अभागी कुशल, जिम्बाबेविरुद्ध कीर्तिमानी शतकबाट एक रनले चुके
काठमाडौं । विश्वकपको ग्लोबल क्वालिफायर अन्तर्गत पहिलो म्याचमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी सतकबाट एक रनले चुके ।
टेस्ट राष्ट्रविरुद्ध पहिलो सतकको खुशी मनाउन तम्तयार रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् । उनले कुशललाई ९९ रनको अवस्थामा बोल्ड गरे ।
कुशलले आउट हुनुअघि अर्का ओपनर आसिफ शेखसँग १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए । आसिफ पनि अर्धसतक बनाएर खेलिरहेका छन् । उनीहरुबीच भएको साझेदारी नेपालले कुनै पनि विकेटका लागि एक दिवसीय खेलमा बनाएको सर्वाधिक ठूलो हो ।
आक्रामक ब्याटिङ गरेका कुशलले ९५ बलको इनिङमा १३ चौका र २ छक्का प्रहार गरेका थिए । उनले दुईपटक जीवनदान पाएका थिए ।
कुशल आउट भएको ११ बलपछि अर्का ओपनर आसिफ शेख पनि आउट भएका छन् । उनले १०० बलमा७ चौकाको मद्दतले ६६ रन बनाए ।