पञ्चयातकालमा पनि देशको राष्ट्रियता यति खतरापूर्ण थिएन : उपमहासचिव ज्ञावली
हेटौँडा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले गठवन्धन सरकारको कारण देशको राष्ट्रियता खतरापूर्ण अवस्थामा पुगेको बताएका छन् । इतिहासदेखि हालसम्म कसैको अधीनमा नरहेको नेपालको भू-भाग समेटेर भारतको संसद भवनमा नक्सा राख्दासमेत नेपाल सरकारले एक शब्द पनि बोल्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको भन्दै उपमहासचिव ज्ञावलीले पञ्चयातकालीन समयमा पनि राष्ट्रियताको विषय यतिधेरै गम्भिर नभएको बताए ।
उनले भने, ‘बरु पञ्चयातकालमा आम जनतामाथि दमन थियो तर राष्ट्रियताको विषयमा कमजोर निर्णयहरु भएका थिएनन्, तर गठवन्धनको सरकारले राष्ट्रियता खतरामा पर्ने कदम चालिरहेको छ, यो देशको लागि खतराको घण्टी हो ।’
नेकपा एमाले मकवानपुरले आजबाट हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञावलली प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणले देशको स्वाभिमानमा आँच आएको बताए । भारतले चाहेको विषयहरु ‘क्यास’मा सम्झौता गरेको भन्दै ज्ञावलली भ्रमणले नेपाल हितको कुनै काम नगरेको बताए ।
भारतले जिम्मा लिएका कुनै उर्जासम्वन्धी सम्झौताहरु दशकौबाट बेहाल रहेको अवस्थामा थप नदिहरु भारतलाई सुम्पने राष्ट्रघात प्रधानमन्त्रीको भारत भ्रमणमा भएको भन्दै उनले राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा बताए ।
अहिले देशको आर्थिक अवस्था नाजुक मोडमा पुगेको बताउँदै ज्ञावलीले सरकारले बिचौलियाहरुको इसारमा बजेट निर्माण गरेर देश कंगाल पार्ने दिशामा अघि बढेको बताए ।
देशमा ‘इभि’ सबारीलाई प्रोत्साहन गर्नुपर्नेमा थप कर बढाएर आम नागरिकको पहुँचबाट टाढा राख्ने खेल भएको र कर बढाउने सूचना चुहाएर बजेटको केहि समय अघि हजारौ सबारीहरु नेपाल भित्राईएको उनको भनाई रहेको छ ।
देशको आर्थिक अवस्था जर्जर रहेको अवस्थामा समेत सरकार कानमा तेल हालेर बसको बताउँदै उनले यस्तै अवस्था आएमा देशले ठुलो संकटको अवस्था बेहोर्नुपर्ने बताए ।
‘देश अहिले कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्थामा पुगेको छ, तर सरकारलाई यो विषयमा कुनै चिन्ता नै छैन, उनीहरु कसरी बिचौलिया प्रयोग गरेर देशको अर्थतन्त्रलाई धरापमा पर्ने भन्ने रणनीतिमा लागेका छन, यो सम्पूर्ण नेपालीको लागि दुर्भाग्यपूर्ण विषय हो’, उमहासचिव ज्ञावलीले भने ।