ट्याक्सीको वर्गअनुसार भाडादर हुने, विशिष्टले सय प्रतिशत बढी लिन पाउने
काठमाडौं । सरकारले ट्याक्सीको लागि प्रयोग हुने सवारीको भाडादर निर्धारण गर्ने भएको छ । यसका लागि नयाँ मापदण्डको मस्यौदा तयार गरेको छ ।
यातायात व्यवस्था विभागले तयार गरेको ट्याक्सीको लागि प्रयोग हुने सवारीसम्बन्धी मापदण्डको मस्यौदामा उल्लेखित विषयका सन्दर्भमा परामर्श लिन मापदण्ड सार्वजनिक छलफलमा ल्याएको छ ।
विभागले तयार पारेको मापदण्डअनुसार ट्याक्सीलाई तीन वर्गमा विभाजन गरेर भाडादर निर्धारण हुनेछ । साधारण वर्गको ट्याक्सीले मापदण्डअनुसार सरकारले तोकेको भाडादरमात्रै लिन पाइनेछ । विशेष वर्गको ट्याक्सीको भाडादर साधारणको भन्दा २० प्रतिशत बढी हुनेछ । विशिष्ट वर्गको ट्याक्सीको भाडादर भने शत प्रतिशतभन्दा बढी लिन पाइने व्यवस्था गरिएको छ ।
साधारण ट्याक्सी ८०० सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । यसमा मनोरञ्जनको लागि कम्तीमा सवारीको अगाडि पछाडि साउण्ड सिस्टम भएको हुनुपर्नेछ ।
विशेष ट्याक्सी १२०० सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । यसमा मनोरञ्जनको सवारीसाधनमा अगाडि पट्टि साउण्ड सिस्टम, टचस्क्रिमसहितको डिस्प्ले स्क्रिन कम्तीमा एउटा, विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, एसी र पछाडि रिडिङ ल्याम्प हुनुपर्नेछ ।
यस्तै विशिष्टीकृत ट्याक्सी २ हजार सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । यसमा विशेषखालको ट्याक्सीमा हुने सुविधासहित अन्य सुविधा पनि हुनुपर्नेछ । जसमा पछाडिको सीटमा शिर अड्याउने हेटरेष्ट, पछाडिको यात्रुका लागि हात अड्याउने आर्म रेष्ट, अगाडि पछाडि कप होल्डर, इन्टरनेट सुविधा, अगाडिको शीर कक्ष र पछाडिको शीरकक्ष कम्तीमा हजार मिमि र ९५० मिमि हुनुपर्नेछ । अगाडिको पाउ कक्ष र पछाडिको पाउ कक्ष पनि शीरकक्षको जस्तै दूरीमा हुनुपर्नेछ ।
ट्याक्सीको छतमा पहेलो रंग लगाएको हुनुपर्नेछ । साधारण (अर्डिनरी), विशेष (डिलक्स) तथा विशिष्ट (लक्जरी) वर्गको ट्याक्सीमा क्रमशः ओ, डी र एल लेखेको स्टिकर टाँस्नुपर्नेछ ।
विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यसअघि साधारण प्रकृतिका र पर्यटक चढ्ने ट्याक्सीहरु प्रचलनमा रहेको बताए । विभागले पहिलोपटक ट्याक्सीको वर्गीकरण गर्न लागेको हो ।
विभागको मापदण्डमा यही असार ४ गतेभित्र सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।