रोजगारीमा जापान लैजाने भन्दै अवैध कम्पनीको विज्ञापन, विभागले थाल्यो कारबाही
काठमाडौ । केही व्यक्ति तथा संस्थाले जापानमा रोजगारी भन्दै विज्ञापन नै खोलेर अवैधरूपमा काम गरिरहेको खुलेको छ । बुधबार अन्नपूर्ण पोष्टमा ६ महिनाको लागि जापाको एक होटलमा रोजगारी खुलेको भनेर तलबसहित ‘विन्टर भ्याकेसन जब’ भन्दै विज्ञापन गरिएको छ ।
एनजेस्टाफले खुलाएको उक्त विज्ञापनमा फ्रि भिसा फ्रि टिकट मार्फत जापान पठाउने उल्लेख छ । तर, उक्त कम्पनी वैदेशिक रोजगार व्यवसायमा दर्ता नभएको विभागले बतायो । विभागका अनुसार त्यो कम्पनीले नेपालमा जापान पठाउन अनुमति लिएको छैन । उक्त कम्पनीको नेपाल प्रतिनिधिको रूपमा सुनिल लामाको नम्बर र नाम राखिएको छ ।
४७५ मेनपावरलाई कामदार जापान पठाउन विभागले अनुमति दिएको छ । त्यो सूचीमा एनजेस्टाफ दर्ता नभएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । उनले उक्त विज्ञापन झूट भएको पनि बताए ।
उनी भन्छन, ‘हामीले सो संस्थालाई फोन गर्दा ह्वार्टस एप नम्बर मात्र छ भन्यो, ठेगाना भनेन । ह्वाट्स एप र मेलमा जानकारी आउँछ । अन्तर्वार्ता अनलाइनबाट मात्र हुन्छ भन्यो । अब सो संस्थाको व्यक्ति कहाँ छ कसले झूटो विज्ञापन निकाल्यो त्यसको अनुसन्धान गरेर उसलाई कारबाहीको दायरामा ल्याउँछौ ।’
यता विज्ञापन जारी गरेको कम्पनीले भने पैसा नै नलिएर जापान लाने गरेको दाबी गरेको छ । कम्पनी प्रतिनिधि सुनिल लामाले ३ जना मान्छे जापान पठाइसकेको बताए । आफूले नेपालमा बसेर हेरेको तर कम्पनी जापानबाटै सञ्चालित भएको उनको भनाइ थियो ।