सदस्यता नवीकरणमा मापदण्ड पालना नगरेकाे भन्दै प्रेस चौतारी रामेछापले महासंघमा लगायो ताला
रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको भन्दै प्रेस चौतारी नेपाल रामेछापले महासंघको कार्यालयमा ताला लगाएको छ ।
शनिवार प्रेस चौतारीले कालो झन्डा राखेर रामेछाप महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
पुरानो सदस्यता शुद्धीकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत चौतारी आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको श्रेष्ठले बताए।
प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरेको थियो । निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चौतारीले घोषणा गरेको छ ।
त्यस अघि प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापले जेठ २८ गते पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । जसमा शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरिएको थियो ।
तर चाैतारीले महासंघ नेतृत्व आफू निकट दल विशेष पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने काम भएकाे भन्दै विरोध जनाएकाे ५ ।
‘महासंघले गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने, निर्णय नसच्चिएसम्म पत्रकार महासङ्घका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने’ चौतारीको तर्फबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।
मापदण्डको ठाडो उपहास गरी प्रतिशोध र पूर्वाग्रहीपूर्ण ढङ्गबाट महासंघमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निष्क्रिय घोषणा गर्ने, पेसामा नै नरहेकोलाई नयाँ सदस्यमा सिफारिस गर्ने निर्णयको विरुद्ध सशक्त आन्दोलन गर्ने श्रेष्ठले बताए ।