बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउन संखुवासभाका सांसद खड्का बालुवाटारमा – Nepal Press

बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउन संखुवासभाका सांसद खड्का बालुवाटारमा

काठमाडौं । संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ।

संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेका हुन्।

सांसद खड्काले संखुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ताबारे अवगत गराए।

उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरे।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे। बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए।

बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिइसकेको सांसद खड्काले बताए।

प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर