दीपेन्द्रलाई अन्तर्राष्ट्रिय लिगमा उदाउने अवसर, ब्याटिङको लय फर्काउलान् ? – Nepal Press

दीपेन्द्रलाई अन्तर्राष्ट्रिय लिगमा उदाउने अवसर, ब्याटिङको लय फर्काउलान् ?

काठमाडौं । नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलोपटक अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइज लिगमा अवसर पाएका छन् । स्पिनर सन्दीप लामिछानेसँगै उनी क्यानाडामा आयोजना हुने ग्लोबल टी-२० लिगको तेस्रो संस्करणका लागि छानिएका हुन् ।

नेपालका क्रिकेटका ‘फुल प्याकेज’ का रुपमा दीपेन्द्रको पहिचान छ । ब्याटिङ र बलिङ दुवैमा उनी अब्बल छन् भने फिल्डिङमा उत्तिकै चुस्त छन् । अलराउन्डरको विश्व वरियतामा उनी नवौं स्थानसम्म पुगेका थिए । आईसीसी वरियताको टप टेनमा पुग्ने उनी नेपालका एकमात्र खेलाडी हुन् ।

नेपाललाई यो स्तरसम्म ल्याइपुर्‍याउन मुख्य योगदान दिने टीमका महत्वपूर्ण सदस्य हुन् दीपेन्द्र । यद्यपि पछिल्लो समय खराब ब्याटिङ फर्मबाट गुज्रिरहेका छन् । नेपाली टीमका नयाँ प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ क्रममा तल झारिदिएपछि दीपेन्द्रको ब्याट चल्न छाडेको हो ।

विश्वकप लिग २ अन्तर्गतका १२ खेलमध्ये नेपालले ११ खेल जित्दा उनले एउटामात्रै अर्धशतक प्रहार गरे । स्कटल्यान्डविरुद्ध म्याच विनिङ पारी खेल्दै अविजित ८५ रन बनाएका दीपेन्द्रले बाँकी ९ म्याचमा बनाएको उच्च स्कोर ३४ रन थियो । कुल मिलाएर ९ खेलमा उनले १०० रन जोडेका थिए ।

त्यसपछि नेपालमै आयोजित एसीसी प्रिमियर कपमा पनि दीपेन्द्रको ब्याट फ्लप भयो । उनले ४ खेलमा कुल २४ रनमात्रै जोड्न सके । दक्षिण अफ्रिकामा नेपालले खेलेका दुई अभ्यास खेल र जिम्बावेमा हिजो खेलेको वार्म अप खेलमा पनि दीपेन्द्र चलेनन् ।

दीपेन्द्रको ब्याटिङ नचल्दा नेपाली टीममा दबाब बढिरहेको छ । जिम्बावेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरअघि नेपाल जसरी पनि उनको ब्याटिङ फर्म फिर्ता ल्याउन चाहन्छ । त्यसैले उनलाई तीनवटै अभ्यास खेलमा प्लेइङ ११ मा समावेश गरिएको थियो । तर, दीपेन्द्र त्यसमा चुके । त्यसैले अब ग्लोबल क्वालिफायर्समा उनले स्थान पाउने नै अनिश्चित बनेको छ । नेपालले एसीसीका पछिल्ला दुई खेलमा उनलाई बेञ्चमा राखेको थियो ।

बलिङतर्फ भने दीपेन्द्र स्थिर छन् । हरेक म्याचमा उनले किफायती बलिङ गर्नुका साथै महत्वपूर्ण विकेटहरु लिँदै आएका छन् । त्यसैले उनको स्थानमा विशेषज्ञ ब्याट्सम्यान राख्दा नेपालको बलिङमा धक्का पुग्छ । बलर राख्दा ब्याटिङमा । अर्कोतर्फ दीपेन्द्रले धारिलो फिल्डिङबाट गर्ने सेवा पनि नेपालका लागि महत्वपूर्ण छ ।

फ्यानहरुले ‘टाइगर’ उपनाम दिएका दीपेन्द्र टी-२० मा भने अहिले पनि नेपालका प्रमुख अस्त्र हुन् । एक दिवसीयमा ब्याट नचलेपछि टी-२० मा उनको प्रदर्शन उत्कृष्ट नै छ । त्यसकै आधारमा उनी क्यानाडाको लिगमा छानिएका हुन् । उनले आफूलाई पुनः प्रमाणित गर्नेमात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउने अवसर पनि बन्नसक्छ क्यानाडाको ग्लोबल टी-२० लिग ।

अलराउन्डरको भूमिकामा भए पनि दीपेन्द्रको बढी योगदान ब्याटिङबाटै अपेक्षित छ । उनले आफ्नो फर्म फर्काउने सबैभन्दा उत्तम अवसर भनेको विश्वकप क्वालिफायर नै हो । यदि त्यसमा पुरानो दीपेन्द्र फर्किए भने नेपाली टीमकै निम्ति सुखद खबर हुनेछ । उनी नेपालका एक म्याच विनर हुन् ।

जिम्बावेमा दीपेन्द्रको ब्याट चल्नुको अर्थ क्यानाडाको लिगअघि उनको आत्मविश्वास फर्किनु पनि हो । यो लिग व्यक्तिगत रुपमा उनका लागि निकै महत्वपूर्ण हुनेछ । यदि आफूलाई प्रुफ गर्न सके भने अन्य फ्रेन्चाइजहरुमा ढोका खुल्नसक्छ, जसरी सन्दीपले आईपीएलमा अवसर पाएपछि विश्वभरका लिगमा छाएका थिए ।

दीपेन्द्रलाई खरिद गर्ने टीम मोट्रियल टाइगर्समा विश्वस्तरका थुप्रै खेलाडीहरु छन् । बंगलादेशका सकिब अल हसन, वेस्ट इन्डिजका आन्द्रे रसेल, कार्लोस ब्राथह्वाइट, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीहरुसँग ड्रेसिङ रुम शेयर गर्न पाउनु पनि उनका लागि ठूलो कुरा हो । यद्यपि उनी आफूलाई मैदानमा नै सावित गर्न आतुर हुनेछन् । त्यसका लागि टीमले उनलाई कति मौका दिन्छ भन्ने पनि हेर्नुपर्छ ।

यसअघि यही लिगमा नेपालका सोमपाल कामी पनि छनोट भएका थिए । उनले केही म्याचमा अवसर पनि पाए । तर, अपेक्षित प्रदर्शन गर्न सकेनन् । त्यसपछिका संस्करणमा उनी छनोट भएनन् । यदि दीपेन्द्रले राम्रो पर्फम गरे भने अरु नेपाली खेलाडीका निम्ति पनि बाटो खुल्नसक्छ ।

ग्लोबल टी-२० क्यानाडा आउँदो जुलाई २० देखि अगष्ट ६ सम्म आयोजना हुँदैछ । यसमा ६ वटा टीमले प्रतिस्पर्धा गर्नेछन् ।

दीपेन्द्र आवद्ध टीमको स्क्वाड यसप्रकार छः

सकिब अल हसन (बंगलादेश)
आन्ड्रे रसेल (वेस्ट इन्डिज)
क्रिस लिन (अष्ट्रेलिया)
सेर्फान रदरफोर्ड (वेस्ट इन्डिज)
कार्लोस ब्राथह्वाइट (वेस्ट इन्डिज)
जाहिर खान
मुहम्मद वसिम (अफगानिस्तान)
अकिफ राजा (यूएई)
आयान खान (यूएई)
दीपेन्द्र ऐरी (नेपाल)
कलीम साना
श्रीमन्था विजरत्ने (क्यानाडा)
म्याथ्यू स्पुर्स (क्यानाडा.
भुपेन्द्र सिंह
दिलप्रीत सिंह (क्यानाडा)
अनुप चिमा (क्यानाडा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर