आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी – Nepal Press

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

बिहान बस्ने मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएदेखि निरन्तर रूपमा मुख्यसचिवमा नियुक्तिका लागि शक्ति केन्द्र धाइरहेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने बलियो सम्भावना रहेको उच्च स्रोतको भनाई छ । मुख्यसचिव वैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म मात्रै रहेको छ ।

मुख्यसचिव वैरागी र सचिव अर्यालबीच सुमधुर सम्बन्ध भएकाले पनि वैरागीले राजदूत नियुक्तिमा सहमति जनाएर सहजै राजीनामा दिने सम्भावना छ । चैतको दोस्रो साता अर्थात् डेढ महिना अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएका थिए ।

प्रधानमन्त्री कार्यालय तानिएको केहि समयपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका छन् ।

अर्यालले सचिवमा बढुवा भएको ५ वर्षको अवधिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।

नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन् । उनी मुख्यसचिव नियुक्त नभए असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् । सचिव अर्याल दूरसञ्चार सेवा प्रदायकको नियमावलीका मस्यौदाकार पनि हुन् ।

यदि सरकारले असार ३ गतेभित्र अर्याललाई मुख्यसचिव नियुक्त गरेर भने दोस्रो वरियतामा रहेका र असार ४ गते अनिवार्य अवकाशमा जाने तयारीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा तथा सुशासन हेर्दै आएका सचिव यादवप्रसाद कोइरालाको सम्भावना रहनेछ । मुख्यसचिव वैरागी र सचिव कोइरालाको सम्बन्ध पनि सुमधुर नै रहेको छ ।

यदि असार ४ गतेभित्र पनि मुख्यसचिव नियुक्त नगरेमा मुख्यसचिवका लागि असार २३ गते अनिवार्य अवकाशमा जाने तयारीमा रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्थात् सचिव रामप्रसाद थपलियाको सम्भावना रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर