६ महिनामै सांसदहरूको लोगो फेर्ने तयारी, साढे ५ लाख व्ययभार थपिने (भिडिओ)
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूका लागि फेरि नयाँ डिजाइनको लोगो (ब्याच) बनाउने तयारी थालिएको छ । पुस १५ गतेमात्रै साढे ५ लाख खर्च गरेर सांसदहरूलाई सुन र चाँदीजडित लोगो प्रदान गरिएको थियो । तर, त्यो लोगोको स्वरूप ठीक नभएको र केही थप गर्नुपर्ने भन्दै पुन: अर्को लोगो बनाउन लागिएको हो । यसबाट प्रदेशसभालाई थप व्ययभार पर्नेछ ।
प्रदेशसभामा लोगो नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा सबै दल र स्वतन्त्र सांसद रहेको लोगो संशोधन समिति गठन गरिएको छ । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल सदस्य छन् । राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि सदस्यमा राखिएको छ ।
सभामुख भीम भण्डारीको कार्यकक्षमा आज बसेको समितिको पहिलो बैठकले प्रदेशका वर्तमान र पूर्वसांसदसँग ७ दिनभित्र छलफल गर्ने निर्णय गरेको हो । त्यसलगत्तै अन्य सरोकारवालासँग पनि छलफल गरेर नयाँ स्वरूपको लोगो तयार गर्ने तयारी भइरहेको समिति संयोजक पदम शाहीले जानकारी दिए ।
‘अहिलेको लोगोमा केही अस्पष्टता छ । नेपाली झण्डामा सूर्य र चन्द्रमा पनि छैन’ उनले भने ‘नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशलाई फोकस गर्ने गरि नयाँ लोगो तयार गर्ने कुरा भएको छ ।’
चौथो पटक बन्दैछ लोगो
दोस्रो कार्यकालको पहिलो वर्ष पनि पूरा नहुँदै प्रदेशसभा सदस्यको लागि चौथो पटक लोगो बनाउने तयारी भइरहेको छ । यसअघि सुरूमा धातुको लागो निर्माण गरिएको भएपनि त्यसयता सुन र चाँदीजडित लोगो तयार गरिएको हो ।
पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना प्रदेशसभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाखभन्दा बढी खर्च गरिएको थियो । त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भएपनि त्यसयता सुन र चाँदी लेपेर बनाउन थालिएपछि खर्च बढेको हो ।
२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिकरूपमा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको हो । त्यसलगत्तै असार १७ गते ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयलाई इष्टिमेट मागेर सुन र चाँदी जोडिएको नयाँ लोगो तयार गर्न भनिएको थियो । त्यसबेला २ लाख ८५ हजारको सुनमात्रै प्रयोग गरिएको थियो । ६९ हजार ८२५ रूपैयाँको चाँदी प्रयोग गरिएको उक्ता त्यो लोगो तयार गर्न प्रदेशसभाले ५ लाख ५५ हजार १ सय रूपैयाँ खर्च गरेको थियो । ६० वटा बनाइएको उक्त सुनचाँदी जडित लोगो सांसदहरूले कार्यकाल सकेपछि फिर्ता गरेनन् ।
त्यस बेला एउटा लोगोको मूल्य करिब ७ हजार ९३० रूपैयाँ परेको थियो । प्रदेशसभा सदस्यहरूले चुच्चे नक्सासहितको सुनचाँदी जडित लोगो फिर्ता नगरेपछि प्रदेशसभाले तेस्रो पटक सुनचाँदी जडित लोगो बनाएको हो ।
यस पटक प्रदेशसभा सदस्यहरूले लगाइरहेको लोगोमा १ लाल सुन र १ तोला चाँदी छ । ५ लाख ४९ हजार ३३३ रूपैयाँ खर्चेर बनाइएको लोगो फेरि परिवर्तन गर्ने प्रदेशसभा सचिवालयको तयारी रहेको छ । अहिले प्रयोग भइरहेको लोगोमा मात्रै २ लाख ७१ हजार २०९ रूपैयाँको सुन र ८५ हजार २ रूपैयाँको चाँदी लेप लगाइएको छ ।
अहिलेसम्म प्रदेशसभा सांसदहरूले लोगो फिर्ता नगरे पनि अब नयाँ लोगो उपलब्ध गराइएपछि पुरानो सुनचाँदी जडित लोगो प्रदेश सभा सचिवालयमा बुझाउनु पर्ने सभामुख भीम भण्डारीले बताए ।
‘केही महत्त्वपूर्ण विषयहरू छुटेको हुँदा नयाँ लोगो बनाउन लागिएको हो ’, उनले भने, ‘नयाँ बनाएपछि पुरानो लोगो भने प्रदेशसभामा बुझाउनुपर्छ ।