गण्डकीमा पनि खुम्चिएर आउने बजेट
पोखरा । गण्डकी सरकारले साढे ३३ अर्ब हाराहारीमा बजेट सार्वजनिक गर्न लागेको छ ।
शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो ।
संघ सरकारले दिने अनुदान घटेको र आन्तरिक स्रोत समेत कम उठेका कारण गण्डकीको बजेट खुम्चिने बताइएको छ । संघ सरकारले दिने अनुदानमध्ये सशर्त र समानीकरण अनुदान निकै घटेको छ ।
सशर्तमा २ अर्ब ४७ करोड ६८ लाख र समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने भएको छ । चालू वर्षका लागि १६ अर्ब ५४ करोड ३२ लाख अनुदान पठाएको संघले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख पठाउने छ । विशेष अनुदानमा पनि १६ करोड कम बजेट आउनेछ ।