कुशल र आसिफको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बाबेलाई दियो २९१ रनको लक्ष्य
पछिल्ला ओभरमा लगातार विकेट गुमाउँदा ३ सय रन कटाउन चुक्यो
काठमाडौं । विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाबेलाई २९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको किर्तिमानी साझेदारी गरेपछि नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो ।
टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपाललाई कुशल र आसिफले ‘ड्रिम स्टार्ट’ दिलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी गरे, जुन एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।
आक्रामक अन्दाजमा खेलेका भुर्तेल दुर्भाग्यपूर्णरुपमा ९९ रनमा आउट भए । उनले ९५ रनको इनिङमा २ छक्का र १३ चौका प्रहार गरेका थिए ।
वेलिङ्टन मासाकाद्जाको बलमा भुर्तेल बोल्ड भएपछि आसिफ पनि छिट्टै पेभिलियन फर्किए । उनले १०० बलमा ७ चौकाको मद्दतले ६६ रन बनाए ।
ओपनर जोडी फर्किएपछि कप्तान रोहित पौडेल र कुशल मल्लबीच ७१ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । रोहितले २९ बलमा ५ चौकासहित ३१ रन बनाए भने मल्लले ४२ बलमा ४१ रन प्रहार गरे । मल्लको इनिङमा ३ छक्का र २ चौका समावेश थिए ।
कुशल मल्ल आउट भएपछि भने नेपालको रन गति कम भयो । खासगरि अन्तिम ५ ओभरमा नेपालले अपेक्षित रन बटुल्न सकेन । पछिल्ला ओभरहरुमा लगातार विकेट गुमाएपछि नेपाल ३ सय रनको कोसेढुंगा पार गर्न सकेन । आरिफ शेख १०, गुल्शन झा १३ र भिम सार्की ० रनमा आउट भएका थिए ।