद्धान्तको सान्दर्भिकतामा कुनै कमी आएको छैन्, बरु यसलाई अघोषित रूपमा दक्षिणपन्थी पार्टीहरूले समेत कार्यान्वयन गर्न थालेका छन् । पार्टीलाई वैचारिक, संगठन र कार्यक्रममा जीवन्त राख्न र सम्पूर्ण सदस्यहरूको अपनत्व, एकता र जिम्मेवारीको अवस्था सिर्जना गर्न सो सिद्धान्तले निर्णायक भूमिका खेल्छ ।

विश्वमा भएको भौतिक, विज्ञान र सूचना प्रविधिको विकासका कारणले आम मानिसको चेतनामा ठूलो परिवर्तन ल्याइदिएको छ । सूचना प्रविधिको सहायताले समेत आन्दोलन, अभियान र कार्यक्रमहरू गर्न मिल्ने अभ्यास हाम्रै मुलुकका युवाहरूले समेत गरिरहेका छन् । सीमित मानिसहरूको योजनाको आधारमा सूचना प्रविधिको सहायताले पूरै राज्य वा विश्वभरी नै क्याम्पिङको अभ्यास गर्न सक्ने अवस्थाको सिर्जना भएको छ । त्यसैले लेनिनवादी संगठनात्मक सिद्धान्तको कार्यान्वयन आजको दिनमा सूचना प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने विषयलाई भने ख्याल गर्नुपर्ने हुन्छ ।

मास संगठनात्मक प्रकृयामा चुनौती

निरन्तर संगठनको निर्माण र विकासको प्रकृयाबाट अगाडि बढ्दा आजको दिनमा हाम्रो पार्टी मास पार्टीको रूपमा स्थापित भएको छ । वर्तमान राज्यव्यवस्था र राजनीतिक प्रतिस्पर्धाको ढाँचाले मागेजस्तै हामीले पार्टी निर्माणको अभ्यास गरेका छौं । राजनीतिक दलहरूमा प्रवेश गरेको व्यक्तिगत महत्वकांक्षाको व्यवस्थापनमा देखिएको कठिनाइका कारण ठूला एवं भद्दा कमिटीहरू निर्माण भएका छन् । जसले गर्दा बहस, योजना निर्माण, शुसासनको परिपालना र सभ्यताको विकास जस्ता विषयहरूमा चुनौती देखा परेको छ ।

नेपालको सन्दर्भमा कुनै एक दलले मात्रै तत्काल चुस्तदुरुस्त कमिटीको सुरूवात गर्ने विषय निकै चुनौतीपूर्ण छ । तर, चुस्तदुरुस्त कमिटी प्रणालीको सुरूवात, क्षमतावान नेतृत्वको विकास र सानो आकारको कमिटी प्रणालीको सही विकल्प पक्कै वर्तमानमा अंगीकार गरेको अभ्यास हुन सक्दैन । बरु विचार, नेतृत्व र कार्यक्रमको निर्माणको प्रकृया र चरणमा व्यापक जनवादको अभ्यासलाई थप वैज्ञानिक र सबैको अपनत्व हुनेगरी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा भने बहस गर्न सकिन्छ । त्यसैले, हामीले नै नयाँ प्रकारको बैज्ञानिक पार्टीको निर्माण प्रकृयाको विषयमा महान बहसको शुरुवात गर्नुपर्ने आवश्यकता बोध भएको छ ।

सही व्यक्ति सही जिम्मेवारी र परिचालन

माथि चुनौतीकै सन्दर्भमा औंल्याइएको मूल समस्याको हल नै सही व्यक्ति सहि जिम्मेवारीले गर्न सक्छ । तर, यहाँनेर प्रश्न उठ्छ की सही व्यक्ति छनोटको विधि वर्तमानकै आधारमा गर्न सकिन्छ वा विकास गर्नुपर्छ ? हामीले नेपालको राजनीतिको औसत अवस्थालाई हेर्दा व्यक्तिगत अवसरवाद निकै मौलाएको देख्न सक्छौं ।

लेनिनवादी संगठनात्मक विधि वा पूर्ण प्रजातान्त्रिक अभ्यासद्वारा नै ‘सही व्यक्ति सही जिम्मेवारी’ विषयलाई कमिटी निर्माण र परिचालनमा लागु गर्न सकिन्छ । कमिटीको नियमित अद्यावधिक गर्ने अभ्यासले नै यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकिन्छ । पार्टीमा समय व्यतित गरेको, शास्त्रीय राजनीतिक ज्ञान भएको, वाककटुता भएको र कुटनीतिक क्षमताको आधारमा मात्रै नेतृत्व विकास गर्दा राजनीतिक दलहरूले राज्यको समस्यालाई सम्बोधन गर्न सकेका छैनन् भन्ने कुरा हामी सबैका सामु छर्लङ्ग छ ।

त्यसैले विश्वको विकसित परिस्थितिमा विकास भएका कतिपय भीमकाय संगठनहरूले अभ्यास गरेका नेतृत्वको क्षमतासम्बन्धी मापदण्डहरूबाट समेत हामीले सिक्नुपर्ने देखिन्छ । नेतृत्व विकासको सैद्धान्तिक आधार लेनिनवादी संगठनात्मक सिद्धान्त नै भएपनि यसलाई थप समृद्ध गर्ने जिम्मेवारी हाम्रो पुस्ताको हो भन्ने विषयलाई अनुसरण गरेर सो विषयमा पनि नयाँ बहसको आवश्यकता देखिएको कुरालाई अस्वीकार गर्न सकिन्न ।

पार्टी र जनताका बीचमा कसिलो सम्बन्ध स्थापित गर्ने प्रश्न

मुलतः पार्टीलाई सदस्यता विस्तारसँगै निपूर्ण बनाउने सदाबहार अभ्यास कायम राख्ने, सदस्यहरूलाई जनताको प्रतिनिधिको रूपमा स्थापित गर्ने र जनताका समस्याहरूको समाधानको खोज केन्द्रको रूपमा पार्टीलाई विकास गर्दा नै पार्टी र जनताबीचमा कसिलो सम्बन्ध स्थापित गर्न सकिन्छ ।

वर्तमानमा हामीले अंगिकार गरेको जबजअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरू जनताप्रति उत्तरदायी छन् । वर्तमान राज्यव्यवस्था र प्रणालीमार्फत जनता र राज्यको सेवा गर्ने भूमिकालाई सृजनात्मक रूपमा निरन्तर लागु गर्दा नै पार्टी जनताबीचमा लोकप्रिय भइरहन सक्छ । आजको सन्दर्भमा समृद्धिसँग जोडिएको राजनीतिक अभियान नै मुख्य बनेर आएको हुँदा हामीले त्यसैगरी कार्यक्रमहरूलाई अगाडि बढाउन जरुरी हुन्छ । जुनसँग उत्पादन, उद्यम, रोजगारी सिर्जना, लगानी वातावरण, आदि लगायत आम जनताको जीवनसँग जोडिएका हुन्छन् ।

पार्टी स्कुलको भूमिका

सुसंगठित राजनीतिक संगठन निर्माण, व्यवस्थापन र परिचालनमा पार्टी स्कुलको ठूलो भूमिका हुन्छ । पार्टी सधैँ जनताको नेतृत्व संगठन हो र यसले अंगिकार गर्ने दर्शन, विचार÷राजनीति र कार्यक्रम सँधै अग्रगामी प्रकृतिको हुन्छ । पार्टी स्कुलले आफ्नो सम्पूर्ण विषयवस्तुलाई नेता तथा कार्यकर्ताहरूलाई दृष्टकोण कार्यक्रम, कार्ययोजना बारेमा स्पष्ट पार्न वैचारिक प्रशिक्षित गर्दै प्रखर र दृढ बनाउने भूमिका निर्वाह गर्नुपर्छ ।

जसले गर्दा पार्टीको संगठन निर्माण, व्यवस्थापन र परिचालनमा स्वभाविक रूपमा सहजता पैदा हुन्छ । पार्टीको दशौं महाधिवेशनपश्चात स्कुललाई पार्टीले थप व्यवस्थित गर्ने प्रयत्न गरिरहेको छ । तर, आजको दिनमा पार्टी स्कुललाई वेबसाइट, अनलाइन, सामाजिक सञ्जाल आदि माध्यमहरूको प्रयोगबाट पनि थप व्यवस्थित बनाउन सकिन्छ ।

(लेखक नेकपा एमाले स्याङ्जाका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *