मधेशका अर्थमन्त्रीको गुनासो- संघले हामीलाई सबैभन्दा कम अनुदान दियो
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सात प्रदेशमा मधेशलाई सबैभन्दा कम बजेट अनुदान दिएको गुनासो गरेका छन् ।
प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले सबैभन्दा कम अनुदान प्राप्त भएको विषयलाई गम्भीर रुपमा लिएको बताए ।
उनले भने, ‘संघीय सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको मूल स्रोत भएकोले जनतासँग गरेको आफ्ना प्रतिवद्धताहरु तत्काल पूरा गर्न संघबाट प्राप्त अनुदान अपर्याप्त छ ।’
उनले संघ सरकारले संकलन गरेको राजस्व संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण हुनुपर्ने माग पनि गरे । राजस्व बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रुपमा गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनले स्मरण गराए ।