‘सरकारले खुला छोड्दा सहकारीले हाम्रो बचतमा मनपरी गर्‍यो’ – Nepal Press
नेपाल टक

‘सरकारले खुला छोड्दा सहकारीले हाम्रो बचतमा मनपरी गर्‍यो’

सहकारी बचतकर्ता पीडित महासंघकी अध्यक्ष सुनिता राजभण्डारी भन्छिन्- हाम्रो माग सम्बोधन नभएसम्म सडक आन्दोलन छोड्दैनौं

हामीले थारै थारै गरेर सहकारीमा पैसा जम्मा गरेका हौं, हामीले बचत गरेको पैसा फिर्ता चाहियो भनेर नै आन्दोलन भएको होः अध्यक्ष भण्डारी

काठमाडौं । अहिले माइतीघर मण्डलामा सहकारीमा राखेको पैसा नपाएको भन्दै पीडितहरु आन्दोलन भइरहेको छ । अघिल्लो शनिबारदेखि सुरु गरिएको सडक आन्दोलन निरन्तर छ । सहकारीमा बचत गरेको पैसा नपाएकाहरुलाई न्याय दिन सरकारले समिति गठन गरिसकेको छ । तर पनि पीडितहरु सडक आन्दोलन गरिरहेका छन् ।

देशभर ३२ हजार बढी सहकारी छन् । तीमध्ये केही सहकारीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । पटक पटक धाउँदा पनि सहकारीबाट निक्षेप फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । यसै विषयमा केन्द्रित रहेर सहकारी बचतकर्ता पीडित महासंघ नेपालको संघर्ष समितिकी अध्यक्ष सुनिता राजभण्डारीसँग नेपालप्रेसकर्मी अंकुश विष्टले गरेको कुराकानीः

– सरकारले समस्या समाधान गर्न समिति बनाइसक्दा पनि तपाईंहरु आन्दोलनमा हुनुहुन्छ ? के सरकारप्रति विश्वास छैन ?

सरकारको कदमलाई हामी सम्मान गर्छौं, स्वागत पनि गर्छौं । तर, हामीले जुन माग राखेका छौं, त्यो माग वार्तामा सम्बोधन हुन्छ कि हुँदैन त्यसको प्रतीक्षामा छौं । सरकारलाई विश्वास कसरी गर्ने ? अहिलेसम्म के गर्‍यो ? विभिन्न सहकारीको १२ वर्ष भैसक्यो मुद्दा जितेको तर पनि बचत फिर्ता पाइएको छैन । यस्तो हुँदा हामीले कसरी विश्वास गर्ने ?

मुद्दा जितेर पनि पैसा फिर्ता पाइने अवस्था छैन । गुनासो गरेर साध्य पनि छैन र कति गुनासो गर्नु ? गुनासोको लागि हामी स्थानीय तहदेखि केन्द्रसम्म धाइरहेका छौं । कतैबाट पनि हाम्रो मागको सम्बोधन नभएपछि सडकमा आउनुपरेको हो ।

– तपाईंहरुको आन्दोलन कसरी अगाडि बढिरहेको छ ?

हामीले शनिबार आन्दोलनको घोषणा गरेका थियौं । त्यसैलाई निरन्तरता दिइरहेका छौं । आन्दोलन अझै कडा बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ । सरकारले हाम्रो कुरा सुनेन । शान्तिपूर्ण तरिकाले आन्दोलनमा छौं । कुनै हंगामा गर्दैनौं । नयाँ नयाँ तरिकाले आन्दोलनलाई अगाडि बढाइरहेका छौं ।

सरकारले नै सहकारी चलाएको हो । सहकारीका नियामकहरुले अनुगमन नगरेसम्म समस्याको समाधान हुँदैन । सरकारले सहकारीलाई कडा गर्नुपर्‍यो ।

– सहकारीले बचत किन फिर्ता गर्न नसकेनन् ?

सबै सहकारीले पीडितहरुलाई आर्थिक मन्दीको कारण भनिएको छ । तपाईंले उल्टै हामीलाई च्याप्नुभयो, दबाब दिनुभयो भन्छन् । हामीलाई समय दिनुस्, हामी बचत दिन्छौं भन्नुहुन्छ । त्यतिमात्रै हो ।

– आन्दोलन गरेर पीडित बचतकर्ताहको समस्या समाधान हुन्छ त ?

आन्दोलनबाट समाधान हुन कठिन छ । तर, सरकारले नै सहकारी चलाएको हो । सहकारीका नियामकहरुले अनुगमन नगरेसम्म समस्याको समाधान हुँदैन । सरकारले सहकारीलाई कडा गर्नुपर्‍यो । जे जे गरेपनि गरोस् भनेर खुला छोड्नुभएन । सरकारको कुनै निकायले यसलाई चलाओस् ।

हामीले सहकारी महासंघमाा गएर पनि किन तपाईंले खुला छोड्नुभएको भनेरसमेत प्रश्न गरेका थियौं । उहाँहरुले पनि हाम्रो हातमा थिएन, माथिको निकायमा थियो भन्ने जवाफ दिनुभयो ।

– सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन केगर्नुपर्छ ?

सहकारी हामीलाई चाहिन्छ । किनभने गाउँघरदेखि बैंकसम्म सबैको पहुँच हुँदैन । घरघरमा गएर बचत गर्ने त्यो राम्रो हो । सहकारीलाई छाडा छोड्नुभएन । बचतकर्ताको पैसा जथाभावी लगानी गर्न भएन । सरकारको कुनै एउटा निकायले यसलाई कडा तरिकाले चलाउनुपर्छ । बैंकहरुले केही गरे भने त्यसलाई हेर्ने नेपाल राष्ट्र बैंक छ । त्यस्तै सहकारी हेर्ने पनि कुनै निकाय तोक्नुपर्‍यो ।

– सडकमा रहेका पीडित बचतकर्ताहरुको अवस्थामा कस्तो छ, के चाहन्छन् पीडितहरु ?

अहिले एकदमै गाह्रो छ । काठमाडौं आउन नसकेका पीडितहरुले हाम्रो माग के भइरहेको छ भनेर समेत फोनमा सोध्ने गर्नुभएको छ । दिनकै ५०औं फोन आउने गर्छन् ।

सबैले हाम्रो माग कहिले पूरा हुन्छ भनिरहेका छन् । सरकारलाई म बिन्ती गर्छु । हाम्रो माग चाँडै पूरा गरिदिनुस् । जनतालाई यति दुःख नदिनुस् । हामीले अरु केही पनि मागेको होइन । आफ्नो बचत गरेको पैसा फिर्ता मागेका हौं । हामीले एक-दुई रुपैयाँ गरेर गरेको बचत फिर्ता मागेको हो । सहकारी हामीलाई चाहिन्छ । सहकारीको विरुद्धमा आन्दोलन गरेको पनि होइन । सहकारीको छाडापनविरुद्ध आन्दोलन गरेको हो ।

हामी अहिलेसम्म ४१ सहकारी संस्थाका पीडितहरु आवद्ध भएका छौं । सबैले आ-आफ्नो तरिकाले तथ्याङ्क राखेका छन् । अर्बौं रुपैयाँ बचत रकम फिर्ता हुन सकेको छैन ।

– पीडितहरुको संख्या कति पुग्यो ?

हामी अहिलेसम्म ४१ सहकारी संस्थाका पीडितहरु आवद्ध भएका छौं । सबैले आआफ्नो तरिकाले तथ्याङ्क राखेका छन् । अर्बौं रुपैयाँ बचत रकम फिर्ता हुन सकेको छैन ।

– महासंघमा पीडितहरुले नै नेतृत्व गरिरहेका छन् त ?

सांगठनिक हिसाबले मेरो अध्यक्षतामा १६ जनाको टीम बनाएर कार्यविभाजन भएको छ । सोहीअनुसार काम गरिरहेका छौं । काठमाडौं बाहिरबाट पनि आइरहेका छन् । दिन प्रतिदिन सबै पीडितहरु जोडिँदैछन् । सरकारले छिटोभन्दा छिटो सम्बोधन गरेन भने आन्दोलनले व्यापक रुप लिन्छ । अहिले ७७ जिल्लामा पीडितहरु छन् । सहकारी कहाँ छैनन् ? गाउँगाउँमा, २-४ घर छोडेर सहकारी खुलेका छन् ।

– सरकारले समिति बनाएपछि तपाईंहरुको समस्याको समाधान हुन्छ नि ?

गृहमन्त्री हाम्रो लागि समस्या सम्बोधन गर्न आएका होइनन् । चुरेको समस्या सुन्न आएका बेला हामीले जबरजस्ती हाम्रो समस्या सुनिदिनुस् भनेर बोलाएका हौं । सरकारले हाम्रो समस्यालाई सम्बोधन गरोस् भन्न चाहन्छौं । हामी यसै पनि पीडामा छौं । सबैको केही न कही व्यवसाय छ । घरबार नै बिग्रन थाल्यो । श्रीमानश्रीमतीको ‘डिभोर्स’ हुने, कतिपय क्यान्सर पीडितसमेत आन्दोलनमा छन् । चन्दा मागेर खानुपर्ने अवस्थामा पुगिसकेका छन् । यो अवस्थामा नपुर्‍याइदिन हाम्रो माग हो ।

– सहकारी कालो धनलाई सेतो बनाउन प्रयोग भइराखेको कुरा पनि उठेको छ । यो सत्य हो ?

त्यस्तो होला । त्यस्तो कुरा राज्यले छानबिन गर्ने हो । संघर्ष समितिले छानबिन गर्ने होइन । सहकारीलाई सरकारले दर्ता गर्न दिएको हो । सहकारीलाई जनतासमक्ष पठाएको हो । तर, नियमन किन गर्न सकेन सरकारले ? कारबाहीको दायरामा राख्न किन सकेन ? तिमीहरुको क्षमता यति मात्रै हो योभन्दा बाहिर जान पाउँदैनौं भनेर सरकारले त्यो दायराभित्र राख्न सक्नुपर्थ्यो । त्यो सरकारको दायित्व हो । बैंक होइनन् सहकारी ।

सहकारीलाई जनतासमक्ष पठाएको हो । तर, नियमन किन गर्न सकेन सरकारले ? कारबाहीको दायरामा राख्न किन सकेन ? तिमीहरुको क्षमता यति मात्रै हो योभन्दा बाहिर जान पाउँदैनौं भनेर सरकारले त्यो दायराभित्र राख्न सक्नुपर्थ्यो ।

सहकारीले बैंकको काम गरिहेको छ । त्यसलाई रोक्ने काम सरकारको हो । यो प्रश्न महासंघलाई भन्दा सरकारलाई गर्न चाहंन्छौं ।

– सहकारीको अवधारणा नै खुकुलो किसिमको बनाइएको छ नि ?

यहीँ ठाउँमा गल्ती भयो । १० वर्ष पहिला जुन नियम थियो, त्यतिबेला सबै सहकारी राम्रै थिए । बाँधिएका पनि थिए । सहकारी खुम्चिएका थिए । त्यो सीमाभन्दा बाहिर जान सकेका थिएनन् । सहकारीको स्वनियमनले गर्दा यो अवस्थामा आएको हो ।

– तपाईंहरुका माग के के छन् ?

सबैभन्दा पहिला बचतकर्ताहरुकको बचत फिर्ता हुनुपर्‍यो । साँवा र ब्याज बचत फिर्ता गर्नुपर्‍यो भन्ने हो । सहकारी हामीलाई चाहिन्छ र सहकारी राष्ट्र बैंकमार्फत चल्नुपर्‍यो । सरकारले सहकारीलाई निगरानीमा राख्नुपर्‍यो ।

– सडक कहिले छोड्नुहुन्छ, कसरी छोड्नुहुन्छ ?

सरकारले वार्ता टोली गठन गरेको छ । हाम्रो माग सम्बोधन भयो भने हामी छोड्छौं । हाम्रो पनि रहर होइन, बाध्यता हो । घरबार नभएर होइन । सडकमा आउने बाध्यता हो । जति छिटो हाम्रो माग सम्बोधन गरिन्छ । त्यति छिटो आन्दोलन छोड्छौं ।

सरकारले आएर हामीलाई माग सम्बोधन गर्छौं भन्नुपर्‍यो । कति समय दिने १ दिन, १ हप्ता, १ महिना सरकारले समय दिनुपर्‍यो । यति समयमा तपाईंको समस्या समाधान गर्छाैं होइन भने तपाईं सडकमा आउनुहोला भन्नुपर्‍यो ।

हामीलाई बोलीले हुँदैन लिखित रुपमा चाहिन्छ । किन भने महासंघको अध्यक्षको हैसियतले लाखौं पीडितको आवाज बोलिरहेको छु । मैले लाखौं जनतालाई जवाफ दिनुपर्छ । यति समयमा तपाईंको माग यो-यो बुँदामा संविधानलाई टेकेर समाधान गर्छाैं भन्नुपर्‍यो । हामी सडक छोड्न तयार छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *