दुःख मीमांसा – Nepal Press

दुःख मीमांसा

उज्यालो रजनीको जुनेली हावाको रस जसरी शीतको थोपामा जमेर फूलमा झल्कन्छ, त्यसैगरी मान्छेको हृदयमा पनि संसारको वैचित्र्य झल्कन्छ ।

हो पनि, संसार साँच्चै नै विचित्रको छ । संसारले अनेक विचित्र देखेको छ । संसारमा कोही मरेको र रोएको देखेर हाँस्ने दार्शनिकहरू पनि छन् भने त्यस्तो देखेर अनवरत रोइरहने भावुक खालका दार्शनिकहरू पनि छन् । मिलनसँगै बिछोड उपलब्ध छ भने डुङ्गासँगै आँधी पनि उपलब्ध छ । त्यस्तै गरेर सुखसँगै दुःख पनि संसारमा चाहिए जति नै उपलब्ध छन् । यी परस्परमा विरोधी स्वभाव भएका चीजहरूको एक गजबको संयोगका बीचमा मान्छेको जीवन चलेको छ । अनेक संयोगका बीचमा परिवर्तनका अनेक खेल खेलिए पनि, तिनमा मान्छेले आफूलाई जेलिएको पाए पनि यस जगतमा असीम अनि परम सुन्दर विचित्रका झल्काहरू उपलब्ध छन् । जसले संसारलाई अझ विचित्रको बनाउनुका साथै स्वर्गादि देवताहरूलाई पनि धर्तीमा जन्म लिन बेलाबेलामा विवश गराएको पाइन्छ । यतिका सबै कुरा हुँदाहुँदै पनि भन्ने गरिन्छ कि संसार दुःखैदुःखले भरिएको छ । संसारमा सुखको गन्धमात्रै पनि छैन ।

अर्थात संसारमा सुखको कल्पना भनेको फगत एक स्वैरकल्पनामात्रै हो । के उसो भए संसारमा साँच्चै नै दुःखैदुःख मात्र छ त ? के सुख भनेको मृगमरीचिका नै बनिसकेको अवस्था संसारमा विद्यमान छ त ? एकपटक गहिरिएर सोच्नुपर्ने हुन्छ । यदि संसारमा दुःखमात्रै उपलब्ध छ र सुखको लेशमात्रै पनि छैन भने आजको युगमा उन्नत भनिएको मान्छेको प्रजातिले सुखको खोजीमा आफूलाई किन यति धेरै लगनशील बनाइरहेको छ त ? एकपछिको अर्को गर्दै लावालस्करका साथमा जीवनमा दुःखहरू लगातार आइरहन्छन् भने किन त मान्छेले सृष्टिचक्रलाई अझै बढावा दिइरहेको छ ? के संसारमा मान्छेले लगातार अनवरत रूपमा दुःखमात्रै झेलिरहेको छ त ? पक्कै पनि छैन । तर, हाम्रो जीवन जिउने कलामा भने केही त्रुटि अवश्यै हुनसक्छन् ।

केही महिनाअघिको कुरा हो- नेपाली सांगीतिक जगतमा एक गजल निकै चर्चित थियो । गायक हुन्, तिलकसिं पेला । उनको गीतको शब्द थियो- साथी रहेछ दुःख, हरपल सवार हुन्छ । सुख त पाहुना रहेछन् । छुट्नै हतार हुन्छ ।

गीतको भावार्थ हो- संसारमा सुख त छ । तर, त्यसको आभास कमैले मात्रै गर्ने गरेको पाइन्छ । अर्थात सुखको उपभोग संसारमा अति कम समयमात्रै हुन्छ । सुख भन्ने कुरा चाहिँ जीवनमा अत्यल्प कालसम्म मात्रै हुन्छ र बाँकी जीवनकाल त दुःखैदुःखमा बित्ने गर्छ ।

संसारलाई अझ विचित्रको बनाउनुका साथै स्वर्गादि देवताहरूलाई पनि धर्तीमा जन्म लिन बेलाबेलामा विवश गराएको पाइन्छ । यतिका सबै कुरा हुँदाहुँदै पनि भन्ने गरिन्छ कि संसार दुःखैदुःखले भरिएको छ ।

सबैले स्वीकार गरेकै कुरा के हो भने संसारमा सुख त अवश्यै छ र त संसारले सुखको परिकल्पना गरेको छ । हाम्रा शास्त्रहरूले पनि कतै न कतै त सुखको परिभाषा गरेकै छन् । महाभारतमा विदुर नीतिमा धृतराष्ट्र-विदुर संवादमा प्रसङ्ग आउँछ-

अर्थागमो नित्यमरोगिता च
प्रिया च भार्या प्रियवादिनी च ।
वश्यश्च पुत्रोऽर्थकरी च विद्या
षड् जीवलोकस्य सुखानि राजन ।।

अर्थात, हे राजन ! धनको आय हुनु, नित्य निरोग रहनु, पत्नीको प्रिय हुनु र पत्नी प्रियवादिनी हुनु, पुत्र वशमा रहने खालको हुनु र अर्थकरी विद्या हुनु जस्ता ६ कुरा यस जीवलोकमा सुखदायक हुन्छन् ।

त्यस्तै,
आरोग्यमानृण्यमविप्रवासः
सद्भिर्मनुष्यैः सह संप्रयोगः ।
स्वप्रत्यया वृत्तिरभीतवासः
षड् जीवलोकस्य सुखानि राजन ।।

अर्थात, निरोग हुनु, ऋणी नहुनु, परदेशको बास नहुनु, सज्जनहरूका साथमा मेल हुनु, आफ्नै वृत्तिले जीविका चलाउनु र निडर भएर रहनु जस्ता यी ६ कुरा लोकमा सुखदायक मानिएका छन् ।

त्यस्तै अर्को सुप्रसिद्ध भनाइ पनि समाजमा चलेकै छ- सन्तोषं परमं सुखम् ।

यी सबै कुराले यो कुराको पुष्टि गर्छन् कि संसारमा सुखको अस्तित्व कतै न कतै विद्यमान छ । संसारमा सुख भएकै कारणले गर्दा नै संसारमा सुखको खोजी भएको हो र त्यो सुखको प्राप्तितर्फ मानव जीवन प्रयत्नशील छ । असत् कुराको सत्ता नै नहुने भएकाले तिनको कुनै खोजी हुँदैन । तर, भएको कुराको खोजी हुनु कुनै नौलो होइन । त्यसैले सृष्टिको प्रारम्भदेखि नै मानव मनले खोजेको मुख्य कुरो नै सुख हो । तर, संसारले राम्रोसँग बुझ्न र बुझाउन नसकेको कुरा हो- सुख कहाँ छ ? सुखको स्वरूप कस्तो छ ? क्षणभरका लागि आउने सुख क्षणान्तरपश्चात कहाँ जान्छ ? संसारमा दुःख छ भन्ने कुरा पनि सबैले स्वीकार गरेकै पक्ष हो । तर, दुःखलाई दूर गराउने उपायतिर संसार सफल हुन सकेको छैन । जीवनमा दुःखैदुःखको प्राचुर्य कसरी हुन गयो ? आखिर किन संसार दुःखी छ ? आउनुहोस्, केही दुःखका विषयमा विमर्श गरौंः

के सुख भनेको मृगमरीचिका नै बनिसकेको अवस्था संसारमा विद्यमान छ त ? एकपटक गहिरिएर सोच्नुपर्ने हुन्छ । यदि संसारमा दुःखमात्रै उपलब्ध छ र सुखको लेशमात्रै पनि छैन भने आजको युगमा उन्नत भनिएको मान्छेको प्रजातिले सुखको खोजीमा आफूलाई किन यति धेरै लगनशील बनाइरहेको छ त ?

मान्छेको अत्यन्तै नजिकको साथी बनेर जीवनभर सहयात्रा गरिरहने दुःखको सहयात्रा केवल धर्तीमा जीवन रहुञ्जेलमात्रै छैन । मरेपछि पनि दुःखले साथ नछाड्ने र दुःख भोगिरहनुपर्ने कुरा हाम्रा शास्त्रहरूले बताउँछन् । पुराण-स्मृति आदि शास्त्रहरूले जीवहरूको मृत्युपश्चातको पनि अनेक कुरा गरेर जीवन रहुञ्जेलका साथै जीवनको अभावमा पनि दुःख नै रहेको कुराको बयान गरेका छन् । यस्ता अनेक व्याख्याले भरिएको दुःख शब्द संस्कृत भाषाको ‘खन्’ धातुमा ‘णिच्’ प्रत्यय लागेर बन्छ भने यसको व्युत्पत्ति चाहिँ यस्तो छ- ‘दुष्टानि खानि सन्त्यस्मिन् दुरं निन्दितं खनति’ अर्थात मनको त्यस्तो नरमाइलो अवस्था जसबाट छुट्न प्राणीले हरबखत इच्छा गर्छ ।

आफ्नो पूरा जीवनकालमा अनेक अँधेरी कोठरीहरूमा अनेक ठक्कर, च्याँठ र उल्झनहरू झेलेर पनि दुःखबाट छुटकारा पाउने मानव अभिलाषा अद्यापि अपूरा नै छ । यो दुःखले मान्छेको जीवन यतिसम्म आक्रान्त छ कि आजको मान्छे दुःखबाट छुटकारा पाउने कोसिसमा आकाशमा पखेटा लगाइरहेछ भने पानीभित्र पनि गोता लगाइरहेछ । धर्ती र आकाश सबैतिर आफ्नो आधिपत्य जमाउँदै हिँडेको मान्छे अन्ततः दुःखसँग हारिरहेको छ । सायद यही हारलाई लिएर बनेको शब्द हुनुपर्छ- व्यवहार ।

जीवनका अनेक उतारचढाव र सामाजिक वैरभावको समेत कुनै वास्ता नगरी दुःखबाट छुटकारा पाउने कोसिसमा हिँडेको आजको मान्छेको जीवन दुःखकै अवस्थामा दुःखसँगै संघर्ष गर्दागर्दै वीरगति प्राप्त गरिरहेछ । आजको भौतिक युगमा विज्ञानको यत्तिका उपलब्धि साथमा रहँदा पनि ती सबै उपलब्धिले मानव जीवनलाई दुःखबाट पूर्ण रूपले छुटकारा दिन सकेको छैन । अँधेरी रातपछि दिन आउने अभिलाषामा मानव जीवन बाँचिरहेछ । तर, मान्छेको जीवनमा दुःखबाट छुटकाराको कुनै झिल्कासम्म पनि देख्न सकिएको छैन । स्वरसम्राट नारायणगोपालले गएका छन्- ‘म रोएँ यी आँसु (अर्थात दुःख) रित्याउँ भनेर, तर आँसु (दुःख)ले नै मलाई नै बगाउँछ । लौ सुन म भन्छु मेरो रामकहानी ……।

जस्तो समाजको अवस्था छ, मान्छेका दुःख पनि त्यस्तै खालका हुने गरेको पाइन्छ । समाज र मान्छेको अवस्थानुसार, व्यवस्थानुसार, वर्गानुसार, सोचाइअनुसारका दुःख फरक फरक छन् । तर, सबैका दुःख आआफ्ना स्थानमा अति पीडादायी नै हुने गरेको बुझ्न सकिन्छ । सामान्य हिसाबले हेर्दा दुःखलाई दुई भागमा बाँड्न सकिन्छ- भौतिक दुःख र अभौतिक दुःख । सबै मान्छे कुनै न कुनै किसिमका दुःखले आक्रान्त रहेको नै देखिन्छ । कसैलाई हुनुको दुःख छ भने कसैलाई नहुनुको दुःख छ । कसैलाई केही गुमाउँला कि भन्ने दुःख छ भने कसैलाई भएको पाउन दुःख छ । तर, दुःख सबैका भागमा परेको छ । जसरी भोजन सबैका भागमा नपरे पनि भोक सबैका भागमा परेको छ । ठीक त्यसैगरी सुख सबैले भोग्न नपाए पनि दुःख सबैले भोगेकै छन् । सृष्टिको सुरुदेखि आजपर्यन्त पनि न मान्छे दुःखबाट मुक्त हुन सकेको छ न त मान्छेले दुःखबाट मुक्त हुने कोसिस नै गर्न छाडेको छ । जीवनमा दुःख पनि विद्यमान छ भने दुःख हटाउने मान्छेको अनवरत कोसिस पनि विद्यमान नै छ ।

संसारमा सुखको अस्तित्व कतै न कतै विद्यमान छ । संसारमा सुख भएकै कारणले गर्दा नै संसारमा सुखको खोजी भएको हो र त्यो सुखको प्राप्तितर्फ मानव जीवन प्रयत्नशील छ । असत् कुराको सत्ता नै नहुने भएकाले तिनको कुनै खोजी हुँदैन ।

एक चर्चित मुक्तक पनि छ-
सिक्न गाह्रो छ पहिले, बिक्न गाह्रो सिकेपछि ।
बिकेर टिक्न झन् गाह्रो, बाँच्न गाह्रो टिकेपछि ।।
सर्सर्ती हेर्दा संसारमा यत्रतत्र सर्वत्र दुस्खैदुस्ख मात्रै छ ।

साँच्चै भन्ने हो भने मान्छेको जीवन नै दुःख र पीडाबाट सुरु हुन्छ । प्रत्येक बच्चा जन्मनासाथ रुने गर्छ । धर्तीमा आउनुमा नै उसलाई दुःख छ । दुःखकै कारणले गर्दा ऊ रोएको हुनुपर्छ । संसारमा आजसम्म कुनै पनि बच्चा हाँस्दै हाँस्दै जन्मिएको छैन । हुर्कन पनि जीवनलाई दुःख नै छ । अनेक उल्झन र ठक्करहरूमा च्याँठ नखाएसम्म होश नखुल्ने मानव स्वभाव नै छ । परिवर्तनशील संसारको अर्काे दुःख परिवर्तन हुनु पनि हो । बालकबाट युवा र युवाबाट वृद्ध हुनु पनि कम्ता दुःख छैन । प्रतिदिन हुने परिवर्तनलाई स्वीकार गर्न पनि कठिन नै छ । अवस्था परिवर्तन भएसँगै दुःखका स्वरूपहरूले पनि रूप फेर्छन् । विद्यार्थीलाई पढ्नका दुःख, युवकलाई कमाउन र जमाउनका दुःख , वृद्धलाई जीर्ण शरीरको दुःख आदि आदि । क्षणभंगुर रहेको जीवन कतिबेला सकिने हो भन्ने टुङ्गो नहुने भएकाले जीवन जोगाएर परिवर्तनलाई स्वीकार गर्न पनि कठिन नै छ । मृत्युको दुःख पनि यथावत नै छ ।

मानेमा दुःख हुने र नमान्दा दुःख नहुने भन्ने तर्क पनि नपाइने त होइन । तर, कसैले पनि आजसम्म चरम पीडामा अट्टहास गरेको पाइएको छैन । निन्दाको दुःखलाई प्रशंसाको फूल वा सुख मानेर कसैले ग्रहण गरेको कुरा पनि देखिएको छैन । संसारमा दुःख त अवश्यै छ । तर, सुखको पनि अस्तित्व सँगसँगै विद्यमान रहेको बुझ्न सकिन्छ । तर, परस्परमा विरोधी स्वभावले, जस्तो रात र दिनको अस्तित्व विद्यमान छ ।

मान्छेको जीवनमा एकपछि अर्काे गर्दै दुःखका अनवरत धाराहरू आइलागेकै छन् । मान्छेलाई राम्रोसँग उभिन पनि धर्तीको गुरुत्वाकर्षण शक्तिका विरुद्धमा संघर्ष गर्नुपरेको देखिन्छ भने उभिएपछिका अवस्थामा जीवनका दुःखहरू अनन्त छन् । केही पाउन केही गुमाउनुपर्छ भन्ने मान्यता पनि छ । तर, पाउनुको दुःख पाउनेलाई नै थाहा हुन्छ । गुमाउनुको दुःख गुमाउनेलाई नै थाहा हुन्छ । भएको कुरा गुमाउँला भन्ने दुःख एकातिर विद्यमान हुन्छ भने पाउने आशा राखिएको कुरा नपाउँदा हुने दुःख अर्कातर्फ विद्यमान हुन्छ । सुख पाउँला भन्ने आश र दुःख पाइएला कि भन्ने त्रासका बीचमा आजको मान्छे अल्झिएको छ । अनेक कोसिस र सजगताका बीच पनि मान्छेको जीवन दुःखरहित हुन भने सकेको देखिँदैन ।

योगशास्त्रका अनुसार जीवनमा तीन किसिमका दुःख हुन्छन् । ती हुन्-
१) आधिभौतिक ताप अर्थात दुःख:  भौतिक वस्तुहरूबाट हुने दुःख । जस्तैः चोर, लुटेरा, हिंस्रक जन्तु तथा आततायी आदिबाट हुने दुःखहरू ।

२) आधिदैविक ताप: दैववशात हुने दुःखहरू । जसमा मान्छेको कुनै भूमिका हुन सक्तैन । जस्तैः बाढी, पहिरो, भूकम्प, चट्याङ, हुरी, अतिवृष्टि, अनावृष्टि आदिबाट हुने दुःखहरू ।

३) आध्यात्मिक ताप: मानसिक चिन्ता, असन्तुष्टि, क्षोभ, मानसिक कमजोरी आदि दुःखहरू ।

सृष्टिको प्रारम्भदेखि नै मानव मनले खोजेको मुख्य कुरो नै सुख हो । तर, संसारले राम्रोसँग बुझ्न र बुझाउन नसकेको कुरा हो– सुख कहाँ छ ? सुखको स्वरूप कस्तो छ ? क्षणभरका लागि आउने सुख क्षणान्तरपश्चात कहाँ जान्छ ?

वैदिक मन्त्रहरूको उच्चारण/पाठपश्चात गरिने शान्तिः शान्तिः शान्तिः भनिने तीन शान्तिले यिनै तीन प्रकारका दुःखहरूको शान्तिको कामना गर्छन् ।

संसारलाई दुःखैदुःखको भण्डार भनेर दार्शनिकहरूले भनेका छन् । दुःखबाट छुटकारा पाउन मान्छेले तन-मन-धन सबै लगाएको छ । तर, अपेक्षाकृत रूपले छुटकारा भने पाउन सकेको छैन । जीवनमा धनले पो दुःखबाट छुटकारा दिन्छ कि भन्ने आशाले मान्छेले धनको खोजी गर्न थाल्यो र मान्छेले धन प्राप्त्यर्थ धर्तीलाई समेत निकै खनेको छ । धनकै लागि पहाडलाई रित्याएको छ । तर, धनले पनि मान्छेलाई अपेक्षाकृत दुःखबाट छुटकारा दिन सकेको छैन । रत्नादिबाट पो दुःखले छोड्ला कि भन्ने अपेक्षाले मान्छे रत्नको खोजीमा लाग्यो र रत्नका लोभले खानी तथा समुद्रको समेत दोहन गर्न थाल्यो । तर पनि मान्छेले दुःखबाट छुटकारा पाउन सकेन ।

विश्व नै एक गाउँ जस्तो भएका अवस्थामा मान्छेले सुगम-दुर्गम तथा देश-विदेश पनि सबै घुमेको छ । आफ्नो जाति र कुलको अभिमान त्यागेर निकृष्टहरूको सेवा गर्नमा पनि कुनै किसिमको हिचकिचावट राखेको छैन । आफ्नो नैसर्गिक स्वाभीमानलाई समेत दाउमा राखेर दुःखबाट छुटकारा पाउने र सुखको रसास्वादनको लोलुपताले आजसम्म मानव मन अछुतो रहेको छैन । नेपाली समाजमा एक प्रसिद्ध लोकोक्ति पनि छ- ‘बर्मा गयो कर्मसँगै, नेपाल आयो कपालसँगै’ । अर्थात जता गए पनि जीवनमा दुःखले मान्छेलाई साथ छाडेको छैन । कर्म अर्थात जीवनसँगै दुःख पनि सर्दै जान्छ र जीवनभर साथ नै रहने यो दुःख साँच्चै नै रहस्यमय देखिन्छ ।

मान्छे के खोज्छ ? दुःखबाट छुटकारा अर्थात परमआनन्दको सुख । तर, त्यो भन्ने चीज कहाँ छ ? अहिलेको मुख्य प्रश्न यही नै हो । आजको मान्छेको मुख्य कोसिस नै सुखमा छ । सुख प्राप्त गर्न मान्छेले शास्त्र बनायो । शस्त्रअस्त्र बनायो । कर्मादिको व्याख्या र विभाजन पनि गराएकै छ । तर, मान्छेको जीवनमा सुख भन्ने कुरा मरुभूमिमा टल्कने पानी जस्तो भएको छ । हेर्दा देखिन्छ । तर, जति नजिक गयो, उति नै दूर हुने मृगमरीचिकाको स्वरूपमा छ सुख । तर, संसारमा सुखको अस्तित्व नै नभएको भने होइन । अस्तित्व नै नहुने कुराको परिकल्पना पनि हुन सक्तैन ।

जस्तोः बन्ध्यापुत्र, खरायोको सिङ, आकाशको फूल सर्वथा असत् हुन् । यी चिजको अस्तित्व नै नभएकाले यिनको परिकल्पनासमेत हुँदैन । किन्तु हाम्रो समाजले सुखको परिकल्पना गरेको छ । संसारमा सुख छ भन्ने कुराको प्रमाणित गरेको छ । जस्तैः चैतन्य हुँदैनथ्यो भने अनुभूतिको प्रसङ्ग आउने नै थिएन । दुःख नभए नरकको कल्पना हुने थिएन । नरक नभए डर हुने थिएन । सृजन शक्तिको अभाव हुन्थ्यो भने आविष्कार हुँदैनथ्यो । त्यस्तै गरी संसारमा सुख नभए स्वर्गको परिकल्पना हुने थिएन । नेपाली समाजमा मात्रै होइन, संसारका हरेक धर्म, सम्प्रदाय अनि समाजमा स्वर्गको व्यवस्था छ । सुखको सत्ता स्वीकार गरेर नै स्वर्गको परिकल्पना सम्भव हुन गएको हो । त्यसैले हामी भन्न सक्छौं- संसारमा सुख छ र सुखको प्राप्ति पनि सम्भव छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो प्रश्नोत्तर कवितामा लेख्नुहुन्छ- खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरूलाई दिनू जहाँ छ । अर्थात सबैले खोज्ने गरेको सुख आफूमा निहित छैन । आफूलाई मेटाएर जब अरूलाई दिने कोसिस गरिन्छ भने त्यहाँ सुखको स्थान छ । जस्तोः गोजीको पैसो हराएमा मनमा दुःख हुन्छ । तर, त्यही पैसा कुनै सत्पात्रमा दान गरियो भने त्यसमा असीम र तुरुन्तै सुखको अनुभूति हुने गर्छ । स्वार्थमा भन्दा पनि परार्थमा मान्छेले अधिक सुखको अनुभूति गर्ने गर्छ । परोपकारले मान्छेको मनमा निकै ठूलो खुशी र शान्ति अनि सुखको अनुभूति दिने कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो ।

सबै मान्छे कुनै न कुनै किसिमका दुःखले आक्रान्त रहेको नै देखिन्छ । कसैलाई हुनुको दुःख छ भने कसैलाई नहुनुको दुःख छ । कसैलाई केही गुमाउँला कि भन्ने दुःख छ भने कसैलाई भएको पाउन दुःख छ ।

मान्छे आफ्नो स्वाभाविक नियतले चल्ने गर्दछ । कालीदासले जस्तै गरी रूखको टुप्पोतिर बसेर फेदतिरको रूखको हाँगोलाई काट्ने कोसिस कसैले गरेको मान्छेले देख्यो भने आधुनिक भनिएको मान्छेले सुरुमा रूख काट्दै गरेको मान्छेको मूर्ख बुद्धिका उपर अट्टहास छाड्छ । त्यसको केही समयको अन्तरालपश्चात मात्रै त्यस्तो मूर्ख बुद्धि भएको मान्छेको बुद्धिउपरमा आधुनिक मानिएको मानव जातिले त्यस्तो दयाको भावना प्रस्तुत गर्ने गर्छ । अर्थात दयाको भावना जहाँ प्रस्फुटित हुन पुग्छ, त्यहाँ परोपकार सुरु हुन्छ र परोपकारमै सुखको स्वरूप भेटिन्छ । जुन सुखको स्वरूपले मानव मनलाई आनन्द दिन्छ । कसैका उपरमा उपहासका दृष्टिले अट्टहास गरिँदा सुखको अनुभूति हुँदैन । किन्तु केही त्याग गर्न सकिएको खण्डमा भने तुरुन्तै सुखको अनुभूति गर्न सकिन्छ । भनिन्छ- स्वार्थ नै दुःखको मूल कारण हो । स्वार्थ नै पापको मूल कारण हो । स्वार्थ नामेट नै वीरता हो । वीरता नै दया हो । दया नै पुण्य हो र पुण्य नै सुखको आधार हो ।

त्यसैले

परोपकाराय पुण्याय पापाय परपीडनम् । अर्थात, परोपकार नै पुण्य हो र अरूलाई पीडा दिने कार्य नै पाप हो ।

भनिन्छ- संसारमा जुन कुराको जति बढी निषेध गरिन्छ, त्यो कुराको त्यति नै बढी मात्रामा सिद्धि हुन जान्छ । त्यस्तै जुन कुराको सिद्धि गर्न खोजिन्छ, सिद्धि गर्न खोजिएको कुरा जीवनमा मृगमरीचिका बनेर अझ दूर दूर हुँदै जान्छ । जस्तैः कसैलाई हामी बिर्सन जोड दिन्छौं भने उसको सम्झना अझ बढी भएर आउँछ ।

जुन कुरा हाम्रो जीवनमा नगर्नु भन्ने हुन्छ वा जुन कुरा हामी जीवनमा गर्दिनँ भने जिद्दी गरेर बस्छौं, अन्ततः उक्त कार्य हामी गर्नमा विवश भइरहेका हुन्छौं । ठीक त्यस्तै गरेर हामी जीवनमा जति बढी दुःखको निषेध गर्न खोज्छौं अर्थात दुःखबाट छुटकारा पाउने कोसिस गर्छौं । हाम्रो जीवनमा दुःख पनि त्यति नै मात्रामा नजिक नजिक हुँदै रहन्छ । दुःखको निषेध गर्न खोज्नु नै जीवनमा दुःखलाई निम्त्याउनु हो । हामी दुःखको निषेध गरेर सुखको प्राप्तितर्फ अघि बढ्ने कोसिस गरिरहेका हुन्छौं । तर, हाम्रो जीवनमा सुख नजिक आउनुको सट्टा अझ बढी टाढा टाढा गएको पाउँछौं । आजको समाज दुःखलाई निषेध गर्ने र सुखको प्राप्ति गर्ने एकोहोरो चाहनामा देखिन्छ ।

परन्तु, दुर्भाग्य नै मान्नुपर्छ, आजसम्म मान्छेले न दुःखलाई पूर्ण रूपले निषेध गर्न सकेको छ न त सुखको प्राप्ति नै गर्नमा सफल छ । आधुनिक युगको मान्छे आजसम्म पनि दुःखको निषेध र सुखको स्वागतार्थ संघर्षरत छ । तर पनि मान्छेले अपेक्षाकृत सफलता भने पाउन सकेको छैन । दुःखबाट छुटकारा पाउन प्रमुख कर्तव्य नै दुःखको निषेध गर्न छाड्नु हो । अर्थात दुःखलाई बिर्सनु हो भने दुःखलाई बिर्सिएसँगै सुखको चाहना त्याग्नु पनि हो । सुखको आसक्तिले गर्दा आजको मान्छे न सुखको नजिक पुग्न सक्यो न त दुःखबाट नै दूर रहन । मान्छेको नियतगत केही स्वभावहरू हुन्छन् । जसले जीवनमा दुःखलाई दूर गर्न सकेको छैन ।

मान्छे उज्यालो चाहन्छ । तर, अँध्यारोबाट मुक्त हुने कोसिस नै गर्दैन । आसक्तिले गर्दा दुःख भएको र आसक्ति छाड्न सक्दा दुःखले छाड्न सक्ने कुरा आजको मान्छेले नबुझेको होइन । तर, न मानव जीवनबाट आसक्ति दूर रहन सक्यो न त दुःख नै । आसक्ति साथमा रहँदा दुःख पनि साथमै रहन पुगेको छ । एउटा गोडा टेक्न अर्को गोडा उचाल्नुपर्ने हुन्छ । दुःखबाट छुटकारा पाउन दुःखलाई छाड्नुपर्छ । दुःखलाई नछाड्दासम्म र दुःखका साधनहरूको त्याग नगर्दासम्म मान्छेको जीवन दुःखबाट आक्रान्त बनिरहेको छ ।

प्रत्येक बच्चा जन्मनासाथ रुने गर्छ । धर्तीमा आउनुमा नै उसलाई दुःख छ । दुःखकै कारणले गर्दा ऊ रोएको हुनुपर्छ । संसारमा आजसम्म कुनै पनि बच्चा हाँस्दै हाँस्दै जन्मिएको छैन । हुर्कन पनि जीवनलाई दुःख नै छ ।

रेखागणितको सूत्र जस्तो छ मान्छेको जीवन । जसरी समानान्तर रेखाहरू आपसमा अनन्तसम्मै भेट गर्दैनन् । ठीक त्यसैगरी सुख र दुःख दुवै अनन्तसम्मै भेट गर्दैनन् । सुख र दुःख जीवन रूपी नदीका दुई किनारा हुन् । जो कहिल्यै आपसमा भेट गर्दैनन् । दुःखलाई सुल्झाएर सुखको चाहना गर्ने मानव स्वभावले नै आजको मान्छेलाई दुःखबाट अझ बढी दुःखित तुल्याएको बुझ्न सकिन्छ । जब सुख र दुःख आपसमा सर्वथा भिन्न छन् भने त्यसको मेल गराउन खोज्ने मानव स्वभाव नै विचित्रको छ । सुख र दुःखको मिलन विन्दूको खोजीभन्दा पनि जीवनरुपी आत्मज्ञान गर्न सकेमा मान्छेको जीवन आफैंमा सफल हुन जाने र जीवनमा दुःखले पनि कहिल्यै सताउने थिएन । नदीको सम्बन्ध गन्तव्यसम्म हुन्छ न कि किनारासम्म । त्यस्तै मानव जीवनको सम्बन्ध एक परमानन्दको अवस्थासम्म हुनुपर्छ, सच्चिदानान्द रूपमा नै मानव जीवनको वास्तविक गन्तव्य हुन्छ । सुख र दुःख मानिसको जीवनको गन्तव्य होइन र सुख-दुःख मानिसको जीवनको गन्तव्य बनिनु पनि हुँदैन । नदीले किनारको वास्ता नगरी समुद्रसँग मेल गरे जस्तै जीवनले दुःख र सुखलाई वास्ता नगरेर आत्मज्ञान अर्थात स्वयंको ज्ञान गर्नुपर्छ । तब नै जीवन सार्थक रहन जान्छ । भनिएकै पनि छ-
आहारनिद्राभयमैथुनं च सामान्यमेतत् पशुभिर्नराणाम् ।
धर्मो हि तेषामधिको विशेषो धर्मेणहीनाः पशुभिसमानाः ।।

अर्थात, आहार, निद्रा, भय, मैथुन- यी चार कुरा पशु र मान्छेमा समान छन् । धर्म नै त्यस्तो चीज हो, जो मानवसँग मात्रै छ । धर्मले हीन मानिस पशुतुल्य हुन्छ ।

पाशले बद्ध भएकोलाई पशु भनिन्छ । दुःख रूपी पाशले बाँधेको छ मान्छेलाई । ज्ञान रूपी धर्मले हामीलाई दुःखको पाशबाट मुक्त गराउँछ । हामीलाई पनि दुःखराहित्यमा जीवन बिताउनु छ । ज्ञान नै सुख हो । संसारमा ज्ञानले नै सबै किसिमका अज्ञानजनित दुःखहरूबाट मुक्ति दिलाउँछ र जीवन सुखमय बन्न सक्छ । श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ-

सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।

अर्थात, हे अर्जुन ! सबै कर्महरू ज्ञानमा नै गएर अन्तर्भाव हुन्छन् (अध्याय ४, श्लोक ३३) ।

त्यस्तै गरी श्रीमद्भगवद् गीताकै अध्याय ४, श्लोक ३८ मा श्रीकृष्ण भन्नुहुन्छ-

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।

अर्थात, ज्ञान जस्तो पवित्र कुरा अरु केही जानिएको छैन । त्यसैले हामी भन्न सक्छौं- ज्ञान नै शक्ति हो । ज्ञान नै सुख हो । ज्ञान नै आनन्द हो । दुःखबाट छुटकारा दिने प्रमुख साधन नै ज्ञान हो । ज्ञानविना दुःखको निवृत्ति सम्भव छैन । ज्ञानरहित जीवन हुन गयो भने जीवनमा सर्वथा दुःखैदुःख मात्रै पाइन्छ र सुखको झिल्कासम्म पाउन असमर्थ भइनेछ । समय रहँदै ज्ञान भएन भने चाहिँ ‘जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर …..’ भने जस्तै हुनेछ । बेलैमा सोचौं । दुःखको परित्याग गरेर सुखपूर्वक जीवन बिताऔं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *