भुटानी शरणार्थी ठगी प्रकरणमा न्यायाधीशले आज थुनछेक आदेश गर्ने सम्भावना कति ?
काठमाडौं। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। बिहीबार बाँकी तीन जना प्रतिवादी र सरकारी वकिल कार्यालयबाट जवाफी बहस हुने छ।
त्यसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश गर्नेछन्। बुधवार नै थुनछेक आदेश गर्ने न्यायाधीशको पूर्व तयारी भएपनि बहस लम्बिएको थियो। यसअघि मङ्गलवारसम्म प्रतिवादीको तर्फबाट बहस सकिने उनको अनुमान थियो।
बुधवार टी ब्रेकअघि तीन घण्टा सरकारी वकिलबाट जवाफी बहस सुनेपछि आदेश गर्ने तयारी गरेका न्यायाधीश न्यौपाने हाई प्रोफाइल प्रतिवादीका धेरै जना वकिलले बहस गरेपछि बिहीबार पनि आदेश दिन सक्ने नसक्नेमा अन्योलमा छन्।
टेकनाथ रिजाल र हरिकृष्ण महर्जन र लक्ष्मी महर्जनका तर्फबाट बहस हुन अझै बाँकी छ। महर्जनद्धय श्रीमान(श्रीमती हुन्। पूर्व सभासद् आङटावा शेर्पाका तर्फबाट अझै एक जना वकिलको बहस बाँकी नै रहेको छ।
भुटानी शरणार्थी नेता रिजालका तर्फबाट करिब एक दर्जन कानुन व्यवसायीले वकालत नामा भरेका छन्। यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट १५ जना कानुन व्यवसायीले बहस सुरु गरेका थिए। यो प्रकरणमा ११ दिनयता थुनछेक बहस भइरहेको छ। साँझ ६ बजेसम्म बहस सुनिरहेका न्यायाधीश न्यौपानेले बिहीबार जवाफी बहस सकिएको अवस्थामा थुनछेक आदेश सुनाउन सक्नेछन्।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर विभिन्न ४ वटा कसुर लगाउँदै मुद्दा दायर गरेको थियो। यसमा अझै १२ जना फरार छन्। न्यायाधीश न्यौपानेले धरौटी वा साधारण तारेखमा छाड्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन्। यो प्रकरणमा सरकारी वकिल कार्यालयले २८ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो।