खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो – Nepal Press
नक्कली शरणार्थी प्रकरण

खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो

बालकृष्ण खाणको घरबाट बरामद कागज नक्कली भएको दाबी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई फसाउनकै लागि प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरेका छन् ।

खाणको पक्षमा बहस गर्दै घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्न लगाइएको जिकिर गरेका छन् ।

केशव दुलालले खाणलाई गृहमन्त्रालयमा पुगेर बुझाएको भनिएको १ करोड २४ लाखको पनि कुनै प्रमाण नभएको उनको दाबी छ । दुलाललाई प्रहरी हिरासतमा जबर्जस्ती बयान गर्न लगाइएपनि पछि इन्कारी बयान दिएको घिमिरेको भनाइ थियो ।

उनले भने, ‘प्रहरीले खाणविरुद्ध प्रमाण आफैँ बनाएर फसाएको छ । केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । अहिले उनले इन्कारी बयान दिएका छन् । जबर्जस्ती कसैले बोलेको भरमा कुनै प्रमाण नै नपुगी फसाउन पाइन्छ ? केशव दुलालले गृहमन्त्रालय पुगेर पैसा दिएको भनिएको छ । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन । कसैले भनेका आधारमा थुन्न पाइन्छ ?’

यस्तै उनले टेकनारायण पाण्डेलाई पनि प्रहरीले दबाबमा राख्दै पटकपटक बयान गर्न लगाएर खाणको नाम मुछ्न लगाइएको आरोप लगाए ।

घिमिरे सरकारी वकिलमाथि खनिएका छन् । उनले भने, ‘प्रहरीले गरेको अनुसन्धन ठीक छ कि छैन भनेर सरकारी वकिलले हेरेन पूरै आँखा चिम्लेको छ । मान्छे फसाउनकै लागि प्रहरीको घेराभित्र बयान गर्न लगाइएको छ । सरकारी वकिलले राम्रोसँग काम नगरेको कारण प्रहरीका धेरै अनुसन्धान विवादित छन् ।’

पुरानो सरकारले गरेका नीतिगत निर्णयहरू कार्यान्वयन गरेर खाणले कुन अपराध गरे ? भन्दै घिमिरेले इजलासमा प्रश्न गरेका छन् ।

उनले भने, ‘बालकृष्ण खाणले कुन अपराध गरे ? अघिल्लो सरकारले गरेका नीतिगत निर्णय मात्रै अगाडि बढाएका हुन् । अघिल्लो सरकारको कामलाई निरन्तरता दिनु चाँही जिम्मेवारी हो । २०७५ साल मंसिर २ गते निर्णय भएको रहेछ । २०७६ साउन २ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल हुँदा समिति बनेको रहेछ । पछि त्यही कामलाई खाणले २०७९ सालमा निरन्तरता दिइएको छ । त्यो पनि ठोस राय दिनका लागि भनेर । अघिल्लो सरकारले गरेको कामलाई अगाडि बढाउँदा कहाँनेर अपराध भयो ?’

उनले बालकृष्ण खाणको साथबाट बरामद गरिएको भनिएको कागज पनि प्रहरीले नक्कली खडा गरेको आरोप लगाए ।

उनले भने, ‘कागजमा कसैको हस्ताक्षर छैन । खाण आफैंले पनि स्वीकार गरेका छैनन् । कहाँबाट बरामद गरेको भन्ने पनि छैन । त्यस्तो चिजलाई सरकारी वकिलले प्रमाणको रुपमा लिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर