गाउँमै उत्पादन कम भएपछि बाहिरबाट खरिद गरेर माग पूर्ति गर्दै सहकारी
रुपन्देही । दूग्धपालक किसानको सारथी बनेको पाल्पाली डुम्रे दूग्घ कृषि सहकारी संस्थामा खडेरी लागेसँगै दूधको अभाव हुन थालेको छ ।
गतिलो दूध उत्पादन र संकलन हुने स्थानको पहिचान बनाएको पाल्पाको तिनाउ गाउँपालिका वडा नं.६ डुम्रेमा रहेको उक्त सहकारी तीन दशक पुरानो सहकारी हो । यहाँ तिनाउ अनि रिब्दिकोट गाउँपालिका र तानसेन नगरपालिकाभित्रका केही वडाका गरी करिब पाँच सय घरपरिवारका तीन सय जना र समूह सहकारीका १० गरी तीन सय १० जना शेयर सदस्यहरू छन् । यति धेरै किसानहरू जोडिएको यो सहकारीमा वैशाख लागेसँगै दूधको अभाव हुन थालेको हो ।
सहकारीले आफ्ना ग्राहकलाई दिने मात्रा स्थानीय किसानसँगबाट जुटाउन नसकेपछि बाहिरबाट खरिद गरेर काम चलाउन बाध्य भएको हो ।
यो सहकारीले प्रदेश सरकार,स्थानीय सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा आफ्नै आधुनिक भवन निर्माण गरेको छ भने १७ जना स्थानीयहरूलाई रोजगार समेत दिँदै आएको छ ।
किसानहरूको दुई हजार पाँच सय लिटर गाई,भैँसीको दूध संकलन गरी बिक्री गर्दै आइरहेको यो सहकारीले निकट भविष्यमा नै छुर्पी उद्योग खोल्ने तयारी गर्दैछ । त्यसका निम्ति लुम्बिनी प्रदेश सरकारसँग प्रस्तावना पेश गरिसकेको छ । कम्प्यूटर प्रणालीअनुसार हिसावकिताव राख्न थालिएपछि किसानहरुलाई अझै ढुक्क बनाएको छ ।
सहकारीका जानकार दलबहादुर गुरुङका अनुसार डुम्रेको दूध भनेपछि उपभोक्तालाई राम्रो दुध भनेर विश्वास लाग्ने यहाँका किसानले बनाएका छन् । यसमा कुनै अखाद्यवस्तु मिसावट नगरिएकाले यहाँको दूध पिउनेहरुले सकेसम्म अन्तको दूधमा मनै लगाउँदैनन्–पशु डाक्टर तुल्सी शर्मा बताउँछन् । दूधका साथै यो सहकारीले क्रिम,पनिर,घ्यू ,दही समेत बनाएर बिक्री गर्दै आइरहेको छ ।
गाउँमा पहिला ३९ वटा पशु फर्महरु थिए तर यतिबेला घटेका छन् । पहिला करिब चार हजार लिटर दूध संकलन हुने गर्दथ्यो तर यतिबेला घटेर दुई हजार पाँच सय लिटरमा सीमित हुनुपरेको सहकारीका व्यवस्थापक गोपाल जीसी बताउछन् । उनका अनुसार युवाहरु पशुपालनबाट पलायन भई विदेशतिर गएका कारण यस्तो समस्या थपिएको हो ।
संस्थाका अध्यक्ष दुर्गाबहादुर खाणका अनुसार बैशाखदेखि साउनसम्म भैँसीको दूध नवलपरासी,रुपन्देही र कपिलबस्तुबाट खरिद गर्नुपर्ने हुन्छ । खडेरीका बेला दूधको मात्रा घट्ने समस्याले आफूहरुलाई पिरोलेको बताउने उनले आफ्नो क्वालिटीको दूधकै कारण तानसेनदेखि पोखरासम्म बिक्री हुँदै आएको बताए । आधुनिक मेसीनले दूधको परीक्षण गरिने, दूधमा भएको ल्याक्टोको आधारमा किसानलाई दूधको मूल्य दिइने बताइरहेका उनले किसानहरूको मर्का बुझ्ने खालको सरकार नहुँदा कहिलेकाँही दुःख पाइने बताए ।
सहकारीका शेयर सदस्य खडकबहादुर गोदारका अनुसार आफूहरुलाई सहकारीले पशुवीमा,गाईभैसी खरीद गरेर गोठमा ल्याउनका निम्ति ढुवानी खर्च बढी हुन्छ । त्यसैगरी गाईभैसी सुत्केरी हुँदा पोषण खर्च, कृत्रिम गर्भाधान, सहकारीबाटै चोकर, दाना, भिटामीन तथा औषधीहरूको व्यवस्थापन भइरहेको तर त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।
डुम्रेमा दूग्घ कृृषि सहकारी सञ्चालनमा आएपछि स्थानीय किसानहरुले आर्थिक उपलब्धि समेत हासिल गरेका छन् । घरखर्च चलाएका छन् । गर्जो टारेका छन् । किसानहरुले थोरैमोरै पैसाका लागि साहुकहाँ ऋण थाप्न जान परेको छैन । आफ्नो सहकारी हो भन्ने भावनाको विकास हुँदै गएको अध्यक्ष खाणले बताए ।
किसानका पनि आफ्नै समस्या छन् । लगानी बढाउन पशुको भाउ बढ्दै गएको छ । दाना, औषधी, भिटामीनको भाउ आकासिएको तर सो अनुसार किसानका दूधको मूल्य समानुपातिक तरिकाले बढ्न नसकेकोमा आफू चिन्तित रहेको बताउँदै दूधमा दिदै आइएको अनुदान समयानुकूल बढाउनु पर्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । स्थानीय सरकारले कृषिमैत्री नीतिमा जोड दिदै आएतापनि त्यो काफी नभएको र आगामी दिनमा उनीहरुका माग,आवश्यकताका आधारमा पशुपालक किसानहरुलाई राहत प्रदान गर्न आफूहरु तयार रहेको उनले बताए ।
कठोर मिहिनेत गर्ने पशुपालकहरुका समस्याहरुलाई स्थानीय,प्रदेश र संघीय सरकारले कृषिमैत्री नीतिमा ध्यान दिनुपर्ने किसानहरुले बताएपनि लगानी अनुसारको प्रतिफल नपाएको भन्दै निरास हुनेहरु बढेका छन् ।
पढेलेखेका युवाहरु विदेशिने तथा गाउँबाट सहरतिर बसाइसर्ने चलनले गाउँमा कृषि तथा पशुपालन पेसा सोचजस्तो हुन नसकेको बताउने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले–डुम्र्रेको दूघजन्य तथा कृषि उत्पादनलाई बढवा दिनका निम्ति बुटवल उपमहानगरपालिकाले हाटबजारमा रहेको सटरको व्यवस्थापन गर्ने बताइन् । त्यसो हुन सकेमा बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
उपप्रमुख अर्यालले डुम्रे दुग्ध सहकारीको अवलोकनपछि आफू अति नै प्रभावित भएको र किसानहरुलाई सक्दो सहयोग गर्न सम्बन्धित पालिकाहरुले कृषि,पशुमैत्री नीति निर्माणमा जोड दिने बताइन् ।
सहकारी अभियान्ता दलबहादुर गुरुङका अनुसार सहकारी गाउँठाउँको सहयोगीदाता हो । यसबाट आर्थिक लाभमात्र होइन प्रत्यक्ष,अप्रत्यक्ष सामाजिक लाभ भइरहेको छ । हजारौले रोजगार पाएका छन् । लाखौंले नेतृत्वको अवसर प्राप्त गरेका छन् । सहकारीबाट नेतृत्व गर्नेहरु अहिले स्थानीय, प्रदेश र संघीय निर्वाचनमार्फत आफ्नो क्षमता देखाउने स्थानमा पुगेका छन् ।
यसले हरप्रकारले आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको छ । देशमा अनेक प्रकारका सहकारी छन् । कोही बचत तथा ऋण सहकारी,कोही, कृषि सहकारी,कोही दुग्घ कृषि सहकारी,कोही बहुउद्देश्यीय सहकारी,कोही स्वास्थ्य सहकारी,कोही उपभोक्ता सहकारी भेटिन्छन् । तर गाउँमा उत्पादनमूलक क्षेत्रमा काम गरेका सहकारी किसानका वास्तविक सारथी बनेको गुरुङ बताउँछन् ।
उनका अनुसार सहकारी खासमा ऐचौंपैचो हो । अर्मपर्म हो । एक आपसको आर्थिक लेनदेन हो तर व्यवस्थित । सहकारी सहयात्रा, सहकार्य र समन्वय गर्ने संस्था भएकाले यहीअनुसार चल्नुपर्ने उनको भनाइ छ । केही सहकारीको नीतिगत तथा व्यवस्थापकीय कमजोरी र सरकारी अनुगमन,निगमन अभावका कारण समग्र सहकारीमाथि नै नकारात्मक प्रचार बढेकोमा आफूलाई चिन्ता लागेको गुरुङ बताउँछन् ।